Edukhabar
शनिबार, १२ साउन २०८१
खबर/फिचर

जीपीएका आधारमा कक्षा ११ को छात्रवृत्ति वितरण

पहुँचवालाका सन्तान मात्रै लाभान्वित हुने क्रमलाई निरुत्साहित गर्ने लक्ष्य

आइतबार, ०७ साउन २०८०

चितवन - कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित छात्रवृत्तिका लागि भरतपुर महानगरपालिकाले कक्षा १० को अन्तिम परीक्षा एसईईमा प्राप्त माथिल्लो ग्रेड (जीपीए) का आधारमा विद्यार्थी छनौट गरेको छ । कक्षा १० उत्तीर्ण गरिसकेका विद्यार्थीलाई छात्रवृत्ति दिने वहानामा अर्को परीक्षा लिन उपयुक्त नहुने ठहर गरेर जीपीएलाई आधार बनाएको महानगर शिक्षा महाशाखाका प्रमुख महेन्द्रप्रसाद पौडेलले जानकारी दिए । फेरी परीक्षा लिदाँ चलखेल हुने र झन् अपारदर्शी हुन सक्ने भएकाले यो विधि अपनाएको उनले बताए ।

महाशाखाको आइतबार बसेको बैठकले दुई सय ८३ जना विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरेको छ । जस अनुसार कुल छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई शत प्रतिशत मानि जेहेन्दार विद्यार्थीका लागि ३७ प्रतिशत, विपन्नका लागि ३६ प्रतिशत, जनजातिका लागि १० प्रतिशत, दलितका लागि ५ प्रतिशत, अपाङ्गता भएका विद्यार्थीका लागि ३ प्रतिशत र शहीद परिवार, जनआन्दोलनका घाइते, बेपत्ता परिवार र मधेश आन्दोलनका घाइतेका सन्ततिका लागि ९ प्रतिशत छात्रवृत्ति निर्धारण गरिएको छ । विद्यार्थी छनोटका लागि महानगरले १५ दिनको समय दिएर अनलाइन आवेदन मागेको थियो । जसअनुसार सामुदायिक विद्यालबाट ४७९ र निजी विद्यालयबाट ३४० जना विद्यार्थीले आवेदन दिएका थिए । आवेदन दिएका मध्येबाट छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरिएको महाशाखा प्रमुख पौडेलले बताए ।

यो संख्या निजी तथा सामुदायिक दुवै खाले विद्यालयका लागि भएको महानगरले जनाएको छ । दुवै वर्गका विद्यार्थी ५० ५० प्रतिशत रहेका छन् । विद्यार्थीले पढ्न चाहने विद्यालय आवेदन दिदाँ नै छान्न लगाईएकाले विद्यार्थीको छनौट अनुसारकै विद्यालयमा सिफारिस गर्ने महानगरको योजना छ । 

छात्रवृत्तिका नाममा पहुँचवालाका सन्तान मात्रै लाभान्वित हुने क्रमलाई निरुत्साहित गर्न पालिकाहरुले विभिन्न विधि अपनाएर छात्रवृत्ति कोटा निर्धारण गरेका छन् । जस अनुसार पोखरा महानगरले यस अघि नै परीक्षा मार्फत् छात्रवृत्ति संख्या तय गरिसकेको छ । काठमाडौं महानगरपालिकाले पनि परीक्षा लिएरै छात्रवृत्ति वितरण गर्दै छ ।  

प्रतिक्रिया