Edukhabar
शनिबार, १२ साउन २०८१
गतिविधि

इसीडी शिक्षकलाई तालिम र सुविधा माग्दै दिनभरी उभिएर एकल आन्दोलन

इसीडीमा पढाउने शिक्षकको योग्यता र सुविधा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउनु पर्ने, प्रत्येक तहमा सहयोगी शिक्षक कर्मचारीको व्यवस्था गराउनु पर्ने

बुधबार, ०२ जेठ २०८१

काठमाडौँ–प्रारम्भिक बाल विकास (इसीडी) कक्षाका शिक्षकलाई तालिम र समयानुकल  तलब भत्ता सहितको माग गरेर विद्यार्थी नेताले एकल आन्दोलन थालेका छन् । 

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईँले इसीडीको सुधारको माग राखेर काठमाडौँको माइतीघरमा दिनभरि उभिएर आन्दोलन सुरु गरेका हुन्  ।  ‘शिक्षाको आधार इसीडी शिक्षाको सुधार’ भन्ने माग उनले अघि सारेका छन् । आफ्नो माग उनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई बुझाएका छन् । माग सुनुवाइ नभएसम्म बिहान १० देखि बेलुका ५ बजेसम्म उभिएर विरोध जारी राख्ने उनले बताए ।

‘विकसित मुलुकहरूको शिक्षा प्रणाली हेर्ने हो भने आधारभूत तहको बाल शिक्षामा सबैभन्दा दक्ष जनशक्ति, उच्च सेवा सुविधाका साथै अत्यन्त चिन्ता र चासो दिए‌को प्रस्ट देख्न सकिन्छ,’उनले भने,‘जसरी हामीले घर बनाउँदा जग बलियो बनाएनौ भने घर बलियो बन्दैन, त्यसै गरी प्रारम्भिक बाल विकास राम्रो भएन भने विद्यालय र विश्वविद्यालय शिक्षा पनि राम्रो बनाउन सकिन्न भन्ने कुरा हाम्रो लामो शिक्षा सञ्चालनको अनुभवबाट प्रस्ट हुन्छ ।’ 

प्रारम्भिक बाल विकासका कमजोरी र सुधारका विकल्प सहित निदाएको सरकारलाई बिउँझाउन उभिनु परेको उनले बताए । सरकारले सञ्चालनमा ल्याएको प्रारम्भिक बाल विकास एक तहको भए पनि निजी विद्यालयमा चार तह प्ले ग्रुप, नर्सरी, एलकेजी, युकेजीको मान्यता दिएको उनले बताए । नीतिगत विरोधाभास सहित सरकारले गम्भीर कमजोरी गरेको उनले औँल्याएका छन् । कम्तीमा तीन तहको इसीडी हुनु पर्ने उनको माग छ । 

त्यस्तै इसीडीमा पढाउने शिक्षकको योग्यता र सुविधा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउनु पर्ने, प्रत्येक तहमा सहयोगी शिक्षक कर्मचारीको व्यवस्था गराउनु पर्ने उनको माग छ । अहिले कार्यरत शिक्षक कर्मचारीलाई तत्काल बाल मनोविज्ञान, केयर गिभर, मन्टेश्वरी सम्बन्धी तालिमको व्यवस्था गराउनु पर्ने माग अघि सारेका छन् । विद्यालयमा भएको कक्षा कोठा बालमैत्री नभएकोले पर्याप्त सिकाई सामाग्री, खेल सामाग्री, उपयुक्त पाठ्यक्रम, भौतिक संरचनाको लागि बजेट विनियोजन तथा नीति र कार्यविधि बनाउनु पर्ने माग राखेर चापागाईँ माइतीघरमा दिनभरि उभिएर विरोध गरेका हुन् । विद्यार्थीलाई खाजा कार्यक्रममा १५ रुपैयाँ रहेकोमा यसलाई बढाएर ५० रुपैयाँ बनाउनु पर्ने उनले माग राखेका छन् । 

गाउँ गाउँको बाल विकास व्यवस्थित नभएसम्म गाउँबाट सहरमा बसाइसराइ नरोकिने उनले आफ्नो गाउँमा देखेकोले यसलाई व्यवस्थित बनाउन लागि परेका हुन् । 

‘सरकारी विद्यालयमा इसीडी राम्रो नभएसम्म  निजीमा आफ्नो बालबच्चा पढाउनु पर्ने बाध्यताले अभिभावकको ठुलो आर्थिक व्ययभार शिक्षामा भइरहेको छ,’चापागाईँले भने,‘सरकारले व्यवस्थित गरायो भने उक्त रकम उत्पादन क्षेत्रमा लगानी गरेर रोजगारी सृजना गर्न सकिन्थ्यो । त्यसैले, हाम्रो यो आन्दोलन कसैको विरुद्ध नभई, तपाई हाम्रा ती अबोध बालबालिकाका लागि हो ।’

प्रतिक्रिया