Edukhabar
सोमबार, ०७ जेठ २०८१
खबर/फिचर

माध्यमिक तहका नौ विषयमा चार सय ३६ पदमा विज्ञापन

सबै भन्दा धेरै विज्ञान र गणितका शिक्षकको पद रिक्त, तेश्रोमा अँग्रेजी र चौथोमा सबै भन्दा धेरै रिक्त पद नेपालीका शिक्षकको

आइतबार, ०८ पुस २०८०

भक्तपुर - माध्यमिक तहमा सबै भन्दा धेरै विज्ञान र गणितका शिक्षकको पद रिक्त भएको छ । तेश्रोमा अँग्रेजी र चौथोमा सबै भन्दा धेरै रिक्त पद नेपालीका शिक्षकको छ ।  शिक्षक सेवा आयोगले आईतबार खोलेको माध्यमिक तहको शिक्षक विज्ञापनमा उल्लेख पदहरुले विज्ञापनले उक्त तथ्य देखाएको हो । 

आगामी तीन महिना पछि अर्थात् चैत तीन गते लिखित परीक्षा गर्ने गरी आयोगले सातै प्रदेशका लागि चार सय ३६ पदमा विज्ञापन खोलेको छ । जसमा सबै भन्दा धेरै विज्ञानमा एक सय २४ र गणितमा ८५ पदका लागि विज्ञापन भएको छ । यसैगरी अँग्रेजीमा ७९, नेपालीमा ६७, सामाजिकमा ५३, लेखामा १५ शिक्षकका लागि आयोगले विज्ञापन खोलेको छ । अर्थशास्त्रमा सात, संस्कृत र कम्प्युटर विज्ञानमा तीन तीन जनाका लागि विज्ञापन खोलेको आयोगले जनाएको छ । 

सामाजिकमा सुदरपश्चिम प्रदेश बाहेकका लागि, अर्थशास्त्रमा कोशी, मधेस र गण्डकीका लागि, लेखामा बागमती, गण्डकी, लम्बिनी र सुदुरपश्चिमका लागि मात्रै विज्ञापन खोलेको आयोगले जनाएको छ । यसैगरी संस्कृत ब्याकरणमा कोशी र गण्डकी र कम्प्युटर विज्ञानमा कोशी, मधेश र गण्डकीका लागि मात्रै विज्ञापन खोलेको आयोगले जनाएको छ । 

माघ आठ गते सम्म दरखास्त दिने मिति तय गरिएको छ । आयोगको अनलाईन दरखास्त प्रणालीबाट शुल्क र फारम सबमिट गर्नु पर्ने छ । 

लिखित परीक्षा एकै दिन एकै समयमा सबै प्रदेशमा हुने भएकोले कुनै पनि उम्मेद्वारले एक प्रदेश र एक विषयमा मात्रै दरखास्त दिन सक्ने छन् । खुला र समावेशी समूहहरुको उम्मेद्वार टनौट एउटै परीक्षा मार्फत् हुने आयोगले जनाएको छ । 

विज्ञापन प्रकाशन भएको २१ दिन भित्र पद संख्या थपघट गर्न सम्बन्धित निकायबाट माग भई आएमा सो पद संख्याले समावेशप् समूहमा असर नपार्ने भएमा मात्रे समावेशी समुहमा थपघट हुन सक्ने आयोगले जनाएको छ । 

यस अघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चार सय ३५ जना मावि शिक्षकको रिक्त दरबन्दी आयोगलाई बुझाएको थियो । केन्द्रले बुझाएको दरबन्दीमा सबैभन्दा बढी एक सय २३ जना विज्ञान विषयका शिक्षक थिए, नेपालीको ७०, अङ्ग्रेजीको ७८, गणितको ८८,सामाजिकको ४८ र अन्य ऐच्छिक विषयको २८ जनाको दरबन्दीको विवरण केन्द्रले आयोगलाई बुझाएको थियो । 

गत वर्ष पुस २५ मा माध्यमिक तहको विज्ञापन भएको थियो । गत वर्ष ७ सय ५३ जनाको विज्ञापन भएको थियो । यस वर्ष झण्डै तीन सयले घटेको छ । 

विगतमा सामुदायिक विद्यालयका शिक्षकको अवकाश भए पनि बेलैमा विज्ञापन नहुँदा शिक्षक व्यवस्थापन समस्या थियो । पछिल्लो केही वर्षयता हरेक वर्ष विज्ञापन हुन थालेपछि रिक्त हुने बित्तिकै प्रतिस्पर्धाबाट छनौट भएका योग्य शिक्षकले पढाउने अवसर पाएका छन् ।

प्रतिक्रिया