सडकमा विद्यार्थी उभ्याउनेलाई कारवाही : आयोग प्रवक्ता अन्सारी


- मोहना अन्सारी, सदस्य तथा प्रवक्ता, राष्ट्रिय मानव अधिकार आयोग

- पछिल्लो समय भारतको नाकाबन्दी र मधेस आन्दोलनको विरोध भन्दै शिक्षा संग सम्बन्धित संस्थाहरुले नै सानासाना विद्यार्थी प्रयोग गरी काठमाडौंमा प्रदर्शन गरे ।  यसको अनुगमन र कारवाहीको सिफारिसमा आयोगको भूमिका कमजोर भएन ?

आयोगका विभिन्न प्रतिवेदनले पछिल्लो समयमा आन्दोलनमा बालबालिकाको प्रयोग ब्यापक भएको कुरा देखाईसकेको छ । चाहे द्धन्द्धकालमा होस् चाहे अहिले आएर होस् त्यसमा बालबालिकाको प्रयोग बढ्दो छ । यसमा आयोगले स्पष्ट धारणा सार्वजनिक गरिसकेको छ – बालबालिकालाई राजनीतिक अभिष्ट पुरा गर्नको लागि अथवा राजनीतिक प्रयोजनको लागि बालबालिकाको प्रयोग पुरै निषेध हुनु पर्छ । राष्ट्रिय अन्र्तराष्ट्रिय कानूनले निषेध गर्दा गर्दै पनि हामी कहाँ त्यसको कार्यान्वयनको अवस्था शुन्य भयो । बालबालिकालाई कुनै पनि राजनीतिक कृयाकलापमा प्रयोग गरिने छैन भनेर राजनीतिक दलहरुले प्रतिबद्धता जाहेर गरेका थिए । तर, उक्त प्रतिबद्धता प्राप्त गर्न सकेनौं हामीले ।

महिला मन्त्रालय तथा बाल कल्याण समितिले उक्त प्रदर्शनमा बालबालिकाको प्रयोग नगर भन्दा भन्दै पनि प्रदर्शनमा बालबालिकाको प्रयोग भएको हाम्रो अनुगमनबाट फेला पर्यो । हामी विभिन्न ठाउँमा गएर हेर्यौं । यसका अलावा विभिन्न सञ्चार माध्याम मार्फत बालबालिकाको प्रयोग भएको फेला पर्यो । अर्थात् उक्त आग्रह र अन्र्तराष्ट्रिय मान्यताहरुको उलंघन गर्दै बालबालिकालाई सडकमा उतारेको हामीले पायौं । आन्दोलन एउटा पक्ष हो, तर आफ्नो स्वार्थले बालबालिकाको प्रयोग गरियो । यो ज्यादै निन्दनीय काम भयो ।

- प्रदर्शन पछि आयोगले बालबालिकाको प्रयोग रोक्न भन्दै विज्ञप्ति त जारी गर्यो, तर त्यसको सम्बोधन नहुँदा पनि तपाईहरु त चुप लाग्नु भो ?

हो, उहाँहरुबाट त्यसको सम्बोधन भएको हामीले पाएनौं । हाम्रो आशा त जहिले पनि सरकारमा हुन्छ । उक्त कुराको कार्यान्वयन सरकारले गर्नु पर्यो अनी सरोकारवालाहरुले पालना गरे नगरेको नेपाल सरकारले जाँच्नु पर्यो । तर, त्यस्तो भएन ।

- काठमाडौंमा मधेस आन्दोलनको विरुद्ध भन्दै शुरु प्रदर्शन तराईमा मधेस आन्दोलनको समर्थन भन्दै फेरी बालबालिका उभ्याएरै गरियो...

त्यसलाई तीन तहमा हेर्नु पर्छ । मुख्य कुरा जसले बालबालिकालाई प्रर्दशनमा प्रयोग गर्यो तीनीहरुलाई बोलाएर सोध्नु पर्यो । त्यो, काम हामी गर्छौ । केन्द्रमा मात्रै हैन जिल्ला र क्षेत्रीय तहमा पनि त्यो काम हुन्छ । सरकारले पनि त्यहि अनुसार गर्नु पर्यो । पहिले उहाँहरुलाई बोलाएर सोध्नै पर्यो । यसमा अधिकाँश नीजि विद्यालयहरुले यस्तो काम गरे । सरकारी विद्यालयका विद्यार्थी कमै देखिएका छन् । नीजि विद्यालयहरुले त अभिभावकबाट शुल्क लिएका हुन्छन्, उनीहरुले सरकारलाई सेवा शुल्क तिर्छन् । त्यसैले दोश्रो भनेको उनीहरुलाई सरकारले उपलब्ध गराउने सेवा सुविधामा पनि सोच्नु पर्यो ।यसो हुँदा अभिभावकलाई पनि राहत हुन सक्छ । विद्यालयहरुले नै यस्तो काम गर्नु भनेको अशोभनीय हो । यो राम्रो भएन । उहाँहरुले गरेको हर्कत राम्रो भएन । नाकाबन्दीले असर पारको छ तर वहाना बनाएर बालबालिकाका प्रयोग गर्नु राम्रो भएन ।

तेश्रो कारवाहि हो । अटेर गर्नेलाई कारवाहि नै गर्ने हो । यस्ता कुराहरुलाई छाडेर चुप लागेर हुँदैन । जुन कुराको समाधान गर्ने भनेको राजनीतिक रुपमा हो । तर यहाँ बालबालिका प्रयोग गर्दा राज्यको शुन्यता देखियो । मन्त्रालयले दिएको निर्देशन नमान्नु भनेको राज्य विहिनता हो । यस्तो अवज्ञाको विरुद्धमा कारवाहि नै मुख्य हो ।

- बालबालिकाहरु स्कुल पोशाकमै सडकमा उतार्दा राज्य चुप देखिनु र आयोगको भूमिका प्रभावकारी नहुनुले यस्ता कृयाकलाप त बढ्ने देखियो । अव यसलाई कसरी रोक्ने ?

