Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

प्राविधिक शिक्षामा वातावरणीय स्वच्छता र आर्थिक दिगोपनाको खाँचो

शुक्रबार, २५ मंसिर २०७२

काठमाडौं - प्राविधिक शिक्षाको पठन पाठनलाई वातावरणीय स्वच्छता कायम गर्दै आर्थिक दिगोपना केन्द्रित गर्नु पर्ने बारेमा बहस शुरु भएको छ । प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् सिटिईभीटीले गरेको कार्यक्रममा सदस्य सचिव डा रामहरी लामिछानेले फोहर ब्यवस्थापन तथा पानी प्रशोधन केन्द्रित जनशक्ति उत्पादन गर्ने तर्फ प्राविधिक शिक्षा केन्द्रित गर्नु पर्ने खाँचो औल्याए ।

प्राविधिक शिक्षा पढेको जनशक्ति बेकामे भएर बस्नु नपर्ने भएपनि अवको ध्यान पर्यावरणीय स्वच्छता तर्फ केन्द्रित गर्न आवश्यक भएको उनको तर्क छ ।

प्राविधिक शिक्षामा प्लम्बिङ् पढेको विद्यार्थीले ढल मार्फत खेर गएको पानी प्रशोधन विधि समेत सिक्ने हो भने वातावरण स्वच्छ हुने र आर्थिक उपार्जनमा दिगो पना कायम हुने उदाहरण दिदैं उनले यस तर्फ सिटिईभीटी कृयाशिल हुने बताए ।

कार्यक्रममा प्राविधिक शिक्षा विज्ञ प्रा.डा. प्रमोद श्रेष्ठले प्राविधिक शिक्षाको अवस्था र चुनौती तथा शिक्षा मन्त्रालयका सहसचिव डा.हरी लम्सालले यसको अनुगमन तथा गुणस्तर विस्तारका बारेमा छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।

यस अघि भएको उद्घाटन सत्रमा शिक्षा सचिव विश्व प्रकाश पण्डितले प्राविधिक विषयहरुको पठन पाठनलाई कोटा कायम गरेर संकुचन गर्न नहुने बताए । अन्य विषयहरुलाई क्रमैसंग घटाउँदै जानु पर्ने तथा प्राविधिक शिक्षालाई विस्तार गर्नु पर्ने उनको धारणा थियो । हरेक बर्ष एसएलसी उत्तीर्ण मध्ये ३५ प्रतिशत विद्यार्थीले शिक्षा पढ्ने तर शिक्षकको माग त्यो आधारमा नहुने भएपछि बेरोजगारी बढेको उनले उदाहरण दिए । प्राविधिक शिक्षा पढ्ने हो भने केही नभए विदेशकै श्रम बजारमा जाँदा पनि उसको कमाई दोब्बरले बढ्न सक्ने उनको भनाई थियो ।

त्यसैले प्राविधिक शिक्षामा हुने खर्चलाई एकद्धारबाट गर्दै विस्तार गर्नु पर्ने उनले बताए । 'प्राविधिक शिक्षाका लागि छुट्टा छुट्टै १४ वटा निकायबाट खर्च भईरहेको रहेछ' उनले भने, 'यसलाई स्विकृत गर्ने तथा पाठ्यक्रम निर्माण देखि सीप परीक्षण सम्म एउटै निकाय मार्फत् गर्न आवश्यक छ ।' यसका लागि सिटिईभीटी उपयुक्त संस्था भएको पनि उनले बताए ।

कार्यक्रममा सिटिईभीटीका उपाध्यक्ष डा. कुलबहादुर बस्नेतले पनि प्राविधिक शिक्षाको आवश्यकता तथा  विस्तारका बारेमा बोलेका थिए ।

प्रकाशित मिति २०७२ मंसिर २५ गते

प्रतिक्रिया