Edukhabar
शुक्रबार, २८ बैशाख २०८१
विदेशमा शिक्षा क्यानडा

अंग्रेजी शिक्षकको इञ्जिनियरिंग ग्रयाजुएसन

शुक्रबार, १४ जेठ २०७३

- अनमोलमणि पौडेल / एडमण्टन, क्यानडा - त्यसो त रुपक अधिकारीलाई नेपालमै पनि नपुग्दो केही थिएन । अंग्रेजी साहित्यमा स्नातकोत्तर गरे पछि राजधानीको प्लस टुमा कार्यक्रम को अर्डिनेटर हुदै आफ्नै प्लस टु पनि चलाएका थिए । शिक्षण सिकाइमा विशेष गरी उच्च शिक्षा अध्यापनका लागि उनी योग्य थिए । त्यो अवसर पाएकै पनि थिए ।

राजधानी काठमाडौं बसिरहेका संखुवासभाका यी युवालाई एकाएक मनमा के आयो भने, ‘साराका सारा विदेशिएका छन्, होइन विदेशनै पो जानु पर्छ कि क्या हो ?’ मनमा के लागेथ्यो उनले तयारी सुरु गरे । छेकबार केही थिएन । २०१२ को एक दिन उनी नेपालको सम्भावित सबै भविष्य छाडेर क्यानडाको आप्रवासी हुन उडे ।

उनलाई लागेको थियो स्नातकोत्तर गरेको व्यक्तिका लागि क्यानडामा के गारो होला र ? केही न केही गरेर ज्यान त पालि हालिन्छ । त्यस माथि शिक्षणमा लागेको छु, शिक्षणमै पनि त केही अवसर त कसो नपाइएला ?
अवस्था भने जस्तो भएन । न नेपालको डिग्रीले काम गर्यो, न अनुभवले । आफ्नो क्षेत्र बाहिर सामान्य दिन चर्याको मजदुरी जीवन सुरु भयो । त्यस पछि उनलाई लाग्यो, ‘होइन यहाँ नपढी हुँदैन । र म पढ्छु ।’

पढ्नु त्यति सजिलो थिएन । पढ्नका लागि विश्वविद्यालय र प्राविधिक शिक्षालयहरु त प्रसस्तै थिए, के पढ्ने आत्म निर्णय महत्वपूर्ण थियो । बुझबुझारथमा उनलाई भन्थे, ‘यहाँ अरु पढेर कामै छैन, इञ्जिनियरिंगनै पढ्नु पर्छ ।’ कारण थियो धेरैले इन्जिनियरिंगनै पढेका थिए । कच्चा तेलको उत्पादन स्थल भएकाले इञ्जिनियरिंगमा अवसर धेरै छ भनेर उनलाई धेरैले सुझाए ।

तर त्यसका लागि भर्ना त्यति सहज थिएन । किनभने उनको विषय मिल्दैन थियो । कताको अंग्रेजी भाषा साहित्य कताको इञ्जिनियरिंग । कुनै छेउ टुप्पो मिल्ने छाँट उनले देखिरहेका थिएनन् ।

अंग्रेजीका स्नातकोत्तर भएकाले उच्च शिक्षामा उनले विज्ञान र गणित पढेका थिएनन् । इञ्जिनियरिंग पढ्ने हुँदा पहिले उनले त्यसलाई अपग्रेड गरेर भर्ना योग्य हुनु पथ्र्यो । र त्यसको प्राप्तांंकका आधारमा इञ्जिनियरिंगमा आवेदन दिनु पथ्र्यो । नाम निस्किन्छ भन्ने पक्का थिएन । उनका लागि यो चुनौति नै थियो । यद्यपि यसरी विषय अपग्रेड गर्ने र पढ्ने उनी एक्लो भने होइनन्, थिएनन् । नेपाली र अन्य समुदायका आप्रवासीहरुले उच्च शिक्षा र विषयान्तरको अध्ययनका लागि अपग्रेड गरिरहेका छन्, थिए ।

त्यो यहाँको न्यूनतम मापदण्ड थियो ।

इञ्जिनियरिंग पढ्ने भए पछि उनले गणित र विज्ञान अपग्रेड गर्न वर्ष दिन खर्चिए । त्यसमा उनी अब्बलनै देखिए । १ हजार ६ सय आवेदकबाट ९० जनाको पावर इञ्जिनियरिंगको कोटामा पनि छानिए । अब सुरु भयो उनको फरक धारको पढाइ अर्थात् कविता, साहित्य, निबन्ध, भाषाको व्याख्यामा समय खर्चिने अंग्रेजी विषयको एउटा माष्टरको प्राविधिक पढाइ ।

