Edukhabar
शनिबार, १२ साउन २०८१
गतिविधि

छात्रवृत्तिका लागि परीक्षा लिएर विद्यार्थी छनौट

मंगलबार, ०२ साउन २०८०

कास्कि - पोखरा महानगरपालिकाले परीक्षा लिएर निजी विद्यालयको कक्षा ११ मा छात्रवृत्तिमा पढ्ने विद्यार्थी छनौट गरेको छ ।  लक्षित समुदायका बालबालिकाले नपाउने तर विद्यालय सञ्चालकका आफन्त वा पहुँचवालाका सन्तानले उपभोग गर्ने क्रमलाई रोक्न महानगरपालिकाले परीक्षा लिएरै विद्यार्थी छनौट गरेको हो । 

गत शनिबार भएको परीक्षाको सोमबार सार्वजनिक नतिजा अनुसार तीन सय ३५ विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गर्न पाउने भएका छन् । अपाङ्गता भएका, विपन्न, दलित, जेहेन्दार, जनजाती, शहीद परिवार र वेपत्ता परिवारका विद्यार्थीले उक्त छात्रवृत्ति पाएका हुन् । जस अनुसार विज्ञान तर्फ एक सय ३६, व्यवस्थापन तर्फ एक सय ४०, होटल व्यवस्थापन तर्फ ४९ तथा कानून, मानविकी र चित्रकला तर्फ १० विद्यार्थी छनौट भएका महानगर शिक्षा महाशाखाले जनाएको छ । महानगर भित्र कक्षा ११ र १२ समेत सञ्चालनमा रहेका ७८ निजी विद्यालय मध्ये २९ वटामा यी विद्यार्थीले छात्रवृत्ति पाउने छन् । आउँदो बिहीबार सम्म सिफारिस पत्र लिन विद्यार्थीलाई महानगर शिक्षा महाशाखाले सूचीत गरेको छ । 

गत बर्ष कक्षा ११ का लागि राष्ट्रिय परीक्षा बोर्डमा रजिष्ट्रेशन भएका विद्यार्थीको संख्याको आधारमा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको संख्या यकिन गरिएको महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले बताए ।  

कक्षा ११ मा उपलब्ध गराईने छात्रवृत्तिमा सहभागी हुने विद्यार्थीको छनौटका लागि लिईएको उक्त परीक्षामा ११ सय नौ जना विद्यार्थी सहभागी भएका थिए । उक्त परीक्षामा उत्तीर्ण विद्यार्थीको संख्या महानगर भित्रका निजी विद्यालयमा अध्ययन गर्ने मध्ये ५ प्रतिशत छात्रववृत्ति संख्या हो । महानगरको शिक्षा नियमावलीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनु पर्ने नियम छ । सोही अनुसार बाँकी ५ प्रतिशत अर्थात् तीन सय ३५ विद्यार्थीको विवरण अद्यावधिक गरेर निजी विद्यालयले महानगरमा पठाउनु पर्ने छ । 

कक्षा १ देखि १० सम्म सञ्चालित दुई सय ४७ विद्यालयले उपलब्ध गराउने छात्रवृत्ति विवरण अद्यावधिक गरेर पेश गर्न महाशाखाले ताकेता गरेको छ । अहिले सम्म एक सय दुई विद्यालयले मात्रै विवरण बुझाएको र बाँकीलाई साउन १५ गते भित्र बुझाउन भनिएको महानगर श्रोतले जनाएको छ । 

प्रतिक्रिया