Edukhabar
शनिबार, १२ साउन २०८१
खबर/फिचर

सहमतीमा 'स्पेस' नपाए पछि तालाबन्दी !

पाँच बुँदे सहमतीमा आफ्नो संगठन बाहिर परे पछि कार्यकर्ता उत्रिए तालाबन्दीमा

विहीबार, १४ भदौ २०८०

काठमाडौ  - बढेको शुल्क फिर्ताका लागि त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी संगठनका अध्यक्षहरु बिच बुधबार बेलुका भएको सहमतीमा आफ्नो स्पेस नपाए पछि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले इञ्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा ताला लगाएका छन् । नौ दिन देखि जारी विद्यार्थीको आमरण अनसन तोड्ने, शुल्क वृद्धि फिर्ता लिन निर्देशन दिने लगायतका पाँच बुँदे सहमतीमा आफ्नो संगठन बाहिर परे पछि अनेरास्ववियुका कार्यकर्ताले तालाबन्दी गरेका हुन् । 

बुधबार भएको सहमति खारेज हुनुपर्ने माग राखेर ताला लगाएको पुल्चोक इञ्जिनियरिङ क्याम्पसका स्ववियु सभापति विराज अर्याल बताउँछन् । उनी एमाले निकट संगठनका तर्फबाट सभापति निर्वाचित भएका हुन् । उक्त सहमतीमा क्याम्पसका विद्यार्थी र स्ववियुको सहमति नरहेको उनको तर्क छ । यस अघि सहमतिलाई धोका भन्दै अनेरास्ववियुकै व्यानरमा उक्त सहमति पत्र जलाईएको थियो । 

उक्त सहमती पत्रमा विश्वविद्यालयका पदाधिकारी सहित सत्ताधारी दल निकट विद्यार्थी सँगठनका अध्यक्ष एवं सत्ताधारी केही दलहरु मिलेर मिलेर बनेको समाजवादी मोर्चामा आवद्ध दलका विद्यार्थी घटकहरुका अध्यक्षको हस्ताक्षर छ । 
उक्त सहमतीमा आफू छुटे पछि अनेरास्ववियु विरोधमा उत्रिएको हो । 

त्यसो त अनसनमा बसेकाहरुलाई समेत निर्णय प्रकृयामा सहभागी नगराइएको भन्दै नौ दिन देखि आमरण अनसनमा बसेका नेविसंघ पुल्चोक इकाइ सभापति सुलभ चापागाईंले पदबाटै राजीनामा दिएको घोषणा पनि गरेका छन् । अनसनमा बसेकै बेला अवस्था जटिल भए पछि अस्पतालमा राखेर उनको उपचार गरिदैं आएको थियो । 

पढ्नहोस् : आमरण अनसनमा बसेका विद्यार्थी अस्पताल भर्ना

इञ्जिनियरिङ अध्ययन संस्थानले पूर्ण शुल्कीय तर्फको शुल्क ७ लाख ७५ हजार बनाउने निर्णय गरेपछि विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका थिए । शुल्क फिर्ताको माग गर्दै चापागाईंले शुरु गरेको आमरण अनसन पछि अखिल क्रान्तिकारीका केशव रावल, समाजवादी विद्यार्थी युनियनकी रसना यादव, अखिल क्रान्तिकारीका प्रेम सि ले पनि आमरण अनसन शुरु गरेका थिए ।

पढ्नुहोस् : सत्तामा आफ्नै दल, तिनै दलका कार्यकर्ता आमरण अनसनमा छट्पटिदैं

बुधबार त्रिवि पदाधिकारी र विद्यार्थी संगठनका केन्द्रीय नेताहरुले शुल्क वृद्धि फिर्ता गर्ने र विद्यार्थी प्रतिनिधिसहितको समिति बनाएर नयाँ शुल्क निर्धारण गर्ने सहमति भएको छ । 

पढ्नुहोस् : शुल्क फिर्ताका लागि निर्देशन दिने सहमतीसँगै नौ दिन देखि जारी विद्यार्थीको आमरण अनसन फिर्ता

उक्त सहमतिमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी र स्ववियुको सहमति नरहेको भन्दै विद्यार्थीहरुले ताला लगाएका हुन् । त्यस्तै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि उक्त सहमति धोका हो भन्दै सहमति पत्र जलाएको छ ।

अनसनमा बसेकाहरुलाई निर्णयमा संलग्न नगराइएको भन्दै नेविसंघका सुलभ चापागाईंले नेविसंघ पुल्चोक इकाइ सभापतिबाट राजीनामा दिएको बताएका छन् ।

प्रतिक्रिया