Edukhabar
आइतबार, ०३ फागुन २०८२
खबर/फिचर

ब्रिटिश कलेजको 'बदमासी' : ईण्टर्न गर्न दुबई लगेका विद्यार्थी अलपत्र

प्रति विद्यार्थी नौ लाख उठाएर ठगेको अभिभावकको गुनासो, पैसा फिर्ता माग्दा आलटाल गरेको भन्दै आक्रोशित विद्यार्थी र अभिभावकले गरे कलेजमा तोडफोड

मंगलबार, ०८ पुस २०८२

काठमाडौ - होटल म्यानेजमेण्टको ईण्टर्न गराउने भन्दै दुबई पठाएका १९ जना नेपाली विद्यार्थीलाई दी ब्रिटिश कलेज थापाथलीले अलपत्र पारेको छ । यसकै विरोधमा आक्रोशित विद्यार्थी र अभिभावकले मंगलबार कलेजमा तोडफोड गरेका छन् । 

जानु अघि भनिए जस्तो काम नभए पछि अलपत्र परेका ती विद्यार्थी मध्ये १० जना गत मंसिर १५ गते नेपाल फर्किएका छन् । बाँकी नौ जना उतै लेबर काम गरेर बसेको फिर्ता भएका विद्यार्थीका एक अभिभावकले एडुखबरलाई बताए ।  नेपालमा जेन जी बिद्रोहकै दिन गत भदौ २३ गते दुबई पठाएर अलपत्र पारिएका विद्यार्थी मध्ये १० जना फर्किएका हुन् ।

पाँच तारे होटलमा ईण्टर्न गराउने भन्दै लगिए पनि जानासाथ श्रमिक परिचय पत्र बनाएर आफै काम खोज्न भनिए पछि आफूले छोरालाई फिर्ता बोलाएको ति अभिभावकले दावी गरेका छन्  । 

‘हामीले त छोरोलाई होटल म्यानेजमेण्टको ईण्टर्न गर्न पठाएको हो लेबर काम गर्न हैन । जुन उद्देश्यका लागि पठाएको त्यो नै नभए पछि त्यो दुःखमा किन राख्ने भनेर हामीले आफ्नै खर्चमा फिर्ता बोलायौं’ ती अभिभावकले भने ‘भनेको पढाई नभए पछि आफूले तिरेको पैसा फिर्ता माग्दा कलेजले फिर्ता दिन नसक्ने बताएको छ ।’ 

सन्तानलाई राम्रो शिक्षा दिने सोचेर दुःख गरेर कमाएको रकम लगानी गरेको तर त्यो रकम कलेजले ‘खाईदिएको’ भन्दै अभिभावक आक्रोशित बनेका छन् । पैसा फिर्ता माग्दा कलेजले आलटाल गरे पछि विद्यार्थी र अभिभावकले शिक्षामन्त्री महावीर पुनको समेत ध्यानार्कषण गराएका थिए । त्यसपछि मन्त्रालयले उच्च शिक्षा शाखाका उपसचिव परशुराम तिवारीको संयोजकत्वमा चार सदस्यीय छानवीन समिति समेत गठन गरेको छ । उक्त समितिले अनुसन्धान गरिरहेको बताए पनि गम्भिरतापूर्वक काम नगरेको एक अभिभावकले गुनासो गरे । 

‘विद्यार्थी पढाउने कलेजले ठग म्यानपावरको जस्तो काम गरेको प्रमाणित भयो’ ती अभिभावक भन्छन् ‘यस्तो कार्य गर्ने कलेजलाई कानूनी कारवाही गरी हाम्रो पैसा फिर्ता गर्न सहजीकरण गरिदिन हामीले शिक्षामन्त्रीलाई ध्यानाकर्षण त गरायौं तर कर्मचारीहरुले समिति गठन र के के भन्दै आलटाल गरिरहेका छन् ।’

