Edukhabar
मंगलबार, ०६ चैत्र २०८०
खबर/फिचर

शिक्षामा राज्यमन्त्री, गठन भएको ५ महिनामा मन्त्रीपरिषद् पूर्ण

मंगलबार, ०९ जेठ २०८०

काठमाडौं - वर्तमान सरकार गठन भएको ५ महिना पुरा हुन दुई दिन अघि भएको ११ औं विस्तारमा बल्ल मन्त्रीपरिषद्ले पूर्णता पाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शिक्षा राज्यमन्त्रीमा प्रमिला कुमारी र वन तथा वातावरण मन्त्रीमा वीरेन्द्र प्रसाद महतोलाई नियुक्त गरेसँगै मन्त्रीपरिषद् पूर्ण भएको हो । 

गत पुस ११ गते दाहाल नेतृत्वमा सरकार गठन भए पनि सत्ताधारी दलहरु बिच मन्त्रालयको भागवण्डामा सहमती नहुँदा मन्त्रीपरिषद्ले पूर्णता पाएको थिएन । मंगलबार सत्ताधारी दल जनता समाजवादीका तर्फबाट दुई जनाको नियुक्ति भएसँगै मन्त्रीपरिषद्ले पूर्णता पाएको हो । 

नवनियुक्त शिक्षा राज्यमन्त्री कुमारी राष्ट्रिय सभाकी सांसद हुन् । महतो भने सिराहा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् । 

यस अघि दाहाल नेतृत्वमा सरकार गठन भएको तीन महिना पछि गत चैत १७ गते भएको सातौं पटकको मन्त्रीपरिषद् विस्तारमा जसपाकै अशोक राई शिक्षा मन्त्रीमा नियुक्त भएका थिए । 

पुस ११ गते उपप्रधान सहित गृह मन्त्री भएका पार्टिका सभापति रवि लामिछानेले अमेरिका र नेपालको दोहोरो नागरिकता लिएकोले प्रतिनिधि सभा सदस्यका लागि योग्य नभएको ठहर सहित माघ १३ गते सर्वोच्च अदालतको फैसला आए पछि लामिछानेको पद गएको थियो । अदालतको फैसला पछि उक्त दलले सरकारमा सहभागी भएको ४२ औं दिन, माघ २२ गते सरकार छाड्ने निर्णय गरेको थियो । यो निर्णय सँगै मन्त्री भएको २० दिनमै तत्कालिन शिक्षा मन्त्री शिशिर खनालले राजिनामा बुझाएका थिए । उनको राजिनामा पछि खाली भएको शिक्षा मन्त्रालयमा ५५ दिन पछि राईको नियुक्ति भएको थियो । 

मन्त्रिपरिषद २५ सदस्यीय हुने संवैधानिक व्यवस्था छ  । सरकारमा कांग्रेसका एक उपप्रधानमन्त्री सहित ९ मन्त्री, माओवादीका एक उपप्रधानमन्त्री सहित ५ मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री तथा नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी र नेपाल समाजवादी पार्टीका एक–एक मन्त्री छन् । 

प्रतिक्रिया