Edukhabar
मंगलबार, १८ बैशाख २०८१
खबर/फिचर

एडुखबर समाचार प्रभाव : 'अवैध आईबी'मा भर्ना नगर्न शिक्षा मन्त्रालयको आग्रह

सरकारको स्वीकृति विना नेपालका केही विद्यालयले स्विजरल्याण्डको आईबी कार्यक्रम सञ्चालन गरेको विषयलाई 'अवैध आईबी' शिर्षकमा एडुखबरले समाचार प्रकाशन गरेको भोलिपल्ट मन्त्रालयले उक्त आग्रह गरेको हो ।

शुक्रबार, २३ चैत्र २०८०

काठमाडौं -  शिक्षा मन्त्रालयले आईबी कार्यक्रमका नाममा सञ्चालन भएका विद्यालयमा छोराछोरी भर्ना नगर्न आग्रह गरेको छ ।  सरकारको स्वीकृति विना नेपालका केही विद्यालयले स्विजरल्याण्डको आईबी कार्यक्रम सञ्चालन गरेको विषयलाई 'अवैध आईबी' शिर्षकमा एडुखबरले समाचार प्रकाशन गरेको भोलिपल्ट मन्त्रालयले उक्त आग्रह गरेको हो । उक्त समाचारमा ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले  शुक्रबार सूचना जारी गरेको छ । 

शिक्षा मन्त्रालयबाट युलेन्स स्कूल र प्रिमियर स्कूलले ११ र १२ मा आईबी डीपी कार्यक्रमको मात्रै अनुमति लिएका छन् । यस बाहेक अरु कुनै पनि विद्यालयले आईबी कार्यक्रमको अनुमति लिएका छैनन् । प्रिमियरले ११ र १२ को अनुमति लिएर कक्षा १ देखि १० सम्म आईबी कार्यक्रम सञ्चालन गरिरहेको छ ।

त्यस्तै काठमाडौं तीनकुनेको ह्वाइट हाउस, टोखाको काठमाडौं युरो स्कूल, सानो भर्याङको स्वस्तिश्री गुरुकुलले अवैैध रुपमा आईबी कार्यक्रम सञ्चालन गरिरहेका छन् । त्यस्तै ललितपुर एकान्तकुना स्थित माछापुच्छ्रे स्कूल, जिनियस स्कूल र पोखराको फिष्टेल एकाडेमीले अवैध रुपमा आईबी सञ्चालन गरेका छन् । यी विद्यालयले सञ्चालन गरेको आईबी कार्यक्रम कानुन विपरीत भएको भन्दै कारवाहीको दायरामा ल्याउनु पर्ने मन्त्रालयले जनाएको छ । 

सूचनामा भनिएको छ,‘मन्त्रालयको अनुमति विना सञ्चालन भइरहेको भनी विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार प्रति यस मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ ।’ 

आईबी कार्यक्रम सञ्चालन अनुमति नै प्राप्त नगरी सञ्चालन भएका संस्थामा आफ्ना बालबालिका भर्ना नगर्न मन्त्रालयले आग्रह गरेको छ । 

‘सञ्चालन अनुमति नै प्राप्त नगरी सञ्चालनमा रहेका कलेज/शिक्षण संस्थामा आफ्ना बालबालिकालाई भर्ना नगर्न नगराउन हुन सूचित गरिएको छ’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ । 

यसरी अनुमति विना सञ्चालन भएका कलेज र संस्थालाई कारवाहीको दायरामा ल्याउने मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी सूचनामा ‘अनुमति नै नलिई सञ्चालनमा भएका यस प्रकारका कलेज/शिक्षण संस्थाहरुलाई कानुन बमोजिम भई जाने व्यहोरा समेत सूचित गरिन्छ,’ मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । 

शिक्षा मन्त्रालयले शुक्रबार जारी गरेको सूचना :

moest_IB_INT

विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्न नेपालको कानुनले निषेध गरेको छ । कार्यक्रम सञ्चालन गर्न विद्यालय शिक्षा मन्त्रालयमा दर्ता गर्नु पर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया