Edukhabar
मंगलबार, ०४ बैशाख २०८१
विचार / विमर्श

शिक्षक, प्राध्यापकलाई चिठी

आइतबार, २१ जेठ २०८०

आदरणीय गुरुजनहरु, 

अज्ञानतालाई हटाएर, पथभ्रम र पथभ्रष्टलाई बाटो देखाउने तथा कर्म र अकर्मको बोध गराउने व्यक्ति हो तपाईंहरु । विद्यालय भित्र ज्ञानको स्रोत, सत्यको प्रतीक, आदर्शको खानी र बालबालिकाको मार्गदर्शक हो तपाईंहरु । नीतिशास्त्रमा पनि सत्यको रक्षा शिक्षकबाट मात्र संभव छ भनिएको छ । 

गौतम बुद्घले शिष्यहरुलाई ज्ञान बाँड्दै हिंडे । कन्फ्युसियसले पनि गाउँगाउँमा पढाउँदै हिंडे । व्यास, दधिची र बृहस्पतिका समकक्षको व्यक्तित्व बोकेका गुरुजनहरुमा देशमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने गहन जिम्मेवारी छ । आजका शिक्षार्थीहरुलाई कस्ता नागरिक बनाउने भन्ने  बारेमा गेम चेञ्जरको भूमिका खेल्न सक्ने महत्वपूर्ण ठाउँमा तपाईहरु हुनुहुन्छ । 

गुरुजनहरु, तपाईहरुलाई सम्झिरहँदा दक्षिण अफ्रिकाको एउटा विश्वविद्यालयको प्रवेशद्वारमा शिक्षा र देशको भविष्यको सम्बन्धमा उल्लेख गरिएको गहकिलो सन्दर्भको उठान गर्न सान्दर्भिक ठानें । 

त्यहाँ लेखिएको छ, 'कुनै पनि देशलाई ध्वस्त पार्नु छ भने कुनै आणविक अस्त्र वा लामो दुरीको क्षेप्यास्त्रको प्रयोग गर्नु पर्दैन । बस, देशको शिक्षा क्षेत्र ध्वस्त बनाए पुग्छ ।'

उल्लेखित भनाईलाई पुष्टि गर्नको लागि बुँदागत रुपमा लेखिएको कुराहरु अझै मर्मस्पर्सी छन् । 

'शिक्षण सिकाइलाई गुणस्तरीय बनाउनुको सट्टा विद्यार्थीलाई चिट चोर्न दिए पुग्छ ताकी चिट चोरेर पास गरेका डाक्टरहरुबाट बिरामी मर्नेछन् । इञ्जिनियरहरुबाट निर्मित भवनहरु भत्कने छन् । अर्थविद्बाट पैसा हराउने छ । धार्मिक अभियन्ताहरुबाट मानवता मर्ने छ । न्यायधिसहरुबाट न्याय हराउने छ आदि ।'

उल्लेखित न्यारेटिभ्स्को मर्मले शिक्षाको वर्तमान महत्व र भविष्यको परिणाम प्रष्ट पार्दछ । यस दृष्टिकोणबाट हर्दा व्यक्ति, समाज र मुलुकको भविष्य निर्माता वा ध्वस्तकर्ताको भूमिकामा पो केही गुरुजनहरु छन् कि !  

आजको शिक्षाको अवस्थासंग व्यक्ति, समाज र देशको भविष्य पनि जोडिएको हुन्छ । देशको भविष्यलाई कता डोर्याउने भन्ने कुरा आजको शिक्षाले निर्धारण गर्दछ । त्यसो त कस्तो शिक्षा नीति निर्माणगरी कस्ता उद्देश्यहरु हासिल गराई कस्ता नागरिकहरु उत्पादन गर्ने भन्ने कुराको रोडम्याप निर्धारण गर्ने औपचारिक संस्था राज्य हो । राज्यले तय गरेको मार्गचित्रमा उसका निति तथा कार्ययोजनाहरुको कार्यान्वयन गर्ने ठाउँमा हुने तपाईं गुरुजनहरु नै हो ।  त्यसैले शिक्षक प्रध्यापकहरुको योग्यता, क्षमता र शिक्षणशैलीले शिक्षाको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्दछ । 

शिक्षा क्षेत्र प्रशासनिक प्रभुत्ववादको अनुसरणले मात्र चल्न सक्ने क्षेत्र होइन । यस क्षेत्रमा विचारको खेति र विवेकको प्रयोग वाञ्छनीय हुन्छ । राज्यसंग शिक्षा क्षेत्रलाई हेर्ने प्राज्ञिक आँखाहरु नभएको विज्ञहरुको ठहर छ । पश्चिमा देशहरुले शिक्षा र गुरुजनहरुको महत्व बुझेकोले उनीहरु आज मंगल ग्रहमा मानववस्तीको संभावनाको  खोजी गर्दैछन् । चन्द्रमामा वस्ती बसाउने कसरतमा छन् । बृहस्पति ग्रहको अनुसन्धानमा व्यस्त छन् । हामीहरु भने शिक्षालाई समय सापेक्ष, वैज्ञानिक, अनुसन्धान मैत्री एवम् सिर्जनशील बनाउन पर्दछ भन्ने चेतनाको लडाईमा छौं । कार्यान्वयनमा फितलो छौं । यस्तो संस्कृतिले शिक्षा क्षेत्रको गुणस्तर कसरी उकासिएला ? 

