Edukhabar
शनिबार, १२ साउन २०८१
खबर/फिचर

विभिन्न चार विशेष कारण भए शिक्षकको सरुवा

शिक्षक व्यवस्थापन निर्देशिका जारी

बुधबार, २२ कार्तिक २०८०

भक्तपुर - आकस्मिक घटना वा आपतकालिन अवस्थामा परेका कारण शिक्षकको जीवनलाई जोखिममुक्त गर्नु पर्ने लगायतका विभिन्न चार कारण भएमा शिक्षक सरुवा हुने भएको छ । शिक्षक आवश्यक हुँदा हुँदै पनि भनसुनका आधारमा सरुवा गर्ने र शिक्षक अभावका कारण बालबालिकाको पठनपाठनमा नै अवरोध आए पछि शिक्षा मन्त्रालयले शिक्षक सरुवालाई कडाई गर्दै आएको थियो । तर शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका शिक्षकको व्यवस्थापन गर्ने सम्बन्धी निर्देशिका २०८० जारी गरे पछि विशेष अवस्थाका शिक्षकको सरुवा हुने बाटो खुलेको हो । 

निर्देशिका अनुसार कुनै शिक्षक नियुक्त भइसके पछि आकस्मिक घटना वा आपतकालीन अवस्थामा परेकाले निजको जीवनलाई जोखिममुक्त गर्नुपर्ने वा नियुक्त भइसके पछि प्रचलित कानुन बमोजिम परिभाषित घातक वा कडा रोग लागी सोको उपचार गर्नुपर्ने अवस्थाको कारणलाई विशेष कारणका रुपमा ब्याख्या गरिएको छ । 

विभिन्न चार बुँदामा समेटिएका विशेष कारणको पहलिो बुँदामा घातक वा कडा रोग वा कुनै दुर्घटनाको कारण स्थानीय अस्पताल र स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्ने र निजलाई उपचारको सुविधा भएको स्थानमा तीन महिना भन्दा बढी समयसम्म उपचार गर्नुपर्ने भनी नेपाल मेडिकल काउन्सिलले प्रमाणपत्र प्राप्त चिकित्सकको रायसहित जिल्ला वा प्रदेश वा नेपाल सरकारको अस्पतालको प्रमुखबाट सिफारिस भएको अवस्थालाई समेटिएको छ । यस्तै दोश्रो कारणमा शिक्षक नियुक्ति भईसकेपछि कुनै महिला शिक्षकलाई प्रजनन स्वास्थ्य सम्बन्धी कुनै कडा वा घातक रोग लागेमा वा कुनै घटनामा परेको र सोको उपचार नहुँदा निजको जीवन जोखिममा पर्न सक्ने भनी चिकित्सकले दिएको रायको आधारलाई समेटिएको छ  । तेश्रो कारणमा कुनै शिक्षक आकस्मिक घटनामा परी वा प्राकृतिक विपद्मा परी गम्भीर घाइते भएकोले स्थानीय र जिल्ल अस्पतालका प्रमुखले आफ्नो अस्पतालमा उपचार हुन नसक्ने भनी सिफारिस गरि प्रदेश, संघीय वा नेपाल सरकार अन्र्तगतको अस्पतालको प्रमुखबाट प्रमाणित भएको हुनु पर्ने छ । 

चौथो कारणमा अपाङ्गता सम्बन्धी सङ्घीय कानुन बमोजिमको ‘क’ ‘ख’ र ‘ग’ वर्ग अन्तर्गत परी शारीरिक अवस्थाको कारण नियुक्ति पाएको सम्बन्धित विद्यालयमा आवतजावत गरी पठनपाठन गर्न असमर्थ भएको समबनधमा स्थानीय तहको सिफारिस र सम्बन्धित प्रदेश, संघीय अस्पतालको प्रमुखबाट प्रमाणित भएको हुनु पर्ने छ । 

अर्को विद्यालयमा पठाउन पर्ने आधार पहिचान तथा विश्लेषण गर्न, विशेष कारण सम्बन्धी विषयलाई व्यवस्थित, अनुमान योग्य, वस्तुनिष्ठ र वास्तविकतामा आधारित बनाउन र न्यूनतम तथा अधिक सेवा अवधिको कारण विशेष कारणबाट प्राप्त गर्ने सुविधालाई सहजीकरण गर्न निर्देशिका जारी गरेको केन्द्रले जनाएको छ । 

त्यसरी सरुवा गर्दा जुन विषयको शिक्षक रिक्त भएको हो सो विषयको शिक्षक भएको अवस्थामा मात्र सरुवा गर्न सकिने निर्देशिकामा उल्लेख छ ।

शिक्षा ऐन, २०२८ को दफा १९ (क) तथा शिक्षा नियमावली २०५९ को नियम (९) को खण्ड (ङ) ले दिएको अधिकार प्रयोग गरी निर्देशिका जारी गरेको केन्द्रले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीस्तरीय निर्णयबाट कात्तिक २ गते जारी भएको निर्देशिका केन्द्रले ढिलो गरी सार्वजनिक गरेको हो । 

शिक्षक सरुवा निर्देशिका पढ्नुहोस् :


 

प्रतिक्रिया