Edukhabar
विहीबार, १३ बैशाख २०८१
विचार / विमर्श

स्थानीय पाठ्यक्रम कस्तो बनाउने ?

बुधबार, २२ चैत्र २०७९

पाठ्यक्रम सम्पूर्ण शैक्षिक गतिविधीको मेरुदण्ड हो । यो समग्र शैक्षिक क्रियाकलापहरुको नेतृत्व गर्ने सशक्त कार्ययोजना हो । विद्यार्थीको शारिरीक, मानसिक, संवेगात्मक, सामाजिक लगायतका क्षेत्रमा चौतर्फी विकासका लागि पाठ्यक्रमले भूमिका खेलेको हुन्छ । पाठ्यक्रम भित्र शिक्षाको राष्ट्रिय उद्धेश्य परिपूर्ति गर्नका लागि पाठ्यांश अनुसारका शिक्षण विधि, सिकाइको ढाँचा, समय निर्धारण, मूल्याङ्कन, शैक्षिक सामाग्री आदिको क्षेत्रलाई समेटिएको हुन्छ । यस अर्थमा पाठ्यक्रम विद्यार्थीको सर्वाङ्गीण विकासका लागि आवश्यकपर्ने ज्ञान, सीप र अनुभवहरुको एकीकृत रुप हो ।   

विश्वप्रख्यात पाठ्यक्रमविद हिल्टा टावाले पाठ्यक्रमलाई विद्यालय भित्र र बाहिर विद्यार्थीमा ऐच्छिक उपलब्धिहरु प्राप्त गराउन विद्यालय द्वारा निर्माण गरिएको योजना हो, भनेका छन् । शिक्षाविद् फ्रोवेलले पाठ्यक्रमलाई मानव जातिको सम्पूर्ण ज्ञान तथा अनुभवहरुको सारको रुपमा लिनु पर्दछ भन्ने धारणा राखेका छन् । यसैगरी अर्का विद्वान मोसेले पाठ्यक्रमलाई विद्यालयको निर्देशन भित्र रहेर सिकारुले प्राप्त गर्ने सम्पूर्ण अनुभवहरु समावेश गरिएको शैक्षिक योजनाको रुपमा लिएका छन् । यसरी हेर्दा पाठ्यक्रमलाई विविध ज्ञान आर्जनको सङ्गठीत ढाँचामा समायोजन गरी बनाइएको पाठ्यांशहरुको शैक्षिक कार्य योजना हो भन्न सकिन्छ ।

नोपलको सन्दर्भमा विद्यालय तहको संरचना अन्तरगत कक्षा ८ सम्मलाई आधारभूत र ९ देखि १२ सम्मलाई माध्यमिक तह मानिएको छ । शिक्षामा आमूल परिवर्तनको आवश्यकताको बहस भई रहँदा राज्यले विद्यालय शिक्षालाई स्थानीय तह अन्तरगत रहने व्यबस्था गरेको छ । यसको साथै कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम बनाउने अधिकार स्थानीय तहलाई दिएको छ । स्थानीय तहले आवश्यकता अनुसार १०० पूर्णाड्ढको पाठ्यपुस्तक निर्माण गरी पठनपनठन गर्न पाउने स्वायत्तता पाएका छन् । यस सन्दर्भमा स्थानीय तहको पाठ्यक्रम निर्माण गर्दा के कस्ता बिषयहरुको छनौट गर्ने भन्ने बिषयमा गहिरो अध्ययन, अनुसन्धान, विचार, विमर्श तथा प्राज्ञिक बहस हुन आवश्यक देखिन्छ । 

७ सय ५३ वटै स्थानीय तहहरुमा आधारभूत तथा माध्यमिक विद्यालयहरु सञ्चालित छन् । यी स्थानीय तहहरु भौगोलिक, सामाजिक, आर्थिक, सांस्कतिक, धार्मिक, भाषिक, प्राकृतिक स्रोत तथा साधनका आधारमा विविधतापूर्ण छन् । स्थानीय तहलाई पाठ्यक्रम निर्माण गर्न दिनुको अर्थ पनि यी भिन्न स्वरुप र सामथ्र्यमा रहेको समाजको आवश्यकता अनुसार बिषबस्तुको छनौट गरी पाठ्यक्रम निर्माण गर्नको लागि हो । यस अर्थमा स्थानीय पाठ्यक्रम निर्माण गर्दा सम्बन्धित ठाउँको आवश्यकता, व्यक्ति तथा समाजको चाहानाका साथै समय सापेक्ष जीवन उपयोगी शिक्षा प्रदान गर्न सकिने पाठ्यक्रमको आवश्यकता पर्दछ । यसर्थ स्थानीय तहको पाठ्यक्रम तथा पाठ्यपुस्तकमा समावेश गरिने बिषयबस्तुको छनौट गर्दा व्यक्ति, समाज र समग्र राष्ट्रका लागि उपयोगी हुने व्यवहारिक तथा जीवन उपयोगी बिषयबस्तुको छनौट आवश्यक हुन्छ । 

