Edukhabar
आइतबार, ०६ जेठ २०८१
विचार / विमर्श

शिक्षक 'अपडेट' नभए गाह्रो छ शैक्षिक वातावरण निर्माण

विहीबार, २५ फागुन २०७९

एउटा कथा छ : एक जना गुरुले विभिन्न क्षेत्रका तीनजना आफ्ना शिष्यहरुलाई दीक्षित गरिसकेपछि तीनै जनालाई मकैको एकएक पोका दिएर बिदा दिन्छन् । तीनै विद्यार्थी पोका लिएर जान्छन् । त्यही क्रममा लामो यात्रा गर्नुपर्ने बाध्यता ।

तीन मध्ये एक शिष्यले मकैको पोका बाटैमा खाएर सिध्याए, दोस्रो शिष्यले गुरुले दिनुभएको चीजलाई सुरक्षित गर्नुपर्छ भनेर घरमै पोकोलाई थन्क्याएर राखे, पूजा गर्न पूजा कोठामा राखे । तेस्रोले गुरुले दिएको मकैलाई बारीमा छरे । 

केही समय पछि गुरु तीनै शिष्यहरु कहाँ पालैपालो पुगे । उनीहरुसँग सोधे, ‘खै, मैले दिएको मकै कहाँ छ ?’

पहिलोले भने, ‘गुरु बाटैमा भोक लाग्यो, मैले खाएर सकाएँ ।’ गुरुले ‘लौ राम्रो भो’ भनेर प्रतिक्रिया दिए । 

दोस्रोले जवाफ दिए, ‘मकैको त्यो पोकालाई पूजा गरी राखेको छु, यहीँ छ’ भन्दै देखाए । 

तेस्रो शिष्यलाई पनि गुरुले ‘मकै कहाँ छ ?’ भनेर सोधे, त्यो शिष्यले जवाफ दिए, ‘गुरु मैले त्यो मकैलाई बारीमा छरेको छु ।’ त्यो शिष्यले गुरुलाई मकै छरेको बारी देखाए । गुरुले बारीमा मकै फलिरहेको देखेपछि शिष्यलाई स्याबासी दिए । 

यो कथा हाम्रो शिक्षा प्रणालीमा अहिले पनि लागू हुन्छ । हामीले तयार गरेका हाम्रा विद्यार्थी पनि बारीमा मकै छर्ने शिष्य जस्तै हुनुपर्ने भएको छ । गुरुले दिएको ज्ञानलाई त्यतिकै खेर जाने नबनाउन विद्यार्थीलाई हामीले प्रोत्साहन गर्नपर्छ ।

समाज परिवर्तनको मुख्य आधार शिक्षा नै हो । समाजको परिवर्तन सँगसँगै हाम्रो शिक्षा नीति र सिकाइ क्रियाकलापहरुमा, विधिहरुमा परिवर्तन आएको छ । शिक्षा क्रमशः प्रविधि मैत्री बन्दैछ । अहिले किताबहरु इबुकको रुपमा, ह्वाइट बोर्डहरु युट्युबको रुपमा परिवर्तन हुँदैछन् । अनलाइन कोर्स सुरु भएका छन् । स्मार्ट बोर्डहरु प्रयोग हुँदैछन् । शिक्षामा नयाँ नयाँ विधि र प्रविधिमा शिक्षकहरु अपडेट हुन सकेन भने हाम्रा विद्यार्थीलाई समयानूकूल शैक्षिक वातावरण तयार गर्न गाह्रो हुन्छ । हाम्रा शिक्षकहरु अब प्रविधिमैत्री बन्दै समानूकल शैक्षणिक क्रियाकलाप गर्न तल्लीन हुनु जरुरी छ ।

