Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

४१ जिल्लामा ५० प्रतिशत विद्यार्थी पनि पुगेनन् कक्षा १०

विद्यार्थी बिचैमा कहाँ हराए ? प्रश्नको उत्तर चाँहि अझै भेटाउन सकिएको छैन, विद्यार्थी कति कक्षामा हराउँछन् ? खोजीको विषय हो । सरसर्ती हेर्दा कक्षा ८ मा धेरै हराउँछन् । कक्षा आठबाटै माथि जाँदैनन् ।

मंगलबार, १३ चैत्र २०८०

काठमाडौं –४१ जिल्लामा कक्षा १ मा भर्ना भएका ५० प्रतिशत विद्यार्थी पनि १० कक्षाको अन्तिम परीक्षा सम्म पुगेका छैनन् । १० वर्ष अघि २०७० मा कक्षा १ मा भर्ना भएका विद्यार्थीले आउँदो बिहीबार अर्थात् चैत १५ देखि हुने कक्षा १० को अन्तिम परीक्षा एसईई दिँदै छन् । फ्लास रिपोर्ट अनुसार १० वर्ष अघि २०७० मा कक्षा १ मा नौ लाख ४८ हजार दुई सय ९४ जना विद्यार्थी भर्ना भएका थिए । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार पाँच लाख चार हजार चार सय १४ विद्यार्थीले रजिष्ट्रेशन फारम भरेका छन् । अझ परीक्षा आवेदन फारम भर्ने चार लाख ७५ हजार एक सय ३४ मात्रै छन् । कक्षा १ मा भर्ना भएका विद्यार्थी संख्याको ५३.१९ प्रतिशत परीक्षा दिन योग्य छन् । परीक्षा आवेदन फारम भर्नेको संख्या भने ४ लाख ७५ हजार एक सय ३४ विद्यार्थी मात्रै छन् । यसलाई आधार मान्ने हो भने भर्ना भएका मध्ये ५० प्रतिशत मात्रै १० कक्षाको अन्तिम परीक्षा दिँदै छन् ।

समग्रमा हेर्दा कक्षा १ मा भर्ना भएका विद्यार्थी मध्ये चार लाख ४३ हजार आठ सय ८० विद्यार्थी कक्षा १० को परीक्षामा सहभागि नहुने भएका छन्् । भर्ना भएर बिचमै हराउने विद्यार्थी सबै भन्दा बढी मधेश प्रदेशको बारा जिल्लाका छन् । प्रदेशगत रुपमा हेर्दा भर्ना भएका मध्ये कक्षा छाड्ने सबैभन्दा बढी विद्यार्थी कोशी प्रदेशको ताप्लेजुङ र खोटाङमा छन् । त्यस्तै मधेश प्रदेशको बारा सहित सर्लाही, महोत्तरी, रौतहट, पर्सा, वाग्मती प्रदेशको सिन्धुपाल्चोक, गण्डकीको मनाङ, लुम्बिनीको रोल्पा, गुल्मी, रुकुम पूर्व, प्यूठान, कपिलवस्तु, कर्णालीको रुकुम पश्चिम, हुम्ला, जाजरकोट देखिन्छ । त्यस्तै सुदुरपश्चिमको डोटी, अछाम, बझाङ, बाजुरा, बैतडी लगायतको जिल्ला सबैभन्दा बढी विद्यार्थी कक्षा छाड्नेमा देखिन्छन् । 

खासमा यी जिल्लामा बढी विद्यार्थी किन माथिल्लो कक्षामा पुग्दैनन् ? जाजरकोट र कालिकोटमा अध्ययन गर्दा १२ वर्ष कटाउन मात्रै विद्यालयमा आइरहेका विद्यार्थी फेला परेको शिक्षाविद् डा. बिष्णु कार्कीले बताए । 

‘१२ वर्ष पछि भारतमा जान्छन् । कुनै कारणले भारत गएन भने उ माथि प्रश्न उठ्छ । किन गएन भनेर हल्लाखल्ला हुन थाल्छ’ कार्कीले भने,‘सामाजिक नियमले बस्नै दिँदैन । भारत जाने साथीले मोबाइल हातमा बोकेर फर्केको हुन्छ । लवाइखवाई नै फरक हुन्छ । हाम्रो आर्थिक, समाजिक र  शिक्षाको प्रणालीकै कारण यी जिल्लाका विद्यार्थी बीचमै छाड्न बाध्य छन् ।’ 

