विराटनगर - एक आपसमा गाभिई विद्यालय सञ्चालन गर्न सहमत विद्यालयको संस्थागत सुधारमा कोशी प्रदेश सरकारले सहयोग गर्ने नीति लिने भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले सोमबार प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उक्त नीति घोषणा गरेका हुन् । विद्यार्थी संख्या कम भएका सामुदायिक विद्यालयलाई गाभ्ने विषयमा यस अघि नै सहमती गरिएका विद्यालयहरुलाई लक्षित गरि प्रदेशले उक्त नीति अख्तियारीको घोषणा गरेको हो ।
'एक आपसमा गाभिई विद्यालय सञ्चालन गर्न सहमती गरिएका विद्यालयको संस्थागत सुधारमा आवश्यक सहयोग तथा समन्वय गरिने छ' नीति तथा कार्यक्रममा भनिएको छ 'हिमाली र पहाडी क्षेत्रका विद्यालयको भौतिक संरचना सुदृढ गरिनेछ, संघ तथा स्थानीय तहको साझेदारीमा सामुदायिक विद्यालयको भौतिक संरचना निर्माण गरिनेछ ।'
यसैगरी नीति तथा कार्यक्रममा निजामती आवासीय विद्यालय धनकुटालाई प्रदेशको नमूना विद्यालयको रुपमा विकास गर्ने उल्लेख छ । प्राविधिक शिक्षालयको विकास र विस्तारका लागि नीतिगत एवम् संस्थागत व्यवस्था मिलाई क्षमता अभिवृद्धि गरिने उल्लेख गर्दै कार्यक्रममा अनुभव र व्यवहारिक ज्ञानसहितको शिक्षा आर्जन गर्ने परिपाटी बसाइने योजना उल्लेख छ । विभिन्न निकायका सेवामा इण्टर्नलाई प्रयोग गर्न प्रोत्साहन गर्ने नीति प्रदेशले लिने खापुङले घोषणा गरे ।
सुरक्षा निकाय, स्थानीय तह तथा सम्बद्ध सरोकारवालाको समन्वय र सहकार्यमा जीवनोपयोगी सिप तथा सामाजिक उत्तरदायित्व सहितको नैतिक शिक्षा प्रदान गर्ने पनि प्रदेशको नीति छ ।
भाषा आयोगबाट सिफारिस भई आएका मैथिली र लिम्बू भाषालाई प्रदेशको सरकारी कामकाजको भाषा बनाउन आवश्यक व्यवस्था मिलाइने उल्लेख गर्दै प्रदेशले मनमोहन प्राविधिक विश्वविद्यालयको संरचनागत र व्यवस्थापकीय सुधार गर्ने उल्लेख गरेको छ । चिकित्सा विज्ञान लगायतका विषयमा अध्ययन, अध्यापन तथा अनुसन्धान गर्ने व्यवस्था मिलाइने छ ।
विज्ञान प्रविधिको विकास र विस्तारका लागि विज्ञान प्रविधि केन्द्र (साइन्स सेण्टर) स्थापना गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने, विद्यालयलाई स्वास्थ्य प्रवद्र्धनात्मक विद्यालयका रुपमा सूचीकृत गर्ने, विद्यालय नर्सिङ्ग सेवा कार्यक्रमलाई विस्तार तथा सुदृढ गर्ने कोशी प्रदेशले आफ्नो नीति तथा कार्यक्रममा घोषणा गरेको छ ।
आगामी बर्षको कार्यक्रममा समावेशी विकास, सुशासन, पूर्वाधार निर्माण, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जनामा विशेष प्राथमिकता दिइएको खापुङले बताए ।
प्रतिक्रिया