Edukhabar
शुक्रबार, २८ बैशाख २०८१
खबर/फिचर

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा १७ जनाको मात्रै दर्खास्त स्वीकृत

आइतबार, १८ चैत्र २०८०

काठमाडौँ– पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिको लागि भएको खुला विज्ञापनमा आवेदन दिएका मध्ये एक जनाको दर्खास्त अस्वीकृत भएको छ । 

शिक्षामन्त्री संयोजक रहेको उपकुलपति छनोट समितिले आइतबार १७ जनाको मात्रै नाम सार्वजनिक गरेर विश्वविद्यालयको सोचपत्र र चार वर्षे व्यावसायिक योजना प्रस्तुतीकरणको लागि आव्हान गरेको छ । 

खुला विज्ञापनमा १८ जनाले दर्खास्त दिएका थिए । दर्खास्त दिएका मध्ये शुभनारायण पाठक, अनिल कुमार पोखरेल, जीवनकुमार ढकाल, अशोक कुमार झा, गुरुप्रसाद खनाल, प्रमोदकुमार झा, बिजु कुमार थपलिया, विनोद पराजुली, देवी प्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटुवाल, उमेश कोइराला, संजेश प्रसाद कोइराला, राजकुमार पोखरेल, रेसम बहादुर थापा, रमेश प्रसाद भट्टराई र महेशराज दाहालको नाम स्वीकृत भएको छ । वालिङ ११ स्याङजाका तोय नारायण पौडेलको दर्खास्त अस्वीकृत भएको हो । उनको दर्खास्त अस्वीकृत हुनुको कारण भने खुलाइएको छैन । 

दर्खास्त स्वीकृत भएकाहरूले चैत २७, २८ र २९ मा सोचपत्र र व्यावसायिक कार्य योजना प्रस्तुत गर्नु पर्ने हुन्छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा यादवप्रसाद कोइरालाको फागुन १९ मा कार्यकाल सकिनु अघि नै माघको २३ मा विज्ञापन भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वाञ्चल विश्वविद्यालयमा चिकित्सा संकायका डीन शैलेषमणि पोखरेललाई निमित्त उपकुलतिको जिम्मेवारी दिएको छ । 

विज्ञापन भएको दुई महिना पनि उपकुलपति छनोट हुन सकेको छैन । कोइरालाको कार्यकाल सकिएपछि प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले निवर्तमान शिक्षामन्त्री अशोक राईको संयोजकत्वमा सिफारिस समिति गठन गरेका थिए । सर्टलिष्ट निकाल्ने अन्तिम चरणमा पुगेको बेला सत्ता समीकरण परिवर्तन भएपछि प्रक्रिया रोकिएको थियो । प्रधानमन्त्री दाहालले नयाँ शिक्षामन्त्री सुमना श्रेष्ठलाई उपकुलपति छनोट समितिको संयोजकको जिम्मेवारी दिएसँगै प्रक्रिया अघि बढाएकी हुन् । 

छनोट समितिले उपकुलपति हुनको लागि प्राध्यापक पदमा काम गरेको अनुभवलाई पहिलो प्राथमिकतामा राखिएको छ । उच्च शिक्षाका क्षेत्रमा प्राध्यापन गरे बापत प्राध्यापक पदमा काम गरेको प्रति वर्ष २ अंकका दरले बढीमा १० अकंसम्म दिने प्रावधान राखिएको छ । त्यस्तै विद्यावारिधि उपाधिलाई ५ अंक, स्वदेशी वा विदेशी विश्वविद्यालयमा प्रतिष्ठानको पदाधिकारीको अनुभव भएमा चार अंक, प्राज्ञिक अनुसन्धानमूलक परियोजनाहरू सम्पन्न गरेको भएमा ६ अंक दिने कार्यविधि बनाइएको छ 

त्यस्तै विद्यालय सम्बन्धी सोच पत्र र चार वर्षे व्यावसायिक कार्य योजना बापत ३० अंक दिने कार्यविधिमा उल्लेख छ । यसमा पनि सोच पत्रको लागि १० र बिजनेस प्लानलाई २० अकं छुटाइएको छ । त्रिविको कार्यविधिमा सोच पत्र र ४ वर्षे योजनाको लागि ३० अंक मात्रै थियो । प्रस्तुतीकरणमा २० अंक र अन्तरवार्तालाई १५ अंक छुट्ट्याइएको छ । 

 

प्रतिक्रिया