‘साहित्यमा गरेको व्याख्या जस्तो उत्तरले यसमा काम नगर्ने, प्राविधिक विषय भएकाले ट्वाक्क उत्तर चाहिने । व्याख्या लम्बेतान भन्दा पनि सुत्रात्मक हुनु पर्ने’, उनले आफ्नो अनुभव सुनाए, ‘प्रयोगात्मक कुरामा धेरै ध्यान दिनु पर्ने । सोचेजस्तो सजिलो त छैन, तर त्यस्तो अप्ठेरो पनि छैन ।’

रुपकको इञ्जिनियरिंग यात्रा त्यति सहज थिएन । बाँच्नलाई काम गर्नु पर्ने बाध्यता, पारिवारिक जिम्मेवारी र नयाँ विषयमा गर्नु पर्ने मेहनत उनका सामु चुनौति थिए ।

चुनौतिहरु पार गर्दै त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर एउटा ठीटो हप्तामा दुई दिन काम गरेर वैशाखको अन्तिम साता दीक्षान्तको गाउन लगाएर क्यानडामा पावर इञ्जिनियरिंगको ग्रयाजुएसनमा सहभागी भयो । र त्यसको झण्डै दुइ हप्ता पछि क्यानडाकै उत्कृष्ट विश्वविद्यलाय मध्येको एक युनिभर्सिटी अफ अल्बर्टामा पावर इञ्जिनियरको जागिरे भयो ।

‘अरुनै फ्याकल्टीबाट आएकाले पनि इञ्जिनियरिंग लगायत प्राविधिक विषय पढ्न पाउने यहाँको अवसर गज्जबको छ’, ग्रयाजुएसनमा उनले भने, ‘यसले आफूलाई अपग्रेड गराउन चाहने, समय, लगन र क्षमता पनि भएकालाई नयाँ क्षेत्रमा जाने ढोका खोल्ने रहेछ ।’

नेपालको व्याख्यात्मक, सैद्धान्तिक र अंक मूल्यांकनका आधारमा क्षमता मापन हुने प्रणालीमा अभ्यस्त उनलाई यहाँ हरेक दिन दिनु पर्ने परीक्षा, सैद्धान्तिक सँगै व्यवहारिक ज्ञानको अभ्यास र अक्षर ग्रेडिंगका आधारमा हुने मूल्यांकन प्रणालीमा अभ्यस्त हुन केही समय लाग्यो । उनले भने, ‘यहाँ सैद्धान्तिक ज्ञान र त्यसलाई व्यवहारमा कसरी लागू गर्ने भन्ने कुरा सँगसँगै पढाइ हुने रहेछ । किताबमा पढेका धेरै कुरा व्यवहारमा प्रयोग गर्दै सिक्ने वातावरण, शैक्षिक सामग्री, स्थान र अवसर विद्यार्थीलाई दिइने रहेछ । जसले पढाइ सक्ने वित्तिकै आफ्नो विषयमा काम गर्न आँट र क्षमता दुवै दिने रहेछ ।’

यहाँसम्म आउन र पढ्न उनलाई नेपालकै शिक्षाले सघायो । वर्षौ उनले शिक्षक भएर बिताए । उनले पढे पढाएको र यहाँ पढ्दाको फरक के रहेछ ? ‘हामीले नेपालमा सिद्धान्त राम्ररी पढाएछौं, भाषा सिकाएछौं तर पढाएका सैद्धान्तिक ज्ञानलाई व्यवहारमा कसरी र कहाँ लागू गर्ने भन्ने सिकाउन सकेका रहेनछौं, छैनौं,’, अनुभव सुनाए, ‘विद्यालय तह देखिनै शिक्षण शैली र मूल्यांकन पद्दतीलाई बदल्ने हो भने नेपालको शैक्षिक जनशक्ति संसारमा जहाँ पनि बिक्न सक्छ ।’

नेपालमा पनि त्रिभुवन विश्वविद्यालयको प्राविधिक शिक्षा इञ्जिनियरिंग, चिकित्सा शास्त्र र वन विज्ञान उत्कृष्ट मानिन्छ ।

