Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
विचार / विमर्श

पाठ्यपुस्तक मात्रै रटाउनु शिक्षण पेशाप्रतिको बेइमानी

विहीबार, ०५ माघ २०७९

गुरू ब्रह्मा गुरू विष्णु, गुरु देवो महेश्वर
गुरु साक्षात परब्रह्म, तस्मै श्री गुरुवे नमस् ! 

संस्कार सहितको शिक्षा नै गुणस्तरीय शिक्षा हो । शैक्षिक गुणस्तर अभिवृद्धिमा शिक्षकको भूमिका मेरुदण्डको रूपमा रहेको हुन्छ । गुरुकुलीय शिक्षा पद्धतिदेखि नै विद्यालय संरचनाका निमित्त शिक्षक र विद्यार्थी महत्वपूर्ण पक्ष हुन् । किनभने पहिला पहिला विद्यालय भवन नहुँदा पनि चौतारामा, पाटीपौवामा, चउरमा विद्यार्थी भेला पारेर गुरुहरूले संस्कार सहितको शिक्षा प्रदान गरेको इतिहास हामी सामु छिपेको छैन । यसकारण पनि शिक्षक नै शिक्षा विस्तार र विकासको प्रमुख आधार हो । 

शिक्षक समाजको वौद्धिक व्यक्ति हो, हरेक समाजको पथप्रदर्शक हो, आदर्श र प्रेरणाको स्रोत हो, परिवर्तनको संवाहक हो भने स्तरीय सिकाइको महत्वपूर्ण औजार हो । शिक्षक स्रष्टा हो किनकि शिक्षकले प्रत्येक युगको रचना गर्छ । परिवर्तित विश्व परिवेशलाई कक्षा कोठामा पुर्याएर होस् वा परिवर्तित परिवेशमा बाल मष्तिस्कलाई डोर्याएर होस् युग सापेक्ष चेतना अङ्कुरण गराउँछ । प्रत्येक बालबालिकालाई स्वावलम्बी, कर्मठ र आत्मनिर्भर बनाउँछ । यसकारण शिक्षक अँधेरी रातमा जुनकिरी झै चम्कनुपर्छ भने, हिलोमा फुलेको कमल झै मुस्कुराउनुपर्छ । यसको पछिल्लो ज्वलन्त उदाहरण Covid -19 महामारीको विषम् परिस्थितिमा पनि शिक्षण सिकाइ कार्यमा सूचना र सञ्चार प्रविधिको प्रयोग सिक्दै सिकाउदै शैक्षिक क्षति हुन नदिन शिक्षकहरूले अहोरात्र गरेका प्रयासहरू पनि हुन् । यसकारण हामी शिक्षक आदर्शवान्, गुणवान् र विषय विज्ञ हुनुपर्छ साथै कर्तव्य परायण र प्रविधिमैत्री पनि । 

विद्यार्थीले पाठ्यपुस्तकबाट भन्दा पनि शिक्षकको प्रवृत्तिबाट धेरै सिकिरहेका र पढिरहेका हुन्छन् तसर्थ शिक्षण पेसा आफैमा जागिरका रूपमा नभई जिम्मेवारीको रूपमा स्वीकार गरी किताबका पानाामा रहेका अक्षरहरूलाई व्यावहारिक जीवनसँग जोडेर पढाउने नभई सिकाउने हो भने, गुणस्तरीय शिक्षाको मुहान फुट्ने छ । शिक्षकले आफ्नो क्षमताको भरपुर उपयोग मार्फत अनुशासित र मर्यादित रूपमा एउटा कुशल सहजकर्ता र मार्गदर्शकको भूमिका निर्वाह गरेमा मात्र समाज र राष्ट्रले अपेक्षा गरेअनुसारको स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने सभ्य र सक्षम जनशक्ति तयार पार्न सक्छौँ । यो पवित्र र पुण्यको कर्म गुणस्तरीय शिक्षकबाट संस्कार सहितको शिक्षाले मात्र सम्भव हुने यथार्थलाई कसैले पनि नकार्न सक्दैन ।

पाठ्यपुस्तक मात्रै रटाउनु भनेको शिक्षण पेशाप्रतिको बेइमानी हो । विलियम वटलर येट्सका अनुुसार, “शिक्षा भनेको बाल्टिन भर्नु मात्र होइन, आगो सल्काउनु हो ।” त्यस्तै विलियम वेनेटका अनुुसार, “असल शिक्षा, आत्मा सुन्दर वनाउने वास्तुकला हो ।” तसर्थ गुणस्तरीय शिक्षाको आगो सल्काई, सुन्दर आत्माको निर्माण गर्न शिक्षा मन्त्रालयद्धारा जारी शिक्षक सक्षमताको प्रारुप २०७२ अनुसार शिक्षकका ८ ओटा सक्षमताहरू

