Edukhabar
शुक्रबार, २६ बैशाख २०८२
विचार / विमर्श

समस्या र बेरोजगारीको कथा सुनाएर बस्ने की गरीखाने शिक्षा दिने ?

हाम्रा शिक्षालयहरुले न त गाई, भैँसी, भेडा, बाख्रा, माछा पाल्न सिकाए न त खाद्यान्न, तरकारी तथा फलफूल खेति गर्न नै !

शुक्रबार, २६ बैशाख २०८२

शिक्षाका व्यापक कार्यहरु मध्ये एउटा महत्वपूर्ण क्षेत्र आर्थिक कार्य हो ।  व्यक्ति, समाज र सिङ्गो मुलुकलाई आर्थिक समृद्धिको मार्गमा हिँडाउन गरीखाने  शिक्षाको भूमिका हुन्छ । हाम्रो देशमा साधारण, व्यवसायिक तथा प्राविधिक गरी शिक्षाको क्षेत्र छुट्याईएको छ । उल्लेखित क्षेत्रको आ–आप्mनै भूमिका छ । शिक्षा ज्ञानको क्षेत्र पनि हो । शिक्षाले सामाजिक, साँस्कृतिक, साँस्कारिक, ज्ञान, विज्ञान, प्रविधि, समसामयिक समाज आदि इत्यादी क्षेत्रको ज्ञान हासिल गराउँछ । 

हाम्रो शिक्षा सैद्धान्तिक ज्ञान प्रदान गर्नमा कमजोर छैन । शिक्षाले कुरा गर्न, तर्क, वितर्क, विमर्श, आलोचना वा समालोचनाको क्षेत्रमा शिक्षितहरुलाई सक्षम बनाएको देखिन्छ । तर शिक्षितहरुलाई मेहनती, व्यबसायी, सिर्जनशील तथा समृद्ध बनाउन सकेको छैन । किन शिक्षितहरु इनोभेटभ हुन सकेनन् ? शिक्षितहरुमा आर्थिक रुपमा आफूलाई क्रियाशील बनाउने क्षेत्रमा किन कमजोर भए ? किन शिक्षितहरु अन्तराष्ट्रिय बजारमा  कामदारको रुपमा पलायन  भए ? जवाफ सिधा छ, गरीखाने शिक्षाको अभाव । रोजगार मैत्री शिक्षाको कमी । हाम्रो देश प्राकृतिक स्रोत र साधनले सम्पन्न छ । विद्यालय वरिपरि नै औषधिजन्य वनस्पतिहरु छन् । तितेपाती, हर्रो, वर्रो, सिस्नो, पाचऔंले, एलोभेरा, चिराइतो, यार्सागुम्बा, अलैंची, तुलसी, अर्चल, बोझो, पँहेले लहरा, पाखनबेत, जटामसी, बाबरी, पुदिना, लगायत  औषधीजन्य जडीबुटीहरु प्रसस्त छन् । परन्तु  विद्यार्थीले पढ्ने र गुरुहरुले पढाउने पाठ्पुस्तकहरुमा यस सम्बन्धी बिषयबस्तु छैन । शिक्षतहरुले न त जडीबुटीहरुको खोज, अनुसन्धान, पहिचान तथा उपयोग गर्ने शिक्षा हासिल गर्नसके, न त  कृषि तथा पशुपंक्षी पालनको क्षेत्रमा । विश्वविद्यालयसममको डिग्री हासिल गर्दा पनि गरीखाने पेशाको छनोट गर्न नसक्दा आज पढेलेखेको शिक्षित जनशक्ति विदेश पलायन भएको हो । 

गरीखाने शिक्षाको विकास गर्दा देशमा भएको प्राकृतिक स्रोत र साधनको उपयोग गर्न सक्ने ज्ञान र सीप भएका जनशक्ति उत्पादन गर्न आवश्यक हुन्छ । कृषि, पशुपालन, उद्योग, व्यापार तथा व्यवसायिक कलाको ज्ञान तथा सीप सिकेको भए शिक्षित युवापुस्ताले आफ्ना खेतबारीहरु बँझाउनु पर्ने थिएन । बुबा पुस्ताले बनाएका गोठहरु भत्कने अवस्थामा पुग्ने थिएनन् । छोराछोरीहरु विदेशिने थिएनन् । अभिभावाकहरु बुढेसकालमा एक्लीनु पर्ने थिएन । हाम्रा शिक्षालयहरुले न त गाई, भैँसी, भेडा, बाख्रा, माछा पाल्न सिकाए न त खाद्यान्न, तरकारी तथा फलफूल खेति गर्न नै !

