Edukhabar
आइतबार, ०९ बैशाख २०८१
गुरुबा / गुरुआमा

दोष जति शिक्षकलाई थुपारेर राज्य पन्छिने ?

शनिबार, १५ साउन २०७३

- होमबहादुर अधिकारी

पूर्व प्रधानाध्यापक, जनज्योति उमावि धुपु, संखवासभा

३२ वर्ष शिक्षण पेशामा बिताएका संखुवासभा धुपुस्थित जनज्योति उच्च माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक होमबहादुर अधिकारी यतिखेर क्यानडा भ्रमणमा छन् । यही अवसरमा उनले देशको सामुदायिक शिक्षाबारे एडुखबरका प्रधान सम्पादक अनमोलमणि पौडेलसित लामो कुराकानी गरे । कुराकानीमा उनले भने, ‘राज्य, समुदाय र शिक्षक एक भए सामुदायिक विद्यलाय अझै सुधार्न सकिन्छ ।’ पूर्व प्रधानाध्यापक अधिकारी सित गरिएको कुराकानी :

- तपाईँ कसरी शिक्षण पेशामा लाग्नु भयो ?

मैले २०३६ सालमा एसएलसी पास गरेको । त्यस पछि आइएस्सी पढेँ । त्यतिबेला पढेकै मान्छे पनि कम हुन्थे र साइन्स पढेका मान्छे त झन् थोरै हुन्थे । त्यही मेसोमा म शिक्षक बनेँ । ५ सय २८ रुपैँया तलबबाट शिक्षण पेशा थालेको शिक्षक बनेरै ३२ वर्ष बितेछ ।

- ३२ वर्षे शिक्षण जीवन प्रति सन्तुष्ट हुनुहुन्छ ?

असन्तुष्ट हुनु पर्ने त्यस्तो ठूलो कुनै कारण त छैन । तर समय बदलिएको छ । हिजोको मेरो पालामा मैले जसरी पढेँ त्यस्तो छैन । म जतिखेर शिक्षक भएँ अब त्यही तरिकाले शिक्षण चल्दैन । समय सित हामी शिक्षक चल्न सकेका छैनौँ । जति कुरा देखे पनि सबै नयाँ कुरा जस्तो लाग्छ । हिजोको जस्तो त्यो चार्म शिक्षणमा मैले देखिरहेको छैन । झन् झन् धेरै वर्ष भयो झन् झन् केही नजाने जस्तो अनुभव गरिरहेको छु । सँगसँगै सिकी पनि रहेको छु । कक्षामा केटाकेटी अन्य कुराहरुमा म भन्दा जान्ने पनि छन् । उस्तै गरी पछिल्लो समय केटाकेटीमा पढाइ प्रतिको रुची चाहीँ कम हुदै गएको पनि देख्छु । ३५ वर्षे शिक्षण अवधीमा मैले के सिकेँ, के सिकाएँ र सिकाइरहेको छु ठीक सिकाइ रहेको छु कि गल्ती अझै दोधारमै छु । किनभने पछिल्लो घडीमा अपेक्षित नतिजा प्राप्त हुन नसक्नुका कारण पनि मलाई लागेको हनुसक्छ । ३५ वर्ष यही पेशामा बिताएँ असन्तुष्टनै त के भन्नु तर पूर्ण सन्तुष्ट नै हुन सकिनँ कि भन्ने पनि लाग्छ ।

- विद्यार्थीका कारण, शिक्षण शैलीका कारण, तपाई आफ्नै क्षमता वा शिक्षकका कारणले यस्तो दोधार वा असन्तुष्टि भएको हो कि ?