रजिष्ट्रेशन फारम भरेको आधारमा भर्ना भएका ५२ दशमलब ४६ प्रतिशत छात्रा र ५३ दशमलब ९२ प्रतिशत छात्र कक्षा १० को परीक्षा दिन योग्य भएका छन् ।  कक्षा १ मा चार लाख ७७ हजार नौ सय ५५ छात्रा भर्ना भएकोमा यसपाली १० कक्षाको परीक्षा दिन योग्य दुई लाख ५० हजार सात सय ७२ जना छन् । त्यस्तै छात्र तर्फ कक्षा एकमा चार लाख ७० हजार तीन सय ३९ भर्ना भएकोमा कक्षा १० पढ्ने दुई लाख ५३ हजार छ सय २७ विद्यार्थी मात्रै छन् । 

०७० मा कक्षा १ मा भर्ना भएका यस पाली ५० प्रतिशतले एसईई दिने अवस्थामा पुग्नु ठुलो भएको कार्कीको भिन्न विश्लेषण पनि छ । ०७० को एसएलसी दिन योग्यता पुगेका ३० प्रतिशत मात्रै रहेकोमा पछिल्लो १० वर्षमा अर्को २० प्रतिशत बढ्नु सकारात्मक रहेको उनको तर्क छ । 

०६०  सालमा कक्षा १ मा १३ लाख ६१ हजार सात सय ३१ विद्यार्थी भर्ना भएकोमा ०७० मा भएको एसएलसी परीक्षामा चार लाख  १९ हजार तीन सय ५२ जनाले मात्रै परीक्षा दिएका थिए । त्यो एक दशकमा नौ लाख ४२ हजार तीन  सय ७९ अर्थात ६९ दशमलव २० प्रतिशत विद्यार्थी बीचैमा हराएका थिए । 

‘एसईई खारेज गरौं भनेर यत्तिकै भनेको होइन । परीक्षा त पैसा उठाउनकै लागि लिइरहेका छन्, पढाउने काम नगर्ने, परीक्षा मात्रै लिने । परीक्षाको हौवाले गर्दा विद्यार्थी छोड्छन् । यसलाई सहज बनाउनै सकेनौं ।’ 

‘कक्षा १ मा भर्ना भएका विद्यार्थी ५० प्रतिशत पुग्नु उपलब्धी हो । १० वर्ष अघिको तुलनामा सुधार हो । विद्यार्थी बिचैमा कहाँ हराए भन्ने प्रश्नको उत्तर चाँहि अझै भेटाउन सकिएको छैन’ कार्कीले भने, ‘विद्यार्थी कति कक्षामा हराउँछन् ? खोजीको विषय हो । सरसर्ती हेर्दा कक्षा ८ मा धेरै हराउँछन् । कक्षा आठबाटै माथि जाँदैनन् ।’ 

घरको आर्थिक अवस्थाकै कारण १४ वर्ष पुगे पछि कामको खोजीमा छिमेकी मुलुक र गाउँमै काम गर्नको लागि पढाई छाड्ने गरेको उनले बताए । तह ैपिच्छे लिने परीक्षाबाट दिक्क भएर पनि विद्यार्थी माथिल्लो कक्षाबाट भाग्ने गरेको उनको बुझाई छ । 

‘एसईई खारेज गरौं भनेर यत्तिकै भनेको होइन । परीक्षा त पैसा उठाउनकै लागि लिइरहेका छन्,’उनले भने,‘ पढाउने काम नगर्ने, परीक्षा मात्रै लिने । परीक्षाको हौवाले गर्दा विद्यार्थी छोड्छन् । यसलाई सहज बनाउनै सकेनौं ।’ 

०७० सालको फ्लास रिपोर्टमा कक्षा १ मा भर्ना भएका जिल्ला अनुसार विद्यार्थी विवरण र अहिले परीक्षा दिदै गरेका हरेक जिल्लाको विद्यार्थीको तथ्याङकलाई हामीले भिडाएर हेर्दा १० कक्षासम्म कम विद्यार्थी पुग्ने जिल्लामा मधेश प्रदेशको बारा देखिएको छ । ०७० मा बारामा ४५ हजार ४ सय ४७ विद्यार्थी भर्ना भएका थिए । उनीहरु मध्ये कति जनाले चैत १५ देखि हुने १० कक्षाको परीक्षा दिँदै छन् भनेर केलाउँदा १० हजार ६४ जना मात्रै परीक्षा दिदै छन् । यो संख्या भर्ना भएका विद्यार्थीको कुल संख्याको ७८ दशमलब १८ प्रतिशत विद्यार्थी बिचैमा हराएका छन् । यसरी हराउनेमा यही जिल्लामा छात्रा र छात्र दुबै उत्तिकै छन् । छात्रा २२ प्रतिशत पुगेका छन भने छात्र २१ प्रतिशत मात्रै १० कक्षासम्म पुगेका छन् । 