विद्यालय शान्ति क्षेत्र हो भनेर हामीले अपनाईसकेको अवस्थामा यस्तो हुनु दुर्भाग्य हो । रोक्ने भनेको सचेतीकरणबाट हो । र, विगतमा भएका गल्तिहरुमा दोशि पाईएका ब्यक्तिलाई कारबाही नहुँदा नै यस्ता घटना दोहोरिरहेको छ । कारवाहि हुनै पर्यो । आयोगले सरकारलाई स्पष्ट भनिरहेको छ कारवाहि हुनु पर्यो ।

- अपीन, अभिभवक संघ, शिक्षक महासंघ विद्यार्थी संगठनहरुले घोषणै गरेर कार्यक्रम गर्दा पनि आयोगले उनीहरुलाई सोधपुछ गर्न किन ढिलो गरेको त ?

मैले भने नी आयागले पहिलो चरण राज्यलाई न उत्तरदायी बनाउने हो । नीजि विद्यालय सञ्चालकहरु अभिभावकहरु हामी कहाँ स्कुल खुलाईदिनु पर्यो भन्दै आउनु हुन्छ, हाम्रो स्कुलमा फलानो राजनीतिक दलले पत्राचार गर्यो, त्यसकारण हामीलाई असुरक्षित महशुस भयो भन्दै संरक्षण गर्न माग गर्दै आउनुहुन्छ । अव तपाईले सडकमा किन उतार्नु भयो भन्ने कुरा सोध्न चाँही उहाँहरुलाई बोलाउँदै छौं । 

- कहिले बोलाउनु हुन्छ ?

अहिले अलिकति समस्या छ, ईन्धनको समस्या छ, समग्र देशलाई झैं हामी आफैंलाई पनि अभाव छ ।

- यो वहानाले झन् ढिलो हुने र ढिलो हुँदा झन् धेरै प्रयोग हुन्छ जस्तो लाग्दैन ?

आयोगले जिल्ला तहबाट भएको अनुगमनले केही कमी गराएको छ । अस्ति वीरगञ्जमा आयोगको टोलीले अन ट स्पट नै उनीहरुलाई बोध गराएको छ । तर डरलाग्दो पक्ष के भने मानसिक रुपमै हिट गरिदैं छ । यसले बालबालिकामा साह्रै नकारात्मक असर पुर्याईरहेको छ । बालबालिकाले बोकेका प्लेकार्डमा लेखिएको हामी आतँककारी होईनौ भन्ने शन्देशले के अर्थ दिन्छ ? सोच्नु पर्दैन ? कस्तो पीडादायी शन्देश छ त्यसमा, के हामी नेपाली आतँककारी हौं ? यसले पछि सम्म मनोबैज्ञानिक रुपमा असर गरिरहेको हुन्छ । काठमाडौंका सडकमा उभिएका बालबालिकालाई अर्को किसिमको प्लेकार्ड बोकाईयो । यसले हामीलाई कता लैजाँदै छ ? यस तर्फ ध्यान दिनु पर्दैन ? मैले भने नी कारवाहि गर्ने निकाय कमजोर हुँदा यस्तो भईरहेको छ ।

- कारवाहि भएन भन्दै चुप लागेर बस्नु भन्दा अझै झकझक्याउनु जरुरी छैन ? 

हो । यसमा सबै जना सजग हुनु जरुरी छ । द्धन्द्धकालमा बालबालिकाको प्रयोग भए झैं फेरी दोहोरिदैं छ । नेपाल सरकारले सबै बालबालिका विद्यालय भित्र हुनेछन् भन्ने अभियान चलाएर महत्वपूर्ण भूमिका निर्बाह गरे झैं बालकालिकालाई यस्ता कृयाकलापमा सहभागि नगराउने बारे पनि अभियान गर्नु पर्यो । यसका लागि अभिभावकलाई सचेत गराउँदै यस्ता कृयाकलाप गर्नेहरुलाई कारवाहि गर्दै अघि बढ्नु पर्छ ।

प्रस्तुती : श्रीधर पौडेल
प्रकाशन मिति : २०७२ मंसिर १६ गते

यो पनि पढ्नुहोस् :

विद्यार्थी उभ्याएर चक्रपथ घेराऊ शिक्षा कि स्वार्थ ?

उभ्याई छाडे साना साना विद्यार्थी !

मधेश आन्दोलनको समर्थनमा पनि विद्यार्थीकै प्रयोग

मधेस आन्दोलनको सर्मथन भन्दै बारामा पनि विद्यार्थीकै प्रयोग