पढेपछि कृषि पेशा किन गर्ने ? भन्ने मनोविज्ञानको विकास भएका शिक्षितहरु उत्पादन भए पछि कृषि प्रधान देशका नागरिकहरु कसरी गरिबी हटाउन सक्दछन् ? कस्तो शिक्षा प्रदान गरी कस्ता नागरिक उत्पादन गर्ने भन्ने आधिकारिक संस्था अभिछिन्न रुपमा चलीरहने राज्यको हो । अहिलेको शिक्षाले शिक्षितवर्ग आत्मनिर्भर बन्न सकेको छैन । विश्व विद्यालयसम्मको अध्ययनले आफ्नो खुट्टामा उभिन सक्ने, उद्यमी हुने र स्वरोजगारको ढोका खोल्ने सीप भएको जनशक्ति उत्पादन हुन नसक्दा शिक्षितहरु आर्थिक अभावको भुँमरीमा भौतारिएको अवस्था छ । 

हाम्रा शिक्षालयहरु बेरोजगार जनशक्ति उत्पादन गर्ने उद्योगको रुपमा सञ्चालित छन् । शिक्षालयहरुले अन्तराष्ट्रिय बजारमा काम गर्ने मजदुरहरु उत्पादन गरीरहेको अवस्था छ । अहिलेको शिक्षाले शिक्षित वर्गलाई आयआर्जनका बाटा र पाटाहरुको खोजी गर्ने, स्वरोजगार हुने र आयआर्जन गर्ने कर्मशील चिन्तन र कार्य पटक्कै देखाउँदैन । विश्वविद्यालयसम्मको प्रमाणपत्र प्राप्त गर्दा पनि शिक्षितहरुले देश भित्र कार्यगत वर्ग विभाजन गर्ने र साना कामहरु गर्न नरुचाउने अवस्था छ ।   आप्mनो देशमा काम नगर्ने तर विदेशमा गएपछि जस्तोसुकै काम पनि गर्न तयार हुने कटु सत्य कोही कसैबाट लुकेको छैन । शिक्षित युवाहरुको यो मनोविज्ञानलाई बदल्नको लागि स्वदेशी भावनाको विकास गर्ने शिक्षा आजको आवश्यकता हो । 

अहिले कक्षा आठसम्मको तहलाई आधारभूत र  कक्षा नौ देखि १२ सम्मको तहलाई माध्यमिक तह भनिएको छ । विद्यालय शिक्षाको प्रमाण पत्रले शिक्षितहरुलाई व्यवसायिक बनाउन नसके पछि ठुलो संख्यामा विद्यार्थी बाहिर गएका छन् ।  विश्वविद्यालयहरुमा विद्यार्थी भर्ना हुन छाडेको अवस्था छ । विश्वविद्यालयहरु पनि बेरोजगार जनशक्ति उत्पादन गर्ने शैक्षिक सस्थाको रुपमा चलीरहेको अवस्थालाई बुझेका शिक्षितहरुले देशमा भविष्य नदेखेको वास्तविकताको बोध गर्न बिलम्ब गर्नु हुँदैन । 

अहिलेको शिक्षा व्यवसायिक, रोजगारमुलक, अनुसन्धानमैत्री तथा सिर्जनशील हुन नसकेको राज्य, शिक्षाविद्, बुद्धिजीवी, शिक्षक, अभिभावक तथा विद्यार्थीको ठहर छ । शिक्षालाई गरीखाने बनाउनु पर्दछ भन्नेमा कोही कसैको विमति नरहेको देखिन्छ । सुनिन्छ । तर गरीखाने शिक्षाको मोडेल कस्तो बनाउने ? कसरी शिक्षालाई रोजगारमलक, व्यवसायिक, स्वरोजगार मैत्री तथा खोज, अनुसन्धान र अन्वेषणमा आधारित बनाउने भन्ने सवालमा राज्य लगायत सरोकारवालाहरु कोही पनि प्रष्ट रहेको देखिंदैन । शिक्षालाई गरीखाने बनाउने भन्ने बिषय चोटिलो बनेको छ ।