दोधार वा असन्तुष्टि जे भए पनि पहिलो कारण त आफैलाई मान्नुपर्छ । शिक्षक भएर कति गर्न सक्थेँ मैले आफ्नै मूल्यांकन गर्नुपर्छ । मैले आफूलाई मूल्यांकन गर्दा मैले सधैँ इमानदार भएर विद्यार्थीका लागि गरेँ । मैले गरे जति विद्यार्थीले लिए कि लिएनन् भन्ने अर्को पाटो पनि छ । त्यो चाहिँ मैले अहिले आफैलाई सोधिरहेको छु । मैले पढाएका विद्यार्थी डाक्टर, इञ्जियिनर, शिक्षक, सरकारी अफिसर, सेना, पुलिस राजनीति सबै क्षेत्रमा लगेका छन् । तिनलाई भेट्छु । खुसीनै लाग्छ । म तपाईको विद्यार्थी भन्छन् आदरै गर्छन् ।

तर समयले नै दोधारलाई बढायो, बढाउने रहेछ । अघि पनि भनेँ, बेला हिजो जस्तो रहेन । मैले मात्रै होइन मेरो बेलाका शिक्षकले आफूलाई समय अनुसार बदल्न सके सकेनन् भन्ने मूल कुरा हो । पढाउने शैली पनि बदलिएको होला तर हाम्रो भौतिक, शैक्षिक र सामाजिक अवस्थामा हामीले कसरी शिक्षण शैलीलाई अगाडि बढायौँ त्यो कुरा पनि अहिले सोच्नु पर्ने होला । उमेरले बुढो हुँदै गए पछि हिजैको जस्तो उर्जा र उत्साह त कहाँ सधैँ रहने भयो र !

- त्यसो भए सामुदायिक विद्यलायको शिक्षक भएकामा तपाईलाई गर्व लाग्छ कि ग्लानी ?

शिक्षक बन् भनेर कसैले जोर जबरजस्ती गरेको होइन, म आफै शिक्षक भएको हुँ । शिक्षक भएकामा मलाई गर्व छ । जानेको ज्ञान बाँडेको छु इमानदार भएर सिकाएको छु, सिकेको छु । ग्लानी कुनै कुरामा छैन । मैले शिक्षक भएर ग्लानी नै गर्नु पर्ने त्यस्तो कुनै काम गरेको पनि छैन ।

- सामुदायिक विद्यालयको सिकाइ खस्केको खस्क्यै छ, साख घटेको घट्यै छ, त्यसमा चाँहि शिक्षकका हिसाबले दुःख लाग्दैन ?

त्यसमा दुःख लाग्छ । सामुदायिकको साख यसरी खस्किँदै गएको धेरै भएको छैन र यसमा दोषी शिक्षक मात्रै होइनन् । जुन दिन देखि निजी विद्यालय बढे त्यस पछि सामुदायिक प्रतिको आम मोह बदलिँदै गएको हो । हिजो सामुदायिक आवश्यकता थियो, विस्तारै ऐच्छिक हुँदै गयो । अहिले पनि देशका आम नागरिकका छोराछोरी सामुदायिकमै पढ्छन् । सामुदायिकमा वर्षौ शिक्षक भएको, सामुदायिक विद्यालय एक हिस्सा भएको हिसाबले सामुदायिक खस्किनुमा दुःख छ । त्यसको जिम्मेवारी मैले र हामी सामुदायिकका शिक्षकले अंश गत हिसाबले लिनुपर्छ । यसो भनेर शिक्षकका कारण मात्रै सामुदायिक शिक्षा खस्केको होइन । दोषी सामुदायिकका शिक्षक मात्रै होइनन् । मिहिन रुपमा कारणहरु खोजिनु पर्छ । कारण अरु पनि छन् ।

- सामुदायिक शिक्षक उत्तरदायी नभएर सामुदायिक खस्केको भन्नेमा तपाईको असहमति हो ?