मध्ये प्रदेशको बारामा जस्तै सुदुरपश्चिमको डोटीमा पनि भर्ना भएका मध्ये करिब २८ प्रतिशतले मात्रै १० कक्षाको अन्तिम परीक्षा दिँदै छन् । डोटीमा ०७० मा कक्षा १ मा १२ हजार ३ सय ५७ जना भर्ना भएकोमा यसपाली एसईई दिने विद्यार्थी ३ हजार ४ सय १५ विद्यार्थी सहभागि हुन योग्य छन् । डोटीमा ७१ दशमलब २७ प्रतिशत विद्यार्थीले बीचैमा पढाई छाडेको तथ्याङक छ । यहाँ पनि भर्ना भएका मध्ये २७ प्रतिशत छात्रा र २६ प्रतिशत छात्र मात्रै १० कक्षासम्म पुगेका हुन् ।  मधेश प्रदेशकै सर्लाही अर्को विद्यार्थी बीचैमा छाड्ने जिल्लाको रुपमा देखिएको छ । जहाँ भर्ना भएका मध्ये ७२ प्रतिशत विद्यार्थी १० कक्षामा पुग्नै सकेका छैनन् । 

पहाडी जिल्ला ताप्लेजुङमा पनि भर्ना भएका विद्यार्थी मध्ये २९.५९ प्रतिशतले मात्रै यसपाली एसईई दिँदै छन् । कक्षा १ मा ६ हजार ८ सय ६७ जनाले भर्ना गरेकोमा यसपाली एसईई दिने दुई हजार ३२ जना मात्रै छन् । 

५० प्रतिशत पनि विद्यार्थी १० कक्षा नपुग्ने जिल्लामा काठमाडौं उपत्यकासंग सिमा जोडिएको धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक पनि रहेका छन् । 

शिक्षा मन्त्रालयका सहसचिव डा. भोजराज काफ्लले गरिबी, जनचेतनाको कमीकै कारण विद्यालय तह पुरा गर्ने विद्यार्थी बढ्न नसकेको बताए । ‘सुदुरपश्चिम, कर्णाली र मधेश प्रदेशका विद्यार्थीले विद्यालय तह पुरा नगरी बिचमै छाड्ने गरेको देखिन्छ,’उनले भने,‘कम उमेरमा विवाह गरेर गएपछि पढाई छाड्ने गरेको देखिन्छ । कक्षा १ मा भर्ना भएका ५० प्रतिशत विद्यार्थी पनि १० कक्षामा नपुग्ने चित्र डर लाग्छ । यसलाई बढाउन राज्यको पनि ध्यान जानु पर्छ । हाम्रो सिष्टम बाहिर बाहिर मात्रै छ । भित्र पुग्नै सकेको छैन । हाम्रो योजनाले उनीहरुलाई समेटन् सकेनौ ।’ 

४१ जिल्लाको विस्तृत विवरण 

जिल्ला

 २०७० सालमा कक्षा १ मा भर्ना भएका कूल विद्यार्थी   

कक्षा १० मा पुगेका कूल विद्यार्थी 

घटेको प्रतिशत 

बारा  45447

10064

78.18
ताप्लेजुङ 6867 2032 72.71
सर्लाही  41582 11697 72.24
डोटी  12357 3419 71.27
खोटागं  9489 3230 66.35
अछाम 16713 5540 65.74
महोत्तरी  30149 10020 65.47
बझाङ् 13530 4647 65.40
मनाङ 116 42 65.38
रोल्पा  11402 4192 65.10
सिन्धुपाल्चोक 10463 3883 64.66
रौतहट  28556 9945 64.50
सोलुखुम्बु 4456 1760 63.80
रुकुम  13294 4764 63.61
बाजुरा 8136 3121 62.48
सल्यान 11747 4949 62.23
रसुवा  1486 619 61.76
पर्सा  26900 10093 61.50
बैतडी  14188 5584 61.04
जाजरकोट  12658 4992 60.98
दैलेख  13896 5758 60.39
प्यूठान  10269 4307 60.26
मकवानपुर  13890 6494 59.80
सिन्धुली  13449 5558 59.74
तेह्रथुम  3667 1450 59.29
गुल्मी  10228 4255 58.61
कालिकोट  9484 3880 58.50
अर्घाखाँची 7079 3161 57.69
कपिलवस्तु 23560 9903 57.01
हुम्ला 3085 1209 56.95
दोलखा 6493 2833 55.79
भोजपुर 6228 2816 55.77
रामेछाप  6240 2937 55.58
बाग्लुङ 10385 4682 54.36
ओखलढुङ्गा 5408 2518 54.24
जुम्ला 6337 2667 53.47
धादिङ 10760 5312 52.98
मुगु 2666 1174 52.42
डोल्पा  1684 745 52.31
नुवाकोट  8829 4350 52.28
बाँके 21460 10000 50.45

 

प्रतिक्रिया