Edukhabar
विहीबार, १३ बैशाख २०८१
सम्पादकीय

मुस्काउन सकौँ, २०७३ को शुभकामना

बुधबार, ०१ बैशाख २०७३

- सम्पादकीय / २०७२ अनेक झण्झट र विपद्हरुको खड्गो बोकेर आएको थियो । चैतको अन्तिम रातसँगै त्यसले हामीलाई छाडेर गएको छ । हामी २०७३ सालको यात्रामा निस्किसकेका छौं । आशा छ, दुःखका पहाड पन्छाएर, पीरका भारीहरु बोक्दै बिसाउँदै गरेर र त्रासका सम्झनाहरु मनमा टाँसेर भए पनि हामी सकारात्मक सोच राख्छौं, राखिरहने छौं । समस्या र अभावका चांगहरु बीच हामी समाधान र पूर्णता खोज्न अभ्यस्त छौँ । नयाँ बर्ष २०७३ सालले हामीलाई नयाँ सोच, विचार र परिवर्तनको उर्जा दिएको छ ।

नयाँ वर्ष विगतको पात्रो पल्टेर नयाँ पात्रो भित्तामा टाँस्ने निरन्तर अभियान मात्रै होइन, विगतको समीक्षा र त्यसले सिकाएको पाठ मनन् गरेर भविष्यको योजना बनाउने बेला पनि हो । पक्कै पनि २०७२ ले हामीलाई धेरै पाठ सिकाएर गएको छ र त्यसलाई हामीले मनन् गर्नै पर्छ ।

२०७२ को सुरुवात ठूलो भुकम्पको धक्काबाट भयो र त्यसले हामीलई क्षतविक्षत बनाएर गयो । हजारौँले ज्यान गुमाए । त्यसको क्षतिपूर्ति कहिल्यै हुन सक्दैन । दर्जनौं शिक्षक र विद्यार्थी सम्झनामा बाँकी रहे । घरमात्रै होइन केटाकेटीको लागि घर पछिको घर विद्यालय पनि बस्नै नसक्ने गरी भत्कियो । भत्किएको विद्यालयले हामीलाई हेरिरहेको छ । केटाकेटी चौरमा पालमुनी पढिरहेका छन् । केटाकेटीले आफ्नो पुरिएको किताब र कलम अझै खोज्न भ्याइसकेका छैनन्, नयाँ वर्ष र नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ । तर उनीहरुको सिकाइको भोक भूकम्पका झट्काहरुले चुँडाउन सकेको छैन । यो हाम्रा लागि सबैभन्दा शक्तिशाली उर्जा हो ।

गएको वर्षको विपद्ले हामीलाई हाम्रो घर मात्रै होइन विद्यालयको भौतिक संरचना कस्तो हुनु पर्छ, किन विद्यालय विद्यलाय जस्तो र सुरक्षित हुनु पर्छ भन्ने पाठ सिकाएर गएको छ । विपद्का बेला कसरी धैर्य बन्ने र उद्दारमा खटिने भन्ने ज्ञान पनि हामीलाई गएको वर्षले दिएको छ । हामीले विद्यालयमा सिकाइरहेको विपद्बाट बच्ने ज्ञान पर्याप्त र व्यवहारि हुन सकेको छ कि छैन गतिलो परीक्षण गरेका छौं । सिक्ने हो भने, हामीले गत साल भरि भोगेको विपद् सिकाइको ठूलो अवसर पनि बनेको छ ।

भूकम्पसगै दक्षिण छिमेकी भारतले लागाएको नाकाबन्दी, तराईमा जारी मधेस आन्दोलनले शिक्षालाई नराम्ररी थिलथिलो बनायो । महिनौ शिक्षालय बन्द हुँदा आम शिक्षक, विद्यार्थी प्रभावित भए । जब व्यक्तिको दैनिक जनजीवन प्रभावित हुन्छ शिक्षा र सिकाइ गतिविधि त्यसबाट स्वत प्रभावित हुन्छन् । अघिल्लो वर्षमा हाम्रो सिकाइमा पनि गाढा कालो वादल लाग्यो । हामी अब पनि चनाखो नहुने हो भने त्यसको असर वर्षौसम्म परिरहने छ ।