अघि पनि भनेँ, सरकारी तलब खाएकाले, वर्षौ सम्म त्यही विद्यालयमा तिनै केटाकेटीसित बसेकाले यसलाई नकार्नु हुन्न । तर कुरा के हो भने शिक्षकमात्रै यसको कारण होइन । देशभरका सबै शिक्षक अनुत्तरदायी छन् त त्यसो भए ? केही शिक्षकको गतिविधिले देशभरका शिक्षकलाई एउटै घानमा हाल्न मिल्छ ? इमानदार शिक्षकका लागि त त्यो अन्याय हो । अर्को कुरा देशमा नीति नियम यति छिटो बन्छन् र फेरिन्छन् भनि साध्ये छैन । नीति नियमको प्रभाव कति पर्यो भनेर हेर्ने चलन हामीमा छैन । नीति नियम पनि त दोषी छन् । नीतिले असफल भनेकै कुरा हामी पटक पटक दोहोर्याउँछौंँ । अझ भन्ने हो भने सामुदायिक विद्यालय खस्किनुमा समुदाय पनि दोषी छ, राजनीति पनि दोषी छ र शैक्षिक प्रशासन र नीति नियम पनि दोषी छ । विशेष गरी राज्य, समुदाय र शिक्षकलाई यो दोषको जिम्मेवार मान्नु पर्छ । शिक्षक मात्रै भन्दा अलि अन्याय हुन्छ । दोषको एक भाग शिक्षकले लिनु पर्छ ।

- शिक्षकहरु कक्षाको साटो राजनीति, सिकाइको साटो दलको झण्डा बोकेर हिंडेको त सत्य हो नि होइन ?

त्यो सत्य हो । व्यक्तिको विचार हुन्छ, विचार प्रति झुकाव हुन्छ । त्यसो भन्दैमा सबै कक्षा छाडेर राजनीतिमै लागेका छन् र दलकै झण्डा बोेकेर हिंडेका छन् भन्न पनि मिल्दैन । किनभने गर्नेलाई प्रोत्साहन र नगर्नेलाई कारबाहीको व्यवस्था नहुँदा यस्तो कुरा मौलाएको हो । मरि मरी गर्दा पनि उही, नगर्दा पनि उही हुने भएपछि सामुदायिक प्रति शिक्षकले जिम्मेवारी बोध नगरेका पनि हुन सक्छन् । त्यसका लागि त राज्यले, नीति नियमले समान रुपमा हेर्नु पर्यो नि । राज्य दोष जति शिक्षकलाई थुपारेर पन्छिन मिल्दैन ।

- तर विज्ञहरु त शिक्षक इमानदार भए सामुदायिकको अहिलेको धेरै समस्या सुध्रिन्छ भन्छन्...

त्यो कुरा पनि आंशिक सहि हो । शिक्षक मात्रै होइन, विद्यालयको भौतिक र सामािजक अवस्था पनि सुधार्नु जरुरी देखन्छ ।

- तपाईलाई के लाग्छ, यो अवस्थामा सामुदायिकको स्तर सुधार्न सकिन्छ कि सकिँदैन ?

गर्दा नहुने संसारमा केही छैन यो हाम्रो विद्यालय हो । राज्यको विद्यालय हो । समुदायको विद्यालय हो । राज्यको अर्बौँ लगानी भएको छ । तर सामुदायिकलाई सबैले अपनत्व महसुस नगरे सम्म सुधार प्रयास प्रभावकारी हुन्छ जस्तो मलाई लाग्दैन । समुदायले पनि आफ्नो भन्नु पर्यो र अपनत्व फिल गरेर जिम्मेवारी लिनु पर्यो । शिक्षक र राजनीतिक दलले पनि त्यो अपनत्व फिल गर्नुपर्छ । आफू बोर्डिंग स्कुल खोल्ने, बोडिंगमा छोराछोरी पढाउने र सामुदायिक बिग्रियो, सप्रेन, शिक्षकले बिगारे भनेर मात्रै सामुदायिक सप्रिँदैन । आफ्ना छोराछोरी पनि सामुदायिकमै पढाउँ, सामुदायिककै सुधारमा लागौँ सुध्रिन्छ । सामुदायिक विद्यालय कामै नलाग्ने छैनन् । छोराछोरी निजीमा पढाएर सामुदायिक बिग्रयो भन्न अलिक सुहाउन्न कि समुदायले पनि ।

- समुदायलाई सामुदायिक विद्यालय गतिलो छैन भन्ने कसले बनायो ? शिक्षकले पनि सामुदायिक राम्रो छ भन्ने बनाउनु पथ्र्यो नि होइन र ?