शिक्षा आर्थिक विकास र समाज रुपान्तरणको भरपर्दो माध्यम हो । एकातिर हाम्रा गाउँहरु अशिक्षा, गरिबी, अभाव, वेरोजगारी र पछौटेपनबाट आक्रान्त छन् भने अर्कोतिर समाजमा असमानता, अन्याय, अत्याचार, शोषण, दमन तथा उत्पीडनहरु व्याप्त छन् । दुरदराजका गाउँवस्तीहरुमा सामाजिक कुरिती तथा अन्धविश्वासहरुले जरा गाडेका छन् । भूगोल, सम्प्रदाय तथा सामाजिक चेतनाका आधारमा समस्याहरुका रुप र प्रकृतिहरु भने भिन्न छन् । समाजमा  छाउपडी, देवकी, घुम्टो प्रथा लगायत, दाईजो प्रथा, महिला हिंसा, जातीय विभेद जस्ता समस्याहरु व्याप्त छन् । शिक्षा सामाजिक चेतनाको सशक्त माध्यम भएकोले आजका बालबालिकालाई उल्लेखित सामाजिक समस्याहरु समाधान गर्न सकिने चेतनाको विकास गर्न आवश्यक छ । यस अर्थमा स्थानीय पाठ्यक्रमले आधुनिक समाज निर्माण गर्न सहयोग गर्ने बिषयबस्तुको छनौटलाई प्राथमिकता दिनु पर्दछ । यसो भएमा समाजका विद्यमान समस्याहरु हटाउनको लागि सामाजिक चेतनाको विकास हुन सक्दछ । 

विविधताले भरिएको नेपाली समाजमा भिन्न जात जाति, भाषा, भाषी, धर्म, संस्कृति, चालचलन, भेषभूषा तथा रहन सहनहरु छन् । यी विविध समुदायहरुका बीचमा आपसी समझदारी, धार्मिक सहिष्णुता, साँस्कृतिक अन्तरघुलन, भाषिक तथा चलन चल्तीहरुलाई आपसी स्विकारोक्ति, एकले अर्काको इज्जत, सम्मान र आदर गर्ने संस्कृतिको विकास गर्न सक्ने शिक्षा अहिलेको आवश्यकता हो । राज्यले शिक्षाको माध्यमबाट सबैका हक र अधिकारहरुलाई संबोधन गर्ने प्रयास गरेको छ । यसको लागि सबै सम्प्रदायका धर्म, भाषा, चाड, पर्व लगायतलाई पाठ्यक्रममा स्थान दिन आवश्यक ठानिन्छ । आजका बालबालिकाहरु भोलिका नागरिक हुने भएकोले आधाभूत शिक्षाको जगबाट नै उनीहरुलाई लोकतान्त्रिक, अनुशासित, परोपकारी, क्षमासील, मानवतावादी व्यक्ति तथा व्यक्तित्व निर्माण गर्नको लागि तत्अनुरुपको बिषयबस्तुको छनौट गर्न आवस्यक छ ।  

हाम्रो देशमा शैक्षिक वेरोजगार ठूलो समस्याको रुपमा रहेको छ । विद्यालय शिक्षा तथा उच्च शिक्षासम्मको अध्ययनले पनि शिक्षित जनशक्तिलाई स्वरोजगार बनाउन सकेको छैन । पढेलेखेको युवाशक्ति अन्तराष्ट्रिय श्रम बजारमा काम गर्न जान बाध्य छ । प्राकृतिक स्रोत र साधनले भरिएका हाम्रा गाउँहरु उजाड बन्दै गईरहेका छन् । नेपाली समाजको हातमुख जोड्ने, आयआर्जन गर्ने मूल स्रोत कृषि तथा पशुपालन क्षेत्र धरासायी भएको छ । हुँदै छ । जैविक वविधताका दृष्टिले धनी नेपालमा खाद्यान्न, तरकारी, फलपूmल, दूध, दही, घीउ आदि मात्र नभएर मौरी पालन, मत्स्यपालन, पशुपालन, कुखुरा पालन, हाँस पालन, पुष्प व्यबसाय, च्याउखेति, रेसम खेति, बाँस तथा निगालोबाट उत्पादन हुने सामाग्रीहरु, जडीबुटी, चिया, अलैंची तथा अन्य नगदे बाली र व्यवसायहरुको पहिचान तथा यिनीहरुको उत्पादनलाई बैज्ञानिकीकरण, यान्त्रिकीकरण, व्यवसायिकरणका साथै बजारीकरण गर्नसक्ने दक्ष जनशक्ति उत्पादन गर्न त्यत्तिकै जरुरी छ । यसको लागि स्थानीय तहको पाठ्यक्रम आधारशीला बन्न सक्दछ । 