अहिलेको समयमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म मोबाइलबाट अछुतो छैनन् । मोबाइललाई हामीले सही सदुपयोग गर्न सकिएन, सदुपयोग गर्नलाई शिक्षक, अभिभावकले चासो देखाएनन् भने विद्यार्थीले त्यसबाट गलत कुरा सिक्ने सम्भावना छ । त्यसैले मोबाइलबाट विद्यार्थीलाई टाढा गर्ने भन्दा पनि विद्यार्थीलाई एउटा सशक्त शैक्षिक सामग्रीको रुपमा प्रयोग गर्नका लागि उत्प्रेरित गर्नुपर्दछ । मोबाइलको दुरुपयोग हुन बचाउन जरुरी भइसकेकोले त्यतातर्फ शिक्षकले मात्र हैन, अभिभावकले पनि जिम्मेवारी लिनु आवश्यक देखिएको छ ।

विद्यालयको शैक्षिक स्तर उकास्नका लागि शिक्षक, विद्यार्थी र अभिभावक (तीनै पक्ष) को भूमिका हुन्छ । ती तीनै पक्षले आआफ्नो कार्य क्षेत्रमा रहेर त्रिकोणात्मक रुपमा काम गर्न सके मात्र शैक्षिक क्षेत्रको स्तर माथि उठ्छ ।

विद्यार्थी अनुशासित, अध्ययनशील छन् तर शिक्षकको अध्यापनको भूमिका कमजोर भयो भने राम्रो नतिजा सम्भव छैन । शिक्षक अध्यापन गर्न तत्पर छ तर विद्यार्थी कमजोर छन् कक्षामा नियमितता छैन भने पनि प्रतिफल राम्रो हुँदैन । शिक्षक, विद्यार्थी अध्यापन गर्न र अध्ययन गर्न तत्पर छन् तर अभिभावकले त्यसका लागि आवश्यक वातावरण तयार गर्न सकिएन भने विद्यार्थीको नतिजामा आशातीत उपलब्धि हुन सक्तैन । यसैले यी तीनै पक्ष समदूरीमा रहेर अध्ययन, अध्यापन र वातावरण सिर्जना गर्न सहयोग मिल्यो भने शैक्षिक संस्थालाई राम्रो गर्न, शैक्षिक वातावरण तयार गर्न सहज हुन्छ ।

अबका विद्यार्थीले म समाज र राष्ट्रको ऋणी हुँ, मैले समाज र राष्ट्रको सेवा गर्नुपर्दछ, म स्वार्थी बन्नु हुँदैन । उच्च शिक्षा अध्ययन पश्चात विदेशमा पलायन भएर होइन, देशमै रहेर समाज र देशको विकासमा योगदान पुर्याउनु पर्छ भन्ने अभिप्रायका साथ अध्ययन गर्न जरुरी छ ।

आजका विद्यार्थी नै भविष्यका कर्णाधार हुन् । देशका भावी असल व्यक्तित्वहरु हुन् । विद्यार्थीले देशको आर्थिक, सामाजिक, राजनीतिक गतिविधिहरु सम्बन्धमा पनि परिचित हुनु अति आवश्यक छ । पाठ्यपुस्तक अध्ययनका साथ साथै अन्य ज्ञानवर्धक पुस्तकहरु, पत्रपत्रिकाहरु अध्ययन गर्नुपर्ने देखिन्छ । देशलाई आघात हुने कुनै पनि किसिमको गतिविधि हुँदा विद्यार्थी, अभिभावक र शिक्षकले त्यसलाई खबरदारी गर्न सक्ने आँट हुनु पर्दछ । 

शिक्षकले विद्यार्थीलाई ‘के पढाउने?’ भन्दा पनि कसरी विद्यार्थीले सिक्न सक्छ ? भन्ने कुराको ख्याल गर्न जरुरी छ । विद्यार्थीले गल्ती गर्छन्, सिक्छन्, त्यस कुरालाई आत्मसात गरी शिक्षकहरु अघि बढ्नुपर्ने देखिएको छ ।

किसी, आदर्श आजाद मावि/कलेज, भक्तपुरका प्राचार्य हुन् । 

प्रतिक्रिया