पक्कै पनि त्यो दायित्व शिक्षकको पनि हो, तर शिक्षकको मात्रै चाहिँ होइन । शिक्षकको किन हो भने शिक्षकले गतिलो पढाएर त्यसलाई गतिलो बनाउनु पथ्र्यो । त्यो हुन सकिरहेको छैन । सिकाइ गतिलो नहुनुमा शिक्षक मात्रै दोषी छैनन् । यसमा समाजको आर्थिक, सामाजिक कारण पनि उत्तिकै जिम्मेवार छ । समुदायले पनि सामुदायिक प्रति जिम्मेवारी पूरा गरेजस्तो लाग्दैन । किनभने लगानी नभए पछि समुदायले पनि चासो नदिने रहेछ । सरकारले सबै लगानी गरिदिएकाले सामुदायिकका अभिभावक सबै काम सरकारको भन्ठान्छन् । विद्यालयमा अभिभावक भेला गर्न पनि हम्मे पर्छ कहिले काहिँ । समुदायको दायित्व भनेको छोराछोरी भर्ना गर्ने मात्रै हो त ? होइन नि ।

- समुदायले हेरेन भनेर शिक्षक फुक्काफाल हुन मिल्छ त ?

मिल्दैन । राज्यको तलव खाए पछि शिक्षकले आफ्नो दायित्व पूरा गर्नुपर्छ । सबै शिक्षक त्यस्ता फुक्काफल छैनन् पनि । हो, सामुदायिकमा शिक्षकले आफूलाई बढी स्वतन्त्र महसुस गर्छन् । त्यसको अर्को कारण के पनि हो भने, शिक्षक नियुक्ति पनि प्रभावकारी रुपमा हुन सकेको छैन । संसारमा गतिलो पढाइ भएकाहरु शिक्षक हुन्छन्, हामी कहाँ अन्त केही गर्न नसक्ने खालका, अलि कमजोरले शिक्षा शास्त्र पढ्छन् र शिक्षक बन्छन् । कहिँ जागिर नपाए शिक्षक बनाइदे बनाइदे भन्छन् । यस्तै कारणले अन्त इज्जत पनि छ पछिल्लो समय शिक्षकको इज्जत खस्किँदै पनि गएको छ । सामान्य राजनीतिक कार्यकर्ताले पनि शिक्षकलाई शिक्षक गन्दैन । दलै पिच्छेका शिक्षक संगठन छन् । त्यसले यो वा त्यो रुपमा शिक्षकलाई राजनीतिक संरक्षण पनि दिएको छ । सरकारी अनुगमन अलिक कमजोरनै छ । दण्ड र पुरस्कारको सही व्यवस्थापन हुन सकेको छैन । यसले पनि शिक्षकलाई फुक्काफाल बनाएको होला भन्ठान्छु । उसै पनि त सरकारी भने पछि हेप्ने पारा छ नि त, सामुदायिक विद्यलाय मात्रै होइन अरु सरकारी निकाय पनि त त्यस्तै देख्छु ।

- त्यही समुदाय किन निजी प्रती बढी आकर्षित भएको होला ?

मूल कारण देखासिकी हो । अर्को चाहिँ सरकरीलाई आफ्नो भन्न लाज मान्ने । गोठ जस्तो बोर्डिंगमा टाइ लगाएर गए सान हुने चट्ट परेको सामुदायिकमा जाँदा इज्जत घट्ने रोगबाट समुदाय पनि ग्रस्त छ । त्यसैले सामुदायिकका प्रति समुदाय प्रभावकारी भएर उभिन सकेको छैन । शिक्षक सबै कुराको जिम्मा लिन चाहन्न । पढाइ पनि निजी र सामुदायिकमा खासै फरक छजस्तो लाग्दैन । निजीले शिक्षकलाई पनि कडी कडाउ गर्छन्, अस्थायी जागिर हुन्छ जागिर जान्छ कि भन्ने यौटा त्रास मनमा हुन्छ । सरकारीमा त्यो हुन्न । सतहबाट जे देखिन्छ कारण ती मात्रै होइनन् सामुदायिक नसुध्रिनुमा एक पक्ष मात्रै दोषी छैन । समुदायको निजी प्रतिको आकर्षण जस्तै जिम्मेवारी बोध गर्ने हो भने सामुदायिक पनि निजी भन्दा कम छैनन् । सानो उदाहरणः सरकारले निशुल्क पुस्तक दिन्छ पुस्तकको सुरक्षा हुँदैन । त्यै पुस्तक निजीवालले दियो भने अभिभावकले जतन गरेर राख्न सिकाउँछन् । मलाई अपनत्व चैँ लगानीले धेरै दिने रछ कि जस्तो लाग्छ ।

- विद्यार्थी पनि पहिले जस्तो छैनन् भन्नु भयो नि, किन ?