आज युरोप, अमेरिका लगायत एशिया महादेशका कतिपय राष्ट्रहरु विकासको चरम विन्दुमा पुग्नुको पछाडि त्यहाँको शिक्षाको ठूलो भूमिका छ । पछिल्लो समाचार अनुसार नासाले मंगल ग्रहका लागि इतिहास मै पहिलो पटक हेलिकप्टर पठाएको छ । विज्ञान र प्रविधिको चमत्कारिक विकास भएको छ । यी देशहरुले हासिल गरेको विकासको माध्यम शिक्षा हो । त्यहाँका अब्बल शिक्षालयहरु हुन् । विश्वविद्यालयहरु हुन् । त्यहाँको राज्यको भिजन, मिसन र एक्सनको प्रतिफल हो । केही समय अगाडि जर्मनीका न्यायधिस, सरकारका उच्च पदस्थ व्यक्ति एवम् व्यक्तित्वहरुले त्यहाँको राज्य प्रमुखलाई भेटेर उनीहरुलाई शिक्षक, प्राध्यापक सरहको सरकारी सुविधाको मागगर्दा तत्कालिन राज्य प्रमुख मार्केलले भनेकी थिइन, 'तपाईहरुलाई, पढाउने सिकाउने वा बनाउने व्यक्तिहरु शिक्षक प्रध्यापकहरु होइनन् र ? जसले देशको सक्षम जनशक्ति निर्माण गर्दछ, उनीहरु सरह तपाईहरुलाई कसरी सुविधा प्रदान गर्न सकिन्छ ? आफै भन्नुहोस् त ।'

मार्केलको उक्त भनाईले आजका विकसित देशहरुले शिक्षा, शिक्षक प्राध्याकहरुको कत्तिको महत्व दिएका रहेछन् भन्ने कुराको पुष्टि गर्दछ । तर हाम्रो देशको सन्दर्भमा शिक्षा क्षेत्रमा दलीय राजनितिकरण व्याप्त छ । राजनितिक दलहरुले शिक्षा क्षेत्रलाइ राजनितिको उद्गम थलो बनाएका छन् । प्राज्ञिक थलो बनाएका छैनन् । 

आदरणीय गुरुजनहरु, शिक्षा क्षेत्रलाई राजनितिकरण गर्ने र गराउने ममलामा राजनीतिक दल मात्रै हैन तपाईहरु मध्ये केही ‘गुरुजनहरु’ पनि जिम्मेवार हुनुहुन्छ । राजनितिदलहरुलाई सहयोग गरेर दलका दर्शनसंग निकट आस्था राख्ने शिक्षक संघ संगठनहरु चलाउने तपाईंहरु मध्येकै होइन र ? शिक्षक प्रध्यापकहरु पढेलेखेका, जाने बुझेका व्यक्ति भएकोले राजनितिक दलहरुका कार्यकर्ता हुने होइन । अनुसन्धानकर्ता हुने हो । दलहरुको झोला बोक्ने होइन, प्राज्ञिकहरुले विचार र विवेकको झोला बोक्ने हो । 

नाक नखुम्च्याउनु होला । हामी जिम्मेवार बन्न नसके भोलिको पुस्ता कस्तो बन्ला ? 

देशमा दक्ष जनशक्ति डाक्टर, इञ्जिनियर, शिक्षक, प्राध्यापक, पाइलट, लेखक, कवि, कलाकार, पत्रकार, लेखक, नीति निर्माता, विज्ञ, विशेषज्ञ, शासक, प्रशासक उद्योगी, व्यवसायी लगायतका व्यक्ति उत्पादन गर्ने तपाईंहरुबाट गुणस्तरीय शिक्षण सिकाइ हुन सकेन भने देशको भविष्य के होला ? 

समग्रमा हाम्रो शिक्षाको गुणस्तर सन्तोषजनक नभएकोमा दुईमत छैन । तथापि देशका कतिपय सामुदायिक शिक्षालयहरु उत्कृष्ट पनि छन् । तर, अधिकाँशको हालत खराब छ । उही पाठ्यक्रम, उही पाठ्यपुस्तक, एउटै परीक्षा प्रणाली, उस्तै शैक्षिक योग्यता र सरकारी सुविधा उपभोग गर्ने विषयगत गुरुजन र प्रधानाध्यापकहरु तर गुणस्तरमा किन असमानता ?  किन यस्तो हुन्छ ? यसको जिम्मेवारी कसले लिने ?

राज्यले शिक्षा क्षेत्रमा ठूलो लगानी गरेको छ । शिक्षक, प्राध्यापकहरुलाई सेवा सुविधा दिएको छ । शिक्षण सिकाइलाई प्रभावकारी बनाउनको लागि आवधिक तालिमहरुको व्यवस्था गरेको छ । तर पनि शिक्षाको अवस्थामा सुधार हुन सकेको छैन । यसरी हर्दा राज्य कहाँ चुक्यो ? तपाईंहरु कहाँ चुक्नु भयो ? अभिभावकहरु कहाँ चुके ? गम्भीर समीक्षा गर्न पर्ने वेला आएको छ । 

गुरुजनहरु विद्यार्थीका अनुसन्धानकर्ता, परिवर्तनकर्ता, मूल्यांकनकर्ता, समन्वयकर्ता, व्यवसायिक मित्र एवम् स्रोतव्यक्ति भएकोले विद्यार्थीको चौतर्फी विकासका लागि सहयोग गर्न सक्ने कार्य क्षमता राखांै । शिक्षालयहरुलाई अनुशासन, अनुसन्धान र गुणस्तरीय शिक्षण सिकाइका केन्द्र बनाआंै । शिक्षा क्षेत्रमा संलग्न सबै जिम्मेवार बनांै । आज शिक्षा क्षेत्र जुन अवस्थामा छ, यो भन्दा बढि लथालिङ्ग नपारौँ । 

हवस् त नमस्कार !

उही तपाईको देवीप्रसाद !!

प्रतिक्रिया