२०७३ सालमा हामीले यी सारा घाउमा मलम पट्टी लगाउनु पर्नेछ ।

यद्यपि महाविपद् पछि संसारका सहयोगी मनहरु जुटेका छन् । कसैले स्कुल बनाइदिएका छन् । कसैले केटाकेटीलाई पोशाक, पुस्तक र कलम थमाएका छन् । मन गाँठो पारेर भए पनि यस्ता दृश्यले हामीलाई सकारात्मक उर्जा दिइरहेको छ । सबैभन्दा ठूलो कुरा टुक्राटुक्रा भएर पनि हामी आफ्नै खुट्टामा उभिने साहस गरिरहेका छौं । अबको आवश्यकता त्यो साहसलाई एकजुट बनाएर हामीले आफूलाई सक्षम सावित गर्नु छ । त्यसका लागि २०७३ का दिनहरु हाम्रा सामु उपस्थित छन् ।

समस्याबीच २०७२ मा शिक्षामा केही सकारात्मक कामहरु भएका छन् । जस्तो एसएलसीलाई अंकबाट अक्षर ग्रेडिंगमा लगिएको छ । नयाँ प्रणाली विवाद् मुक्त छैन तर यसले विद्यालयका पछिल्ला कक्षा तथा उच्च माध्यमिक तह र उच्च शिक्षामा पनि ग्रेडिंगको व्यवस्था गर्नु पर्ने आवश्यकता छ भन्ने देखाएको छ । २०७२ हामी शिक्षामा कति नालायक छौं भनेर प्रमाणित गर्ने उचित अवसर बनेको छ ।

राज्यलाई चुनौति दिँदै चलेका भारतीय विद्यालयहरुलाई नियमन गर्ने निर्णय अर्को सकारात्मक कदम हो । कार्यान्वयनका चुनौतिहरु छन्, तर निजी विद्यालयलाई शुल्क र सञ्चालन मादण्डको व्यवस्था गरेर मुलुकमा राज्य पनि छ भन्ने थोरै भने पनि अनुभूति दिनु अघिल्लो वर्ष भएको अर्को स्वागत योग्य कदम हो । यसले पनि शिक्षाको सुधार र सकरात्मक परिवर्तनमा धेरथोर मद्दत पक्कै पुर्याउने छ ।
अब भोलिका दिनमा खबरदारी जारी राख्नु पर्ने चुनौति हामी सामु छ ।

जीवनमा समस्याहरु आउँछन् । हरेक नयाँ समस्याले समाधानका उपायहरु पनि सिकाएर जान्छन् । जीवन निरन्तर सिकाइको एउटा प्रकृया हो । २०७२ यस्तै नयाँ सिकाइको एउटा वर्ष भएर अब इतिहासमा बिलुप भएको छ । इतिहास नसम्झिने हो भने हामीले आफूलाइ सग्लो उभ्याउन सक्दैनौँ । इतिहास सम्झेर आफूमा सबल, सक्षम, साहसको उर्जा सञ्चार गर्न हामीसित २०७३ का पूरा ३६४ दिन बाँकी छन् ।

संसार समस्या रहित छैन । समस्याको कुनै निश्चित रंग हुँदैन । त्यसैले हामी सित बहुरंगी अनन्त दुःखहरु छन् । विगत वर्षजस्तै २०७३ सालमा इमान सहित निर्भिक भएर आफूलाई संसारमा सग्लो उभ्याउन सकौँ । अनन्त दःखहरु वीच एक धर्को सप्तरंगी मुस्कान जोगाएर जीवनमा सकरात्मक उर्जा छरिरहौँ । यो वर्ष हामीलाई मुस्काउने उर्जा प्राप्त होस् ।

शुभहोस्, सबैलाई २०७३ को शुभकामना । 

प्रकाशित मिति २०७३ बैशाख १ गते

प्रतिक्रिया