Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

नेपालका उत्कृष्ट दश विज्ञान शिक्षक थाइल्याडमा

सोमबार, ०९ माघ २०७९

काठमाडौं - देशभरका १० उत्कृष्ट विज्ञान शिक्षक थाइल्याण्ड गएका छन् । विज्ञान शिक्षकहरुको संगठन विज्ञान शिक्षक समाज नेपाल(स्टान) र नेपाल पोलिमर इन्स्टिच्यूट (एनपीआई)को सहकार्यमा उत्कृष्ट १० विज्ञान शिक्षकहरू थाईल्याण्ड गएका हुन् । उनीहरु थाइल्याण्डको चियाङ्ग राई शहरमा स्मल स्केल केमेष्ट्री ट्रेनर्स टे«निङ (एमटट) मा सहभागी हुन थाईल्याण्ड गएका हुन् । 

माघ ८ गतेसम्म सञ्चालन हुने सो तालिममा नेपालका विभिन्न जिल्लाका विद्यालयमा विज्ञान विषय अध्यापनरत शिक्षकहरु सहभागी छन् । सो तालिमका लागि काठमाडौंबाट हरिराम देवकोटा, चितवनबाट रोहिणी प्रसाद लोहनी, जनकराज पन्त, सुनसरीबाट उत्तम सुवेदी, बैतडीबाट गोबिन्द बहादुर धामी, बर्दियाबाट मातृका प्रसाद तिम्सिना, मोरङबाट युवराज घिमिरे, कास्कीबाट प्रमेश्वर शर्मा, सुर्खेतबाट लोकेन्द्र सुबेदी र रुकुमबाट नरेन्द्र रावल छानिएका छन् । 

तालिममा नेपाल लगायत अन्य ५ देशका ५० विज्ञान शिक्षकहरु सहभागी हुने स्टानका सचिव मनोज आचार्यले बताए । 

उनले थाईल्याण्ड केमिकल सोसाइटी र आइयुपिएसी थाईल्याण्डले आयोजना गर्ने तालिमका लागि बैंकक बैंकले समेत सहयोग गरेको बताउँदै ती उत्कृष्ट १० शिक्षक देशभरीबाट एकसय जना विज्ञान शिक्षकहरूमध्येबाट छनोट गरिएको जानकारी दिए । 

‘हामीले गत महिना देशभरका एकसय विज्ञान शिक्षकलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)मा तालिम दियौं र त्यसबाट उत्कृष्ट १० विज्ञान शिक्षकहरू छानेर तालिममा पठाएका हौं’, उनले भने, ‘थाइल्याण्डमा ती शिक्षकहरुले विज्ञानको सबैभन्दा गाह्रो मानिएको केमेष्ट्रीका विभिन्न पाठहरु कसरी सरल तरिकाले पढाउने भन्ने विषयमा तालिम पाउनेछन् ।’ 

सो तालिमबाट फर्किए पछि नेपालमा ७७ जिल्लामै उनीहरू मार्फत् विज्ञान शिक्षकहरूलाई तालिम दिन लगाउने उद्देश्य रहेको सचिव आचार्यले जानकारी दिए । 

 

प्रतिक्रिया