Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

स्मार्ट विद्यालय : सुरुमा कक्षा र शिक्षकहरुलाई स्मार्ट बनाइने

बुधबार, ०६ बैशाख २०८०

काठमाडौं - पुतलीसडकस्थित पद्मोदय माध्यमिक विद्यालयलाई स्मार्ट विद्यालय बनाउने तयारी थालिएको छ । बढ्दो सूचना प्रविधिको प्रयोगसँगै शिक्षामा पनि यसको प्रयोग गरी विद्यार्थीलाई सूचना प्रविधिमैत्री र सूचना प्रविधिमा दख्खल बनाउन सो तयारी थालिएको हो ।

विद्यालयका प्रधानाध्यापक नारायण गौतमले विद्यालयलाई स्मार्ट बनाउने लक्ष्य अनुसारको काम अघि बढाइएको बताए । ‘अहिलेको शिक्षणलाई सूचना प्रविधिसँग जोड्न जरुरी छ, त्यसले मात्र हाम्रा नयाँ पिँढीलाई युग सुहाउँदो शिक्षा दिन सकिन्छ’, उनले भने, ‘सोही कारण विद्यालयलाई स्मार्ट बनाउने प्रारम्भिक काम थालनी गरेका छौं ।’

उनले चालू शैक्षिक सत्रबाट कक्षा ७, ८ र ९ लाई पूर्ण रुपमा स्मार्ट बनाउने जानकारी दिए । त्यसका लागि सो कक्षामा स्मार्ट बोर्ड जडान गरिसकेको उनको भनाइ छ । उनले बागमती प्रदेश सरकारले विद्यालयलाई सूचना प्रविधि शिर्षकमा खर्च गर्ने गरी २० लाख रुपैयाँ सहयोग गरेको जनाउँदै सोही बजेटबाट काम अघि बढाइएको बताए ।

‘हामीसँग पहिल्यै तीनवटा स्मार्ट बोर्ड थिए, अहिले हामीले ६ वटा थप गरेका छौं, तिनीहरुलाई कक्षामा जडान गरेका छौं, अब सो बोर्डको उपयोग गरी पठनपाठन गराउने काम अघि बढाउँछौं,’ उनले भने ।
विद्यालयले विद्यार्थीलाई किताबको भारी बोक्न नपर्ने अवस्था बनाउनका लागि स्मार्ट कक्षाको अवधारणा अनुरुप काम थालनी गरिरहेको उनको भनाइ छ ।

प्रधानाध्यापक गौतमले विद्यालयलाई स्मार्ट बनाउने योजना अनुसार सुरुमा कक्षा कोठा र विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई स्मार्ट बनाइने बताए । त्यसका लागि विद्यालयले आफ्नै निजी स्रोतबाट शिक्षकलाई ल्यापटप प्रदान गरेको छ ।

‘विद्यालयमा पूर्णकालीन काम गर्ने प्रत्येक शिक्षकलाई हामीले ल्यापटप दिएका छौं, सो ल्यापटपको प्रयोग गरी शिक्षकहरुले अध्यापन गर्नुहुन्छ’, प्रधानाध्यापक गौतमले थपे ।

उनले विद्यालयका ३६ शिक्षकलाई ल्यापटप दिइएको र त्यसका लागि विद्यालयले २३ लाख रुपैयाँ लगानी गरेको जानकारी दिए । विद्यालयले शिक्षकलाई प्रविधि मैत्री बनाउनका लागि तालिमको पनि व्यवस्था गरेको छ ।
अहिले सो विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म १ हजार ९२ विद्यार्थी अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया