Edukhabar
आइतबार, १८ कार्तिक २०८१
गुरुबा / गुरुआमा

पञ्चसँग जुधियो तर, बहुदलले विगार्यो शिक्षकलाई !

सोमबार, २९ चैत्र २०७२

- विष्णु विवेक - काठमाडौं / राजा महेन्द्रले प्रजातन्त्र खोसेर पञ्चायत शासन शुरु भएको छेक ! राणा शासन अन्त्यसँगै शुरु भएको प्रजातन्त्रको स्वाद गाउँ सम्म नपुग्दै निर्दलीय ब्यवस्था शुरु भए पनि अधिकाँश नेपालीलाई के आयो के गयो पत्तो थिएन । तर, अलिकता पढा लेखा मान्छेहरु नेपालको राजनीतिक घटनाक्रमबारे चासो र  चनाखो मै थिए । यस्तै मध्येका एक थिए – संखुवासभाको पाग्माका रोहिणी खनाल ।

पञ्चायत कालमा के होला र राजा महेन्द्रको बोलवाला कस्तो छ भन्ने कुराको लख गाउँका पञ्चहरुको रवाफ हेर्दा छर्लङ्गै हुन्थ्यो । विद्यालय खोल्ने र पठन पाठन गर्ने बारेमा महेन्द्रको धारणा के थियो भन्ने कुरा खनाललाई पनि थाह त थिएन, तर जनताका छोराछोरी धेरै जान्ने हुनुहुन्न भन्ने राणाको ‘ह्याङओभर’ मै रमेका गाउँका पञ्चहरुका हर्कतले उनले बुझिसकेका थिए – विद्यालय खोल्नु र पढ्नु पढाउनु भनेको उनीहरुसँग दुस्मनी मोल्नु हो ।

यो दुस्मनी उनलाई स्विकार्य भयो ।

‘एसएलसी पास गरेपछि गाउँमा अरु सबै निरक्षर थिए । आफुलाई पढाउन त्यतिबेला खुब रहर जागेको । तर गाउँमा विद्यालय थिएन । विद्यालय खोलुँ भन्दा पञ्चहरुले नाई भन्थेँ ।’ गाउँमा विद्यालय शुरु गर्दाको सकस उनले सुनाए ।

विद्यालय त खोल्ने तर कसरी ? गाउँमा विद्यालय खोल्नदेखि सञ्चालन गर्न पञ्चहरुकै खुट्टा ढोग्नुपर्ने स्थिती कायमै थियो । उनीहरुसँग लत्रिने हो भने, सन्ततीले अक्षर नदेखि मर्ने भए भन्ने हुटहुटिले विद्यालय खोल्ने निर्णय जन्म्यो । तर, सजिलो थिएन । पञ्चहरुले उनलाई एकलकाटे बनाए ।

पञ्चका जगजगिका विच आएको उनको हिम्मत अक्षर चिनेरै हो भन्ने उनलाई थाह थियो । त्यही हिम्मतले खनाललाई पछि हटाएन । पञ्चहरुको अवरोधकै बीचमा उनले बालबालिकालाई जम्मा गरेर पढाउन थाले ।
सदरमुकाम पुगेर विद्यालय सञ्चालनको अनुमति पनि लिए । तर गाउँका पञ्चहरुले उनको कामलाई मान्यता दिएनन् ।

यी मतभेदका बीच उनले घोषणा गरे ‘पढाउन पाउनुपर्छ भन्दै कालोपट्टी बाँध्ने’ । उनले कालोपट्टी बाँधेरै पढाए । ‘पढाउन त पर्यो । कसैले रोकेर रोकिनेवाला थिएन । हामीले पढाउन शुरु गरे पछि कालोपट्टी बाँध्यौ । सबैले किन कालोपट्टी बाँधेको भनेर सोध्दा पढ्न र पढाउन पाउनुपर्छ भन्थ्यौँ' खनाल भन्छन्, 'कालोपट्टी बाँधेपछि सबैले पञ्चहरुले पढाउन नदिएको बारे पनि थाहा पाए । पछि उनीहरुका कुरा काट्न थाले मान्छेले । अनि हामीलाई पढाउनु ठिक कुरा हो भने । हामीलाई साहस मिल्यो ।’

खनाललाई विस्तारै गाउँलेको समर्थन र साथ बढ्न थाले पछि पञ्च पछि हट्न बाध्य भए । पढ्न पाउनु पर्छ भन्ने खनालको सत्याग्रहको जित भयो ।  

राजा महेन्द्रले नै पञ्चायत शुरु गरेको बर्ष २०१७ सालमा महेन्द्र प्राथमिक विद्यालय (हालको उमावि) पाग्मा संखुवासभाबाट अध्यापन शुरु गरेका खनालले यही कठिनाईका बीचमा जीवनका झण्डै चार दशक शिक्षण पेशामै विताए । २१ बर्ष स्थायी र १३ बर्ष अस्थायी गरी जम्मा ३७ बर्ष अध्यापन गरेका खनालसँग ब्यवस्था परिवर्तन हुँदा सम्मको अनुभव छ । अर्थात् पञ्चायतकालमा शुरु भएको उनको शिक्षण जीवन बहुदल सम्म कायम रह्यो । र अनुभवका पहेली पनि उस्तै !

बहुदलले विगार्यो शिक्षकलाई

राजनीतिक रुपमा बन्द समाज र सत्ताको दवावका विच पढाउनकै लागि आफूले मोलेको त्यो विधिको चुनौति राजनीतिक ब्यवस्था परिवर्तन भएर बहुदल आएसँगै ब्यवस्थित हुनु पर्नेमा झन् भद्रगोल भएको कुराले चाँही खनालको मन आधा बनाएको छ ।

पञ्चायतको कहर काट्नु कम्ता सकसको कुरा थिएन । भविष्य उज्यालो बनाउने ध्याउन्नमा कटेका थिए ती संकटका दिन । बालबालिका पढाउँदै वितेका ति दिन खुल्ला समाजको परिकल्पनामै वित्थे ।
२०४६ सालको राजनीतिक आन्दोलनले ब्यवस्था परिवर्तन भयो ।

धेरै नेपाली, धेरै शिक्षक झैं खनाल सरले पनि सोचे काला दिन गए ।

शिक्षाले कोल्टे फेर्छ, भन्ने सोच्नु कुनै मुख्र्यार्इँ  थिएन । तर समय सँगै उनको त्यो सोचाई मुर्खले सोचे झैं भयो । खनालको भोगाईमा शिक्षाको ओरालो लागेको दिन नै नेपालमा बहुदल आएर हो । बहुदल पछि नै शिक्षामा खुलेआम राजनीतिले प्रवेश पायो ।

‘बहुदल ल्याउन सबै पार्टीले शिक्षकलाई नै कार्यकर्ता बनाए । अरु जान्ने बुझ्ने कोही नभए पछि पार्टीको पहिलो कार्यकर्ता शिक्षक नै बने । बहुदल त आयो आन्दोलनमा लागेका शिक्षक कार्यकर्ता नै भईरहे, पढाउन छाडे राजनीति गर्न थाले’ उनले भने ‘पहिला पञ्चायतमा बरु डरले पनि पढाउँथे । अब कसैको डर भएन, कसैले केही गरे तिनका दलले संरक्षण गर्ने भयो । राजनीति गरेरै शिक्षकहरुले दिन विताउन थाले ।’

सरकारको तलब खाएर पढाउने शिक्षकले आफ्नो कर्तव्य भूलेको उनको भनाई छ । कक्षा कोठामा इमान्दार भएर पढाउने शिक्षक नभएकै कारण शिक्षाको नतिजा बढ्न नसकेको उनको बुझाई छ । यसो हुनुको मुख्य कारण सरकारले शिक्षकलाई ‘लगाम’ लगाउन नसकेरै हो ।

‘शिक्षकले हाम्रो पालका जसरी ‘फ्रि’मा पढाएका छैनन् । सरकारी तलब खाएका छन् । सरकारले तलब खाएर त्यो ‘नुनको सोझो’ गर्ने काम शिक्षकले गरेकै छैनन् ।’ उनले भने ‘तलब दिएर पनि नपढाउने शिक्षकलाई सरकारले कारबाही गर्न सकेन । र शिक्षामा अगति शुरु भयो ।’

शिक्षकले नपढाएरै उत्पत्ति भए बोर्डिङ स्कुल

शिक्षकले विद्यार्थीलाई आफ्नै छोराछोरी सम्झेर पढाईदिएको भए नेपालमा बोर्डिङ स्कुल नै नभित्रने अड्कल काट्छन् खनाल सर । ‘हाम्रै शिक्षकले गर्दा हो बोर्डिङ स्कुल खुलेका । पढाउने ठाउँमा पढाउन मन लाएनन् । बोर्डिङ स्कुल खोलेर पैसा कमाउने धन्दामा लाग्दा सरकारले रोकेन’ उनले भने ‘शिक्षकले पढाउने कामलाइृ कर्तव्य ठान्देको भए र सरकारले शिक्षकलाई निरन्तर प्रोत्साहन र राम्ररी पढाउने वातावरण दिएको भए बोर्डिङ खुल्ने नै थिएनन् ।’

