काठमाडौं - विद्यालयमा नियमित अध्ययन गरिरहेका वास्तविक विद्यार्थीलाई मात्रै परीक्षामा सहभागी गराउन शिक्षा विकास तथा समन्वय इकाई हुम्लाले सबै सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ । ग्रामिण क्षेत्रका विद्यालयमा भर्ना भएका विद्यार्थीलाई शहरी क्षेत्रका विद्यालयहरूमा अध्ययन गराई परीक्षा दिनका लागि मात्रै शुरुको विद्यालयमा ल्याउने क्रम बढे पछि यसलाई नियन्त्रण गर्न उक्त निर्देशन दिएको एकाईका निमित्त प्रमुख योगेश आले मगरले जनाएका छन् ।
जिल्लाका सबै सामुदायिक विद्यालयलाई दिईएको निर्देशनमा यस्तो कार्यले शिक्षा प्रणालीमा विकृति ल्याउनुका साथै ग्रामीण विद्यालयको वास्तविक शैक्षिक अवस्था र सिकाइ उपलब्धि छायामा पार्ने अवस्था देखिएको उल्लेख छ ।
'यस्तो अभ्यासले स्थानीय विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव पार्नुका साथै पेशागत र संस्थागत पारदर्शिता, उत्तरदायित्व, जवाफदेहिता र मूल्याङ्कनमा समस्या निम्त्याउने हुँदा, यस प्रकारको कार्य तत्काल बन्द गर्न सूचित गरिन्छ' टुरिष्ट विद्यार्थी भर्ना नगर्ने सम्बन्धमा शिर्षकको परिपत्रमा भनिएको छ 'शैक्षिक सत्र २०८२ सालदेखि कुनै पनि विद्यालयले टुरिष्ट विद्यार्थी भर्ना गरी विद्यार्थीलाई अन्यत्रबाट ल्याई परीक्षामा सहभागी गराउने कार्य नगर्नुहुन र विद्यालयमा नियमित अध्ययन गरिरहेका वास्तविक विद्यार्थी मात्र परीक्षामा सहभागी गराउनु हुन अनुरोध गरिन्छ ।'
यदि यस्तो कार्य पुनः दोहोरिएमा रजिष्ट्रेशन फाराम, परीक्षा आवेदन फाराम र परीक्षा समेत रद्द गरी आवश्यक कार्वाहीकोे प्रक्रिया अघि बढाइने उक्त निर्देशनमा उल्लेख छ ।
सबै पालिकाका शिक्षा युवा तथा खेलकुद शाखालाई विद्यालय अनुगमन सुपरीवेक्षणको क्रममा यस्तो कार्य भेटिएमा जानकारी गराउन भनिएको छ ।
प्रतिक्रिया