शिक्षालाई गरीखाने बनाउनको लागि पहिलो सर्त नीति निर्माणमा सुधारगरी शिक्षा क्षेत्रलाई मेरिटोक्रेसरीको आधारमा सञ्चालन गर्ने बलियो विधि निर्माण गर्नु हो । योग्य, सक्षम तथा शिक्षण सिकाइमा सक्षम जनशक्ति विद्यालय देखि विश्वविद्यालयसम्म भित्र्याउने नितिगत व्यवस्था गर्नु पर्दछ ।  यसको लागि राज्यको शिक्षा क्षेत्रलाई हेर्ने चश्मा फेर्नु पर्दछ । पाठ्यक्रम, पाठ्यपस्तक तथा शिक्षण सिकाइ विधीमा परिवर्तन आवश्यक छ । भौगोलिक आधारमा हाम्रो देशको हिमाली, पहाडी र तराइ क्षेत्रमा रहेका प्राकृतिक स्रोत, साधन, हावा, पानी, माटो, उत्पादनको सम्भावना आदी कुराहरुलाई आधार बनाएर पाठ्यक्रम निर्माणगरी शिक्षालाई आयआर्जन गर्न सक्ने ज्ञान तथा सीप केन्द्रित गर्न सकिन्छ । 
शिक्षाको नयाँ संरचना अन्तरगत कक्षा एक देखि आठ कक्षासम्मको १०० पूर्णाड्ढको पाठ्यपुस्तक निर्माणगरी पठनपाठन गर्न पाउने अधिकार छ । स्थानीय तहको पाठ्क्रम निर्माण गर्दा कम से कम छ, सात र आठ कक्षाको पाठ्क्रममा स्थानीय तहहरुले आ–आप्mना पालिकाहरुमा भएको प्राकृतिक स्रोत, साधन, उत्पादनको सम्भावना र आयआर्जन गर्न सकिने व्यवसायमा आधारित शिक्षा बनाउने हो भने ठाउँ अनुसार शिक्षा माटोसंग जोडिन्छ । 

हिमाली क्षेत्रका पालिकाहरुले पाठ्यक्रम निर्माण गर्दा आधुनिक तरिकाले भेडा, च्याङ्ग्रा तथा चौरी पालन, स्याउ खेति, यार्सागुम्वा आदि उत्पादनको ब्यवसायिकरण पर्यटन तथा अन्य सम्भावित  क्षेत्रमा आयआर्जन गर्नसक्ने ज्ञान र सीपमा आधारित शिक्षा नै गरीखाने शिक्षाको मोडेल  हुन सक्दछ । यसैगरी पहाडि र तराइ खण्डमा पर्याप्त मात्रमा फलफुल खेति, चिया, कफी, सुपारी, आलु, केरा, कागति, तथा उन्नत जातका भैंसी पालन, गाई पालन, बाख्रा, बङ्गुर, कुखरा, कालिज, टर्की पालन, स्याउ खेति, च्याउ खेति, रेसम खेति, खुर्सानी लगायतका कृषिजन्य उत्पादनका सभावनाको आधारमा पाठ्यक्रम, पाठ्यपुस्तक तथा शिक्षण सिकाइ र प्रयोगात्मक अभ्यासलाई आधार बनाएमा शिक्षित युवाहरु आ–आप्mनै गाउँठाउँमा आधुनिक तरिकाले कृषि तथा पशपालन लगायतका क्षेत्रमा आयआर्जन गर्न सक्दछन् । 

अन्त्यमा, शिक्षालाई गरीखाने बनाउनको लागि पहिलो चरणमा कृषि, पशु पंक्षी, माछा पालन, जडीबुटीको क्षेत्रलाई आय आर्जनको माध्यम बनाउन सकिन्छ । क्रमशः स्थानीय तहहरुमा कृषि उत्पादनमा आधारित साना उद्योगहरु स्थापना, जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र, बीउ विजन वितरण शाखा, नश्ल सुधार केन्द्र, पशुपंक्षी खरिद विक्रिकेन्द्र, दुग्ध पदार्थ सङ्कलन तथा प्रोडक्सन केन्द्र, खाद्यान्न भण्डारण केन्द्र लगायतका सुविधाहरु विकास गर्दै जानु पर्दछ ।  यसो हुन सकेमा शिक्षालाई गरीखाने बनाउन सकिन्छ । शिक्षालाई माटो, उत्पादन र व्यवसायसंग जोड्न सकिन्छ । त्यसैले राज्य तथा सरोकारवालाहरुले यसै गरुन् । शिक्षाका समस्या र बेरोजगारको कथा सुनाएर नबसुन् । 

प्रतिक्रिया