शिक्षककै कारण सरकारीको पढाई छाडेर बोर्डिङमै छोराछोरी पढाउनु अभिभावकको अहिलेको बाध्यता भएको उनको भनाई छ । ‘सरकारीमा पढाउने शिक्षकले आफ्ना छोराछोरी बोर्डिङ पढाउँछन् । अनि कर्मचारीका छोराछोरी पनि बोर्डिङ पढ्छन् । सबैले बोर्डिङ नै राम्रो भनेपछि कसले सरकारीमा पढाई देओस’ उनी निराश छन् ।

शिक्षकलाई व्यवस्थापन र सही परिचालन गर्न नसक्दा शिक्षामा दयनीय अवस्था आएको खनालको निष्कर्ष छ ।

सार्वजनिक शिक्षा सुधारको उपाय शिक्षकका छोराछोरी सरकारीमै

खनाल सरको बुझाई र भोगाई समान छ । कुनै पनि काम गर्दा त्यहाँ आफ्नोपन हुनुपर्छ । र त्यसलाई भित्र मन देखि नै गर्नुपर्छ । त्यसरी काम गर्नेलाई सम्मान र प्रोत्साहन गर्न विर्सन हुँदैन ।

शिक्षण पेशामा पनि यही कुरा लागु हुने उनी बताउँछन् । ‘शिक्षकले चाहे भने सक्छन् । हामीले सक्यौँ । किन सक्यौ भने हामीले आफ्ना छोराछोरीलाई सरकारीमै पढायौँ । आफ्ना छोरोछोरीका लागी भए पनि राम्ररी पढायौँ । तर अहिले आफ्ना छोराछोरीलाई सरकारीमा पढाउदैनन् र शिक्षा सुधार गर्न सकिदैन भन्छन् । यसो भन्दा साह्रै चित्त दुख्छ ।’

सुधारका लागी पहिलो कदम नै शिक्षकका छोराछोरी सरकारी विद्यालयमै पढाउनुपर्छ । यसको विकल्प छैन । यदि यो काम छाडेर अरु कामबाट शुरु गरे शिक्षामा कहिल्यै सुधार नहुने उनको दाबी छ ।

‘पहिला शिक्षकका छोराछोरी सरकारीमा पढाउनुपर्छ । अनि अरु कर्मचारी र ठुला मान्छेका पनि । यति भए पछि सुधार हुन्छ । अरु त सब भन्ने कुरा मात्रै हुन् ।’ उनले भने ।

यसबाहेक दिलोज्यान दिएर विद्यालयमा पढाउने शिक्षकलाई सम्मान र प्रोत्साहन गरिरहनुपर्ने उनको सुझाव छ । यसो गर्नुको कारण नपढाउने शिक्षकको मनोबल कमजोर हुन्छ । र उसले पनि पढाउन शुरु गर्छ । जसले कामै नगरी खान खोज्छ उसलाई ठेगान लाउनै पर्ने उनको बुझाई छ । त्यसका लागी पार्टीको ‘ट्याग’ बोकेर छाडा भएका शिक्षकलाई कारबाही र निरुत्साहित गर्न सरकार पछि पर्न नहुने उनको सुझाव छ ।

‘अहिले धेरै पार्टीका मान्छेहरु स्कुलमा छन् । शिक्षकका नाममा तिनले राजनीति मात्रै गरिरहेका छन् । तिनलाई पहिला कारबाही गर्नुपर्छ । नियम मै नभएको काम गर्नेलाई सरकारले कारबाही नगरी सुधार हुदैन ।’ उनले भने ।

विद्यालय समाज र शिक्षाको पहिलो ज्योती भन्दै उनले शिक्षा सुधार नभएरै देश विकास हुन नसकेको समेत बताए । काम नपाएर विदेश जानु नेपाली साराका लागी चिन्ताको विषय भएपनि कसैले चासो नलिदाँ उनको मन निकै दुःखेको छ ।

‘कतिबेला त रुन मन लाग्छ । कसलाई भनुँ । मान्छे काम नपाएर विदेश गइरहेका छन् । यहाँ पढाउने मान्छे नै छैनन् । यसका बारेमा कसैले पनि चासो नलिएको देख्दा साहै्र चित्त दुखेको छ ।’ उनले निन्याउरो मुख लाउँदै भने ।

'हिजो आज देश बनाउने विकास गर्ने भन्ने धेरै सुनिन्छ' शिक्षक किताबखानाले अघिल्लो हप्ता वितरण शुरु गरेको शिक्षक परिचयपत्र वितरण कार्यक्रममा भेटिएका खनाल सर भन्छन्,  'तर ख्याल गर्नु ! शिक्षा सुधार नभईकन देश सुध्रिनै सक्दैन ।' 

प्रकाशित मिति २०७२ चैत २९ गते

प्रतिक्रिया