Edukhabar
शनिबार, १९ फागुन २०८०
विचार / विमर्श

आयोग त पास भएँ, तर विद्यालयले हाजिरै गराएन !

मैले पढाउने विद्यालय मात्रै होइन, मुलुकको शैक्षिक संस्थाको संरचना अपाङगमैत्री बनाउनु जरुरी छ । यसको लागि विद्यालयको लगानीले पुग्दैन तीनै तहका सरकारको लगानी जरुरी छ ।

आइतबार, १७ मंसिर २०८०

संविधानले अपाङगता भएकालाई अरु सरह सुविधा पाउने, दैनिक जीवनयापन गर्न पाउने समानताको हकको व्यवस्था गरेको छ । संविधान र कानुनले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गरेको छ । यही अधिकारको सदुपयोग गर्दै मैले पनि अपाङ्गता कोटामा शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको शिक्षक परीक्षा उत्तीर्ण गरेँ । चार वर्षयता भक्तपुरको मध्यपर थिमि नगरपालिका लायकु स्थित आदर्श माध्यमिक विद्यालयमा पढाइरहेको छु । 

स्कूल देखि साढे दुई किलोमिटर दुरीमा रहेको सानोठिमीमा बस्छु । सडकमा जताततै रहेका खाल्डा, सडक छेउमा पार्किङ गरेको गाडी र मोटरसाइकल छल्दै स्कूल पुग्छु । फर्कंदा पनि त्यही नियति भोग्छु । बिहान राम्रै भएको सडक बेलुका खाल्डा हुन्छ । एक दिन एक ठाउँमा बिग्रिएको हुन्छ । अर्को दिन फरक ठाउँमा बिग्रिएको हुन्छ । त्यसलाई बनाउने काम हुदंैन । हामी दृष्टिबिहीन यस्ता खाडलमा लड्दै अघि बढ्नुको विकल्प हुदैन ।  

००० 

सात वर्षको हुदाँ टाइफाइटले मेरो आँखाको ज्योति गुमेछ । ज्योती गुमेपनि आमा बुबाले मेरो पढाईलाई प्राथमिकता दिनु भयो । पोखराको अमरसिंह माविबाट एसएलसी सकेँ । चाबहिलको पशुपति क्याम्पसबाट १२ कक्षा र सानोठिमी क्याम्पसबाट बीएड सकेँ । त्यसपछि बिहेवारी भयो । घर व्यवहारमा फसेपछि पढाई अघि बढाउन सकेको थिईन । ०७५ मा शिक्षक आयोगले स्थायी शिक्षकको विज्ञापन खोलेको थियो । त्यसमा फारम भरेर तीन महिना ट्युशन कक्षा लिएँ । भक्तपुरमा ५८ वटा कोटा थियो । यसमा म पनि पास भएँ । 

०००

मध्यपुरथिमी नगरपालिकाबाट ०७६ मंसिर २  मा मैले नियुक्ति पाए । मेरो पोष्टिङ भयो–बोडेको निलबाराही आधारभुत विद्यालय । नियुक्ति पत्र लिएर विद्यालयमा हाजिर हुन गएँ तर, प्रधानाध्यापकले हाजिर गराउनु भएन । विद्यालय व्यवस्थापन समितिको अध्यक्षले भेट्नै चाहनु भएन । प्रधानाध्यापकले स्थानीय बाहेक अरुलाई राख्नै नसक्ने अडान लिनु भयो स नियुक्तिपत्र पाएर पनि पढाउन नपाउँदा दृष्टिबिहीन हुनु मेरो कुनै दोष हो र भन्ने लाग्यो ।
मलाई नियुक्ति पत्र दिनु अघि त्यो स्कूल अपाङगमैत्री वातावरण भएको बताइएको थियो । मैले जे कुरा सुनेर गएको थिएँ त्यो त पाइएन । विद्यालयमा हाजिर नगराए पछि एक महिनासम्म नगरपालिका धाइरहेँ । मलाई त्यही विद्यालयमा हाजिर गराउन नगरपालिकाको सर लाग्नुभयो । उहाँले पनि सक्नु भएन । दृष्टिबिहीन भएकै कारण मलाई हाजिर नगराएको हो कि ? भन्ने लाग्यो । 

नगरपालिकाले निलबाराही आधारभुतको दरबन्दी सहित मलाई लायकुको आदर्श माध्यमिक विद्यालयमा पठायो । प्रधानाध्यापक बुद्धिकुमार श्रेष्ठले सहजै हाजिर गर्ने वातावरण बनाउनु भयो । चार वर्षदेखि दृष्टिबिहीन र अरु विद्यार्थीलाई पनि पढाइरहेको छु । विद्यालयको वातावरण अपाङगमैत्री छ त्यसैले त दृष्टिबिहीन विद्यार्थी पढिरहेका छन् । 

laxmi_class

मैले पढाउने विद्यालय मात्रै होइन, मुलुकको शैक्षिक संस्थाको संरचना अपाङगमैत्री बनाउनु जरुरी छ । यसको लागि विद्यालयको लगानीले सुधार हुदैन । स्थानीय, प्रदेश र संघीय सरकारले शैक्षिक संस्थालाई अपाङगमैत्री बनाउन लगानी गर्न जरुरी छ । 

कतिपय विद्यालयमा अहिले भएका संरचनालाई सुधार गर्न पनि सकिन्छ । सजावटका सामाग्री, गमला दृष्टिबिहीन विद्यार्थी र शिक्षक ओहोरदोहोर गर्ने ठाउँमा राख्नु हुदैन । दृष्टिबिहीनलाई पढाउने कोठा सकेसम्म भर्याङ चढेर अर्को तलामा जान नपरोस् । यति गर्न सकियो भने पनि अपाङ्गता भएका विद्यार्थी विद्यालयमा गएर पढ्न सक्छ । 

अपाङगता दिवसका सन्दर्भमा दृष्टिबिहीन शिक्षक को अनुभव 


 

प्रतिक्रिया