Edukhabar
मंगलबार, १८ बैशाख २०८१
खबर/फिचर

अनुमति बिना विदेशी पाठ्यपुस्तक बजारमा छ्यापछ्याप्ती

विद्यालय तहको पुस्तक प्रयोग गर्न पाठ्यक्रम विकास केन्द्रबाट अनुमति लिनु पर्ने कानुनी व्यवस्था विपरीत भारतीय प्रकाशनका पुस्तक निजी विद्यालयमा प्रयोग हुँदा पनि बिक्रि वितरणमा रोक लगाएर कारबाहीको दायरामा ल्याउन केन्द्रले सकेको छैन ।

सोमबार, ०३ बैशाख २०८१

काठमाडौं - पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृति नलिएका विदेशी प्रकाशनका पुस्तक निजी विद्यालयले अभिभावकलाई किन्न लगाउने गरेका छन् । नेपाली पाठ्यक्रमसँग मेल नखाने विदेशी पाठ्यक्रम अनुसार तयार भएका अनिवार्य अंग्रेजी, विज्ञान, गणित लगायतका विषयका पुस्तक नै निजी विद्यालयमा पढाई भइरहेको छ । विदेशी पुस्तक पढाएको नाममा निजी विद्यालयले चर्को शुल्क असुली रहेका छन् । 

विद्यालय तहमा प्रयोग गरिने पुस्तक केन्द्रबाट अनुमति लिनु पर्ने कानुनी व्यवस्था छ । केही निजी विद्यालयले केन्द्रको अनुमति नै नभएको पुस्तक अभिभावकलाई किन्न लगाएको एडुखबरले पत्ता लगाएको छ । 

सरकारले प्रकाशन गरेको पाठ्यपुस्तक र निजी प्रकाशनको सन्दर्भ सामाग्रीको समेत अविश्वास गरेर निजी विद्यालयले भारतबाट प्रकाशन हुने पुस्तक प्रयोग गरेका छन् । केन्द्रबाट स्वीकृत नभई एस चन्द स्कुल बुक्स, वोरेन्ट ब्याल्क स्वान, अक्सफोर्ड युनिभर्सिटी प्रेस, क्याम्ब्रिज युनिभर्सिटी प्रेस, न्यू सरस्वती हाउस, भी कनेक्ट एजुकेशन लगायतको पुस्तक निजी विद्यालयहरुले अभिभावकलाई किन्न वाध्य पारिरहेका छन् । यी पब्लिकेसन्सका कुनै पनि पुस्तक प्रयोग गर्न केन्द्रले अनुमति दिएको छैन । 

02_book

केन्द्रले दुई साताअघि सूचना जारी गरेर केन्द्रबाट स्वीकृति नभएका पाठ्यपुस्तक,  पाठ्यसामग्री, सिकाइ सामग्री प्रयोग नगर्न आग्रह गरेको थियो । 

शिक्षा नियमावली २०५९ को परिच्छेद ७ को नियम ३५ मा विद्यालयले प्रयोग गर्ने थप पाठ्यसामग्री तथा पाठ्यपुस्तक पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेको सूचिमा रहेको हुनुपर्ने प्रावधान छ । त्यस्तै पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका २०७९ को दफा २७ उपदफा (१) मा पाठ्यसामग्री व्यवस्थापन तथा मूल्याङकन समितिको सिफारिसको आधारमा विद्यालय तहका पाठ्यसामग्री स्वीकृत गरी सूचिकरण गर्ने व्यवस्था रहेको छ ।
यी कुनै पनि प्रावधान पुरा नगरेका विदेशी प्रकाशकको पुस्तक यतिखेर बजारमा धमाधम बिक्रि भइरहेको छ । 

विदेशी पाठ्यक्रम अनुसार तयार भएको पुस्तक बिक्रि हँुदा पनि यसको नियमन गर्नु पर्ने पाठ्यक्रम विकास केन्द्रले अनुगमन समेत गरेको छैन । 

‘अनुगमन गर्नु पर्ने हामीले नै हो गुनासो नआएकोले नभएको हो’ केन्द्रकी सूचना अधिकारी एवं निर्देशक कुन्ता अधिकारीले भनिन् । 

