Edukhabar
सोमबार, ०७ जेठ २०८१
खबर/फिचर

राजनीतिक दलको सदस्य नभएकाले मात्रै दरखास्त दिन पाउने [कार्यविधि सहित]

कुनै स्वार्थ नबाझिएको व्यहोरा खुलेको स्वघोषणा पत्र पेश गर्नु पर्ने, कुनै कलेजमा शेयर भएको व्यक्ति पनि उम्मेदवार हुन योग्य हुने छैन ।

सोमबार, २३ पुस २०८०

काठमाडौं - कुनै पनि  राजनीतिक दलको सदस्य नभएको व्यक्ति मात्रै त्रिभुवन विश्वविद्यालयको उपकुलपति हुने गरी मापदण्ड तयार पारिएको छ । प्राध्यापक भएका जो सुकैले आवेदन दिन पाउने भएका छन् । यस अघिको मापदण्ड सच्याउँदै प्राध्यापक भएर प्रशासनिक र व्यवस्थापकीय पदमा अनुभव हासिल गरेका व्यक्तिले उपकुपतिको लागि आवेदन दिन सक्ने नयाँ मापदण्ड तय गरिएको हो ।  

उपकुलपतिको उम्मेदवारले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा पत्र समेत पेश गर्नु पर्ने हुन्छ । 

मापदण्डमा भनिएको छ,‘प्रचलित कानुन बमोजिम सार्वजनिक पदमा नियुक्तिका लागि अयोग्य नभएको र हात कुनै राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा पत्र पेश गर्नु पर्नेछ ।’ 

शिक्षा मन्त्री अशोक कुमार राई संयोजक रहेको उपकुलपति सिफारिस समितिले बनाएको नयाँ मापदण्डमा स्नातकोत्तर र सो भन्दा माथिल्लो तहको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि,प्राध्यापक पदमा नियुक्त भएको नियुक्ति पत्रको प्रतिलिपि, विश्वविद्यालय, प्रतिष्ठानको पदाधिकारी वा कुनै स्वदेशी वा विदेशी विश्वविद्यालय वा सो सरहका उच्च शैक्षिक संस्था वा निकायको प्रशासनिक वा व्यवस्थापकीय पदमा अनुभव हासिल गरेको भए सो खुलेको विवरण तथा प्रमाणको प्रतिलिपि पेश गर्नु पर्ने उल्लेख छ । यस बाहेक प्राज्ञिक अनुसन्धानमूलक परियोजनाहरू सफलतापूर्वक सम्पन्न गरेको भए त्यसको विवरण पनि पेश गर्नु पर्ने हुन्छ । 

उच्च शिक्षाको क्षेत्रमा प्राध्यापन गरे बापत प्राध्यापक पदमा काम गरेको भए प्रति वर्ष दुई अंकका दरले अधिकतम १० अंक पाउने भएका छन् । एक वर्ष भन्दा कम महिनाको भने गणना नहुने प्रावधान बनाइएको छ । प्राध्यापक हुनेले १० अकं, विद्यावारिधिको उपाधि प्राप्त व्यक्तिले पाँच अंक, स्वदेशी वा विदेशी विश्वविद्यालय वा प्रतिष्ठानको पदाधिकारीको अनुभव हासिल गरेकामा चार अंक, प्राज्ञिक एवं अनुसन्धानमुलक एउटा पुस्तक लेखी प्रकाशन गरेबापत पाँच अंक, प्राज्ञिक अनुसन्धानमुलक परियोजना सम्पन्न गरे बापत ६ अंक दिने प्रावधान बनाइएको छ । विश्वविद्यालय सम्बन्धी सोचपत्र र चार वर्षे कार्ययोनाको ३५, प्रस्तुतीकरण बापत २० र अन्तरवार्ताबाट १५ अंक दिने प्रावधान भएको कार्यविधि बनाइएको छ ।

त्यस्तै ३ हजार शब्दमा विश्वविद्यालय सम्बन्धी सोचपत्र र ५ हजार शब्दमा विश्व विद्यालय सम्बन्धी चार वर्षे व्यावसायिक कार्ययोजना पनि पेश गर्नु पर्ने हुन्छ । 

त्यस्तै त्रिभुवन विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको व्यहोरा खुलेको स्वघोषणा पत्र पेश गर्नु पर्ने हुन्छ । यस अनुसार विश्वविद्यालयबाट सम्बन्धन लिएको कुनै कलेजमा शेयर भएको व्यक्ति पनि उपकुलपतिको उम्मेदवार हुन योग्य हुने छैन । नेपाली नागरिक भने हुनै पर्नेछ ।

यस अघि खकुलो मापदण्ड बनाएर दरखास्त आह्वान गरिएको भन्दै व्यापक आलोचना भए पछि उक्त सूचना रद्ध गरी सोमबार विहान मापदण्ड गोप्य राखेर नयाँ सूचना सार्वजनिक गरिएको थियो । 

कार्यविधि हेर्नुहोस् 


 

प्रतिक्रिया