(सक्षमता १ : विषयवस्तुको ज्ञान (Content Knowledge), सक्षमता २ : शिक्षण सिकाइका तौर तरिकासम्बन्धी ज्ञान ( Pedagogical Knowledge), सक्षमता ३ : बाल बालिका/सिकारुसम्बन्धी ज्ञान ( Knowledge About Children/Learners), सक्षमता ४ : सिकाइ वातावरण तथा कक्षा व्यवस्थापन ( Learning Environment and Classroom Management), सक्षमता ५ : सञ्चार तथा सहकार्य (Communication and Collaboration), सक्षमता ६ : निरन्तर सिकाइ र पेसागत विकास (Continuous Learning and Professional Development), सक्षमता ७ : कानुनी आधार तथा पेसागत आचार सहिता ( Legal Bases and Professional Conduct), सक्षमता ८ : सूचना तथा सञ्चार प्रविधि (Information and Communication Technology) मा शिक्षक पोख्त/निपूर्ण हुन अनिवार्य/जरुरी छ । 

शिक्षकले यसो गरिदिए विद्यार्थी सफल हुन्छ र शैक्षिक गुणस्तर बढाउन सकिन्छ भन्ने कुराको हामी ठोकुवा त गर्न सक्दैनौँ । यसका विविध पक्षहरूको पनि उत्तिकै जिम्मेवारी रहन्छ तथापि शिक्षकको निरन्तर प्रयासले भने यो सम्भव छ । 

यदि शिक्षकले, 

पाठ्यक्रम वमोजिम योजनाबद्ध शिक्षण गर्ने, निरन्तर पेसागत विकासका लागि तालिम, गोष्ठी कार्यशाला, स्वअध्ययन, अनुसन्धान, अनलाइन अफलाइन पेसागत नेटवर्किङमा आवद्ध हुने, सिकेका ज्ञान सिपलाई कक्षा कोठामा प्रभावकारी उपयोगमा ल्याउने हो भने पक्कै पनि शैक्षिक गुणस्तर अभिवृद्धि हुनेछ  । साथै शिक्षण पेसाप्रति सम्मान प्रकट गर्ने, कक्षाकोठामा भएको विविधतालाई स्वीकार र सम्मान गर्दै समावेशी शिक्षाको प्रबन्ध गनर्,े समय समयमा अभिभावकसंग विद्यार्थीका सिकाइ अवस्थाबारे भेटघाट एवम् अन्तरक्रिया गर्ने हो भने शैक्षिक गुणस्तर अभिवृद्धिमा हाम्रो भूमिका अग्रगामी दिशामा हुनेछ । 

निरन्तर मूल्याङ्कन र सुधारात्मक शिक्षणलाई एकै सिक्काका दुई पाटाको रूपमा स्वीकार गरी कार्यमूलक अनुसन्धान र टि.पि.डि तालिम का.स.मू. को आधारमा गरिने बढुवाका लागि मापदण्ड पूरा गर्ने कागजी प्रक्रिया मात्र नबनाई कक्षा शिक्षणमा आइपरेका समस्या समाधानार्थ प्रयोग गर्ने हो भने सिकाइ उपलब्धिमा सुधार आई शिक्षा क्षेत्रमा आमूल परिवर्तन हुनेछ । नेपालको संविधानमा निर्दिष्ट शिक्षासम्बन्धी मौलिक हक स्थापित गर्न साथै सन् २०३० सम्म मध्यम आय भएको राष्ट्रको रूपमा स्तरोन्नति गर्ने राष्ट्रिय सङ्कल्प पूरा गर्न तर्जुमा गरिएको नयाँ राष्ट्रिय शिक्षा नीति २०७६ ले निर्धारण गरेको लक्ष्य र उद्देश्य प्राप्तिमा समेत सफल हुने छ  । 

अन्त्यमा,

अरस्तुको भनाइ सापटी लिई भन्नु पर्दा,“असल सुरुवात आधा काम सम्पन्न गर्नु हो ।” अतः शैक्षिक गुणस्तर उन्नययनका लागि शिक्षा नियमावाली २०५९ को नियम १३३ अक्षरशः पालना गरी विद्यालयको शैक्षिक गतिविधिमा रचनात्मक सहयोग गर्ने हो भने हाम्रो विद्यालय राम्रो विद्यालय, नमुना विद्यालय बन्ने छ । शैक्षिक गुणस्तर अभिवृद्धिमा शिक्षकको भूमिका कोशेढुङ्गा साबित हुनेछ । 

- तामाङ, गीतामाता माध्यमिक विद्यालय, विजयश्वरी १५, काठमाडौंकी माध्यमिक तहकी गणित शिक्षक हुन् ।  उनको यो आलेख गत मंसिर २९ गते काठमाडौं महानगरपालिकाले आयोजना गरेको शैक्षिक गुणस्तर अभिवृद्धिमा शिक्षकको भूमिका शिर्षकमा आयोजित क्षेत्रीयस्तरको शिक्षकहरुको वक्तृत्वकला प्रतियोगितामा व्यक्त विचारको मुख्य अँश हो ।  उनको यो विचारले प्रतियोगितामा द्धितीय स्थान हासिल गरेको थियो । 

प्रतिक्रिया