केन्द्रले सुचिकृत नभएका पुस्तक प्रयोग नगर्न सूचना निकाल्ने बाहेक केही गर्न सकेको छैन । केन्द्रले यस विषयमा चासो नदिएकै कारण यस्ता पुस्तक बिक्रि गर्ने व्यापारीको मनोबल झन उच्च भएको छ । 

04_book

क्याम्ब्रिज बाहेक अधिकांश विदेशी प्रकाशनका पुस्तक थापाथली स्थित एकता बुक्स एण्ड डिस्ट्रिब्यूटर्स नेपालले बिक्रि गर्छ । उसले पछिल्लो आर्थिक बर्षमा न्यू सरस्वतीको भैरहवा भन्सार कार्यालयबाट दुई करोड १० लाख १६ हजार एक सय आठ रुपैंयाको पुस्तक आयात गरेको स्रोतले जनाएको छ । यही नाकाबाट एस चन्दको १४ लाख १० हजार दुई सय ८७ रुपैयाँको पुस्तक आयात गरेको छ । अक्सफोर्ड पब्लिकेसन्सको पुस्तक भने एकताले तीन करोड ८२  लाख रुपैयाँको आयात गरेको छ । 

क्याम्ब्रिज पब्लिकेसन्सको पुस्तक पाटन बुक सपले आयत गर्ने गरेको छ । पछिल्लो एक महिनामा पाटन बुक्सले ३२ लाख ७५ हजार रुपैयाँको पुस्तक वीरगञ्ज भन्सार हुँदै आयात गरेको छ । 

यी संस्थाले स्वीकृत बिनाको पुस्तक बिक्रि गरेको केन्द्र, मन्त्रालयका पदाधिकारीलाई जानकारी भए पनि यसलाई रोक्न र कारबाही गर्न नचाहेको स्वदेशी पुस्तक प्रकाशकको आरोप छ । शिक्षा मन्त्रालय मातहत बुढानिलकण्ठ विद्यालयले समेत स्वीकृत नभएको विदेशी पुस्तक पढाउने गरेको छ । 

03_book

एकता बुक्स डिष्ट्रीब्यूटर्सका सञ्चालक रामचन्द्र तिमोथीले गत बर्षदेखि भारतबाट प्रकाशन हुने कुनै पनि पुस्तकलाई स्वीकृत नदिए पनि विद्यालयले माग गरे अनुसार आयत गरिरहेको बताए । 

‘बिगतमा स्वीकृत भएका पुस्तक पनि गत वर्षसम्म मात्रै प्रयोग गर्न पाउथ्योँ केही यसवर्षसम्म मात्रै छ’ उनले भने,‘मेरो काम स्वीकृत लिने होइन । प्रकाशकहरुले नै लिने हो । मैले त स्कुलले माग गरे अनुसार मात्रै ल्याइदिने गरेको छु ।’ 
पीएस इण्टरप्राइजेज्ले पनि भारतीय प्रकाशनका पुस्तक भित्र्याउने गरेको छ । ‘मैले त सीबीएसई कोर्ष पढाउने स्कुललाई आवश्यक पुस्तक मात्रै ल्याउने गरेको छु’ पीएसका सञ्चालक सुवास गुप्ताले भने,अरु निजी विद्यालयलाई बिक्रि गर्दिन ।’ 

नेपाली प्रकाशन संघका अध्यक्ष शान्त गौतमले बजारमा पाठ्यक्रम विकास केन्द्रको स्वीकृत बिनाको पुस्तक खुल्लम खुला बिक्रि भइरहेको बताए ।  

‘हामीले प्रकाशन गरेको पुस्तक सरकारले तोकेको मापदण्ड पुरा गरेका छौँ । सरकारले निर्धारण गरेको मुल्य राखेका छौँ’ विद्यार्थी पब्लिकेसन्सका प्रकाशक समेत रहेका उनले भने, ‘विदेशी पाठ्यक्रम अनुसार तयार भएको पुस्तक नेपालमा बिक्रि भइरहेको छ । यसको नियमन भएको छैन ।’ 

प्रतिक्रिया