नेपालमा अंग्रेजी पढेकाहरुले प्राविधिक विषयमा फड्को मार्ने कल्पना पनि गर्न सक्दैन । पहिलो त प्लस टुमा विज्ञान नपढेकाले त्यो विषय पढ्न सक्दैनन् भन्ने आम मान्यता छ । दोस्रो आवश्यक ज्ञान चाहिने विषय अपग्रेड गराउने पद्यति प्रभावकारी रुपमा विकास भएको छैन । जसले रुपक जस्ता अंग्रेजी पढेर पनि आफूलाई इञ्जिनियर, डाक्टर वा अन्य प्राविधिक विषय पढ्न चाहनेहरुलाई अवसर छैन ।

जसले गदौ उनीहरुले प्लस टुमा जे विषय पढे जिन्दगी भर त्यसैमा अल्झिरहनु पर्ने बाध्यता छ । रुपकका बुझाइमा पहिलो निम्न र मध्यम वर्गकाले प्राविधिक शिक्षामा आर्थिक हिसाबले पहुँच पुर्याउन सक्ने अवस्था छैन । दोस्रो आर्थिक हिसाबले सबल र पढ्न पनि सक्नेहरुलाई विश्वविद्यालयहरुमा त्यो वातावरण र अवसरनै छैन ।

‘विश्वविद्यालयमा जब मार्केट अुनसार विद्यार्थीले चाहेको पढ्न पाउने वैकल्पिक अवसर नभएकाले शैक्षिक बेरोजगारी बढेको हो’, उनलाई लाग्छ, ‘विद्यालय र विश्वविद्यालयले अहिले पढाइरहेकै विषयलाई प्रयोगात्मक र व्यवहारिक बनाइदिने हो भने पनि धेरै समस्या समाधान हुन्छ । वर्षमा छ महिनामा एक पल्ट परीक्षा लिएर विद्यार्थीको खास क्षमता मूल्यांकन कसरी हुन्छ ? विद्यार्थीलाई व्यवहारिक ज्ञानका लागि खार्न निरन्तर मूल्यांकन जरुरी छ ।’

छन त नेपालमा पनि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् छ तर त्यसले आफूलाई गतिलो सित उभ्याउनै सकेको छैन । त्यसले फराकिलो अवसर प्रदान गर्न सकेको छैन ।

आप्रवासीहरुको दोस्रो घरका रुपमा चिनिने क्यानडाका विश्वविद्यालयमा नेपाली र आप्रवासी नेपाली विद्यार्थीको संख्या ५० सौँ नम्बरमा पनि आउँदैछ । २०१४ डिसेम्बरसम्मको तथ्यांक अनुसार क्यानडामा ३ लाख ३६ हजार ४ सय ९७ जना विदेशी विद्यार्थी अध्ययनरत छन् । त्यसमा नेपाली विद्यार्थीको संख्या अत्यन्त नगन्य छ । सबैभन्दा बढी चीनिया विद्यार्थी क्यानडामा अध्ययन गरिरहेका छन् र उनीहरुको संख्या १ लाख २८ हजार ७ सय ५० छ । दोस्रो नम्बरमा भारतका विद्यार्थी ५२ हजार  सय ७८ र तेस्रो नम्बरमा कोरियाका विद्यार्थी २७ हजार ८ सय ४३ छन् । तथ्यांकमा नेपाली विद्यार्थी ५० सौं नम्बरमा पनि पर्दैनन् ।

उक्त तथ्यांक अनुसार रुपकले पढेको अल्बर्टा प्रान्तमा १७ हजार ८ सय ३८ विदेशी विद्यार्थी अध्ययनरत छन् । आप्रवासी विद्यार्थीलाई विदेशी विद्यार्थीमा राखिएको छ कि छैन तथ्यांकमा खुलाइएको छैन ।

पछिल्लो समय क्यानडामा विषयान्तर गरेर अध्ययन गर्न चाहने आप्रवसी नेपाली विद्यार्थी विषय अपग्रेड गरिरहेका छन् । र कति चाहिँ गैर प्राविधिकबाट आफूलाई प्राविधिक विषयको विद्यार्थीका रुपमा ढालिरहेका छन् ।
रुपक भन्छन्, ‘भाषा, साहित्य र त्यसका सिद्धान्तहरु उतै पनि पढियो । त्यसमा खासै फरक नहोला भन्ने लाग्छ । त्यही भएर मैले आफ्नो रुची अनुसार विषयान्तर गरेको हुँ । आप्रवासी भएर आएकाले भोलिका लगि यहाँको जव मार्केटमा आफूलाई उभ्याउन र प्राविधिक सीपको प्रतिस्पर्धी बन्न ।’

प्रकाशित मिति २०७३ जेठ १४ गते

प्रतिक्रिया