Edukhabar
सोमबार, ०७ जेठ २०८१
खबर/फिचर

मावि शिक्षक विज्ञापनमा ४६ गुणा बढीको आवेदन

एकै दिन ३ हजार १ सय ६१ जनाले आवेदन दिएका छन् ।

विहीबार, ०४ माघ २०८०

काठमाडौं-माध्यमिक तहको शिक्षकको खुला प्रतिस्पर्धामा भाग लिन चार दिन बाँकी हुँदा नै ४६ गुना भन्दा बढीले आवेदन दिएका छन् । 

शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी पदको खुला प्रतियोगितात्मक परीक्षाको पुस ८ मा गरेको विज्ञापनमा बिहीबार मध्यान्हसम्म माग गरेको भन्दा ४६ गुणा भन्दा बढी आवेदन परेको हो । ४ सय ४२ जनाको लागि विज्ञापन गरेकोमा २१ हजार १ सय ३४ जनाको आवेदन परिसकेको आयोगका प्रवक्ता सुदर्शन मरहट्ठाले बताए । दोब्बर दस्तुर बाहेक आवेदन दिने अवधि अझै चार दिन बाँकी छ ।  दोब्बर दस्तुर तिरेर माघ १५ सम्म आवेदन दिन सकिन्छ ।

‘पछिल्लो केही दिनयता तीन हजारसम्मले आवेदन दिएका छन्,’उनले भने । मङ्गलवार २ हजार ३ सय १ जनाले आवेदन दिएकोमा बुधवार ३ हजार १ सय ६१ जनाले आवेदन दिएका छन् । विगतको जस्तै यसपालि पनि सीमित पदको लागि बढीले नै आवेदन दिइरहेकोले प्रतिस्पर्धा हुने सम्भावना बढेको उनले बताए । 

चैत तीन गते लिखित परीक्षा गर्ने गरी आयोगले सातै प्रदेशका लागि ४ सय ४२ पदमा विज्ञापन खोलेको थियो । सबै भन्दा धेरै विज्ञानमा एक सय २५ र गणितमा ८६ पदका लागि विज्ञापन भएको छ । यसै गरी अङ्ग्रेजीमा ८०, नेपालीमा ६८, सामाजिकमा ५४, लेखामा १६ शिक्षकका लागि आयोगले विज्ञापन खोलेको छ । अर्थशास्त्रमा सात, संस्कृत र कम्प्युटर विज्ञानमा तीन तीन जनाका लागि विज्ञापन खोलेको आयोगले जनाएको छ । आयोगले पुस ९ मा निकालेको विज्ञापनमा ४ सय ३६ पदको लागि भए पनि संशोधन गरेर ४ सय ४२ पुर्याएको  हो । कोशीमा ६ वटा पद थप भएको हो । 

 

प्रतिक्रिया