Edukhabar
शुक्रबार, २८ बैशाख २०८१
खबर/फिचर

दबाबमा त्रिविका उपकुलपति

रेक्टर रजिष्ट्रार नियुक्ति नहुँदा प्रशासनिक र शैक्षिक कार्यक्रम कार्यान्वयनमा समेत असर परेको छ । उपकुलपति निकट स्रोत भन्छ ‘आफ्नो टिम आँफै बनाउन सरकारले साथ दिएन भने राजिनामा दिने मुड बनाउनु भएको छ ।’

आइतबार, १८ चैत्र २०८०

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको रेक्टर र रजिष्ट्रारमा आफ्नो दल निकटका व्यक्तिलाई नियुक्ति गर्नु पर्ने भन्दै सत्ताधारी मुख्य दलका भात्रृसँगठनका नेताहरुले उपकुलपति प्रा.डा. केशरजंग बराललाई दबाब दिन थालेका छन् । विद्यार्थी संघ÷संगठनले गुण्डागर्दी शैलीमा आफ्नो पार्टी निकटका प्राध्यापकलाई रेक्टर र रजिष्ट्रार नबनाए असहयोग गर्ने भन्दै दबाब दिएका हुन् । 

रजिष्ट्रारमा एमाले समर्थित प्रगतिशिल प्राध्यापक संगठनको अध्यक्ष बेदराज केसीलाई रजिष्ट्रार बनाउनु पर्ने विद्यार्थी नेताहरुले दबाब दिएको स्रोतले जनाएको छ । रेक्टर र रजिष्ट्रार छनोटकै कारण देखाएर सुरक्षा चुनौती बढेको भन्दै उपकुलपति बरालले प्रहरी प्रधान कार्यालयबाट सुरक्षा गार्ड (पिएसओ) समेत लिएका छन् । 

‘उनीहरु मध्ये निश्चित व्यक्तिलाई रेक्टर र रजिष्ट्रार बनाउन दबाब दिने र सुरक्षा चुनौती भएपछि सुरक्षा गार्ड लिनु भएको हो’ त्रिवि स्रोतले भन्यो । 

बराल उपकुलपति भएपछि कसैको हस्तक्षेप बिना आफ्नो टिम बनाउने गरी योग्य व्यक्ति हुनु पर्ने सर्तमा आफ्नो निुयक्ति भएको बताएका थिए । उपकुलपतिले चैत ६ मा सूचना निकालेर एक साता भित्र रेक्टर र रजिष्ट्रारको लागि प्राध्यापकहरुसंग बायोडाटा माग गरेका छन । त्रिवि स्रोतका अनुसार रजिष्ट्रारमा ६० भन्दा बढी र रेक्टरमा ३० भन्दा बढीले आवेदन दिएका छन् । आवेदन दिएका मध्ये दुई जनाको नाम सिफारिस भइसकेको त्रिविका कर्मचारीहरु बताउँछन् । उपकुलपतिले दुवै पदमा कसलाई सिफारिस गरेका छने ? भन्ने गोप्य राखिएको छ । 

अन्तराष्ट्रिय सम्बन्धन विभागका प्राध्यापक खड्ग केसी, जलवायु विभागका प्राध्यपक दिपक अर्याल, व्यवस्थापनका डीन डिल्लीराज शर्मा, वातावरण विज्ञानका प्राध्यापक केदार रिजाल, याजना निर्देशनालयका कार्यकारी निर्देशक ध्रुवकुमार गौतम, प्रा. गोविन्द सुवेदी मध्येबाट नियुक्ति दिने गरी उपकुलपतिले नाम सिफारिस गरेको त्रिविका कर्मचारी र प्राध्यापकहरुले अनुमान गरेका छन् । सिफारिस भएकोमा एउटा पदमा एक जना मात्रै छन् कि दुई जना छन् भन्ने पनि यकिन भएको छैन । 

उपकुलपतिले अन्तराष्ट्रिय सम्बन्ध विभागका प्राध्यापक केसीलाई रेक्टर बनाउन चाहेको त्रिविका कर्मचारीहरु बताउँछन् । 

‘भीसी सरले खडग सरलाई रेक्टर बनाउन चाहनु भएको छ तर, एमालेका विद्यार्थी र अरु संगठनले भने प्रगतिशिल प्राध्यापक संगठनका अध्यक्षलाई रजिष्ट्रार बनाउन दबाब दिइरहेका छन’ त्रिविका एक प्राध्यापकले भने । उपकुलपति बरालले कुनै पनि पार्टीको संघ संगठनमा खुलेर लागेकालाई कुनै पनि पदमा राख्न नहुने अडान लिएको स्रोतले जनाएको छ । 

दलको भाृत संगठनका दवदवा र दबाबकै कारण त्रिविको रजिष्ट्रार र रेक्टरको पदमा उपकुलपतिलाई निष्पक्ष भएर निर्णय गर्न समस्या भएको छ । त्यसैको असर विश्वविद्यालयमा रेक्टर र रजिष्ट्रार निमित्तको भरमा काम चलाइरहेको छ । विश्वविद्यालयमा परीक्षा प्रणालीमै प्रश्न उठेको छ । विश्वविद्यालयको जग्गा अरुले हडपेको विषयको चौतर्फी आलोचना भइरहेको छ  तर, रेक्टर र रजिष्ट्रार नियुक्ति हुन नसक्दा उपकुलपति एक्लैले निर्णयमा आँट गर्न सकेका छैनन् । 

उपकुलपतिले जुुन नाम सिफारिस गरेका छन् त्यसमा सरकारले साथ नदिएमा राजिनामा नै दिने सम्मको योजनामा रहेको स्रोतको दावी छ । ‘प्रधानमन्त्रीसंग नियुक्ति लिँदा नै जुन कमिटमेन्ट गर्नु भएको छ । त्यो पुरा हुनेमा उहाँ ढुक्क हुनुहुन्छ,’ बराल निकट स्रोतले भन्यो, ‘आफ्नो टिम आँफै बनाउन सरकारले साथ दिएन भने राजिनामा दिने मुड बनाउनु भएको छ ।’

प्रतिक्रिया