आत्मानुशासन मानिसको ठूलो गहना हो । शिक्षाले व्यक्ति, समाज र समग्र राष्ट्रलाई नै अनुशासित बनाउनु पर्दछ ।  शिक्षा र अनुशासनलाई संगसंगै हिँडाउन सकिएन भने सामाजिक  सद्भाव भङ्ग हुन्छ । नागरिकमा नैतिकता, इमान्दारिताका साथै कर्तब्य बोधको अभाव हुन्छ । यस अर्थमा सामाजिक अनुशासनमा टेवा पुग्ने नैतिक शिक्षालाई आधारभूत शिक्षामा प्रथमिकता दिन आवश्यक छ । शिक्षाले माता, पिता र गुरुको महत्व र महिमालाई बोध गराउनु पर्दछ । श्रवण कुमार रुपी छोराछोरी र एकलव्यरुपी चेलाहरुका साथै परिवारका सदस्यहरुको बीचमा आपसी समझदारी, लैगिंक सहभाव, ठूलोलाई आदर, सानोलाई माया, शिष्ट, सभ्य, उदार एवं शालीन व्यक्तित्व निर्माणमा आधारभूत शिक्षाको ठूलो महत्व हुने भएकोले नैतिक शिक्षालाई पाठ्यक्रममा समेट्न आवश्यक देखिन्छ ।

हरेक स्थानीय तहहरु कुनै न कुनै रुपमा धार्मिक, साँस्कृतिक, पुरातात्विक, तथा ऐतिहासिक  महत्वले प्रख्यात छन् । बालबालिकाहरुले आफ्नो गाउँ, ठाउँ, क्षेत्र, प्रान्त तथा देशमा भएका महत्वपूर्ण  धरोहरहरुको बारेमा जान्नु पर्दछ । आप्mनो देशको इतिहासको गौरव गर्नसक्ने, अग्रज पुस्ताको योगदानलाई इज्जत गर्न सक्ने, वीरविरङ्गनाहरुबाट प्रेरणा लिन सक्ने किसिमको ज्ञान बालबालिकाहरुमा हस्तान्तरण गर्न आवस्श्क हुन्छ ।

पृथ्वीनारायण शाहबाट राष्ट्रिय एकताको भावना, भिमसेन थापाबाट सार्र्वभौमिकताको महत्व, रामशाहबाट सामाजिक न्याय जस्ता प्रेरणाहरु प्रदानगरी व्यबहारमा अनुसरण गर्ने शिक्षण सिकाइमा आधारित पाठ्यक्रम तथा पाठ्यपुस्तकको निर्माण आजको आवश्यकता हो । 

नेपाल भूकम्प, बाढी, पहिरो, शीतलहर, सिरेटो, भोकमरी, महामारी जस्ता समस्याहरुले प्रभावित हुने मुलुक हो । उल्लेखित समस्याहरु भौगोलिक बनोटका आधारमा कम वा बढि प्रभावित छन् । यी समस्याहरुको जानकारी र विपद् व्यवस्थापनको ज्ञानमा आधारित पाठ्यक्रम भएमा प्राकृतिक प्रकोप र यसबाट बँच्न र बचाउन सक्ने उपायहरुका बाटा र पाटाहरु सिक्न र सिकाउन सकिन्छ । तसर्थ प्राकृतिक विपद पश्चात पुननिर्माण गरी मनोवैज्ञानिक रुपमा सकारात्मक जीवनशैली अपनाउने आत्मबलको खाँचो पर्ने हुनाले विद्यालय शिक्षाको पाठ्यक्रममा प्राकृतिक प्रकोप र यसबाट बँच्न सकिने उपायको ज्ञान तथा सीपलाई पठनपाठनको बिषयबस्तु बनाईनु पर्दछ । 

प्रतिक्रिया