एक बर्ष अघि भर्ना भएका ति विद्यार्थीसँग कलेजले बार्षिक शुल्क भन्दै एकमुष्ट प्रति विद्यार्थी दुई लाख रुपैंया लिएको थियो ।  दुबई जानका लागि भन्दै कलेजले थप साढे सात लाख रुपैंया लिएको अभिभावक बताउँछन् । एक बर्षको सैद्धान्तिक पढाई नेपालमै गर्ने र दुई बर्ष दुबईको पाँचतारे होटलमा ईण्टर्न सके पछि बेलायत जान पाईने लोभ देखाएर कलेजले विद्यार्थी भर्ना गरेको थियो । 

विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालित कलेजहरु मध्ये केहीले नेपालको कानून उलंघन गरेको भन्दै शिक्षा मन्त्रालयले बेला बेला नियमनमा कडाई गर्ने बताउँदै आएको छ । तर, नियमनका लागि बलियो कानून अभावले गलत कार्य गर्ने कलेजहरुको बल मिच्याईँ जारी छ । 

यो कलेजले शिक्षा मन्त्रालयमा बुझाएको विवरणमा होटल म्यानेजमेण्टको तीन बर्षे कोर्ष नै उल्लेख छैन । यही कार्यक्रमसँग मिल्दो जुल्दो हस्पिटालिटी बिजनेश म्यानेजमेण्ट उल्लेख भए पनि त्यो चार बर्षे कोर्ष हुने मन्त्रालयमा पेश गरिएको दस्तावेजमा उल्लेख छ । 

मन्त्रालयबाट अनुमति नलिने, नियमित नवीकरण नगर्ने, लेखापरिक्षण र कर चुक्ता नगर्ने, नियमानुसार कार्यक्रम थपको अनुमति नलिने, त्रिभुवन विश्वविद्यालयबाट समकक्षता नलिने कलेजहरु बढ्न थाले पछि २०८१ साल साउन ३० गते मन्त्रालयले बुझेर मात्रै सन्तान भर्ना गर्न अभिभावकहरुलाई आह्वान गरेको थियो । 

विद्यार्थीलाई दुबईमा लगेर अलपत्र पारेको विषयमा विरोध भए पछि कलेजले आफ्नो धारणा सामाजिक सञ्जाल मार्फत् सार्वजनिक गरेको छ । दुबईको विषय सम्बोधन नगरिकनै जारी गरिएको उक्त वक्तव्यमा उपयुक्त कानूनी तथा मर्यादित माध्यम मार्फत् आफ्ना विषयहरु उठाउन भनिएको छ । 

केही सिमित व्यक्तिहरुले उठाएका चासोहरु कलेजले स्थापित संस्थागत प्रकृया अन्तरगत सम्बोधन गरिरहेको छ, जसमा विद्यार्थी सहयोग संयन्त्र तथा शिक्षा मन्त्रालयसँग पनि समन्वय गरिएको छ उक्त वक्तव्यमा भनिएको छ । 

कलेजले विद्यार्थीलाई ठगी गरेको भन्दै विभिन्न राजनीतिक दल आवद्ध विद्यार्थी संगठनहरुले तत्काल रकम फिर्ता गर्न अल्टिमेटम समेत दिएका थिए ।  

कलेजले शिक्षा मन्त्रालयमा बुझाएको कागजातमा उल्लेख भए अनुसार बेलायतका दुई विश्वविद्यालय युनिभर्सिटी अफ द वेष्ट अफ इङ्गल्याण्ड र लीड्स बेकेट युनिभर्सिटीको सम्बन्धनमा सन् २०११ देखि कलेज सञ्चालन भएको उल्लेख छ । यो कलेज लण्डन विश्वविद्यालयको एक मान्यता प्राप्त शिक्षण केन्द्र भएको कलेजको वेबसाईटमा उल्लेख छ । 

प्रतिक्रिया