हो, पहिले पहिले विद्यार्थीको चासो पढाइमा सिकाइमा हुन्थ्यो । कक्षामा हुन्थ्यो । पाठमा हुन्थ्यो । अहिलेका विद्यार्थीमा म त्यो पाउन्न । प्रविधिको विकासले पनि त्यसो गरेको होला हुन त । तर उनीहरुको जोड पढ्नमा देख्दै देख्दिनँ म ।

- कारण के हो जस्तो लाग्छ ?

हाम्रो सिकाइ सैद्धान्तिक बढी भएर पनि होला । यस अतिरिक्त पाठ्यक्रममा समसामयिक सुधार हुुन नसक्नु पनि प्रमुख कारण हो  । उनीहरु नयाँ समयमा छन्, उनीहरुको चाहना अरुनै चिज सिक्ने भएर पनि होला । हाम्रो पाठ्यक्रम पाठ्यपुस्तक समय सान्दर्भिक भएर नजोडिर होला । अब एउटा शिक्षकका हिसाबले भन्दा मैले पो तिनलाई कौतुहल बनाउन सकिन कि भन्ने पनि लाग्छ कहिलेकाहिँ । परिवारका आर्थिक सामाजिक कारण पनि होलान् ।

- सामुदायिकको अर्को समस्या, विद्यार्थी सबैभन्दा बढी गणित, अंग्रेजी विज्ञानमा फेल हुन्छन् । तपाई भाषा पनि पढेको साइन्स पनि पढेको म्याथ पनि पढेको शिक्षक, कारण के जस्तो लाग्छ ?

गणितमा शिक्षक भेट्नै गाह्रो छ । शिक्षक भएका ठाउँमा गणित भनेको अप्ठेरो विषय भन्ने बुझाइ व्याप्त छ । त्यो हटाउन सकिएको छैन । गणितको जीवन उपयोगिता बारे बुझाउन हामी शिक्षकले सकेका छैनौँ । पाठ पढाउँछौ, सुत्र घोकाउँछौ, त्यसलाई जीवनोपयोगी कसरी बनाउने र त्यो कहाँ लागू हुन्छ बुझाउन सकेका छैनौँ । यस्ता कति कुरा शिक्षकलाई पनि थाहा छैन ।

अंग्रेजी कमजोर हुनु त भाषाको कुरा भयो । हाम्रा लागि यो दोस्रो भाषा भएकाले पनि सिकाइमा समस्या भयो । ४५ मिनेटको अंग्रेजी कक्षामा शिक्षकले आधा नेपालीमै पढाउँछन् ।  

राज्यले शिक्षक दरबन्दी दिन्छ तर विद्यालयमा त्यो अपुग छ । शिक्षक अभाव भएपछि आधारभूत कुरा सिक्न पनि समस्या छ । अप्ठेरो विषय भने पछि विद्यार्थी पनि त्यति चासो दिँदैनन् । फेल भए पनि अप्ठेरो विषय भएकाले फेल भएको भन्ठान्छन् ।

- शिक्षक पनि छ, कक्षा पनि जान्छ, पढाउँछ पनि, विद्यार्थी चैँ किन कमजोर हुन्छ अनि ?

मैले भनेँ, त्यै भएर यो शिक्षकको मात्रै दोष होइन । शिक्षक अपडेट हुनुपर्छ तयारीका साथ कक्षामा जानु पर्छ । शिक्षकले आफ्नो ज्ञानको भण्डार पनि फराकिलो पार्नु पर्ने छ त्यो अर्को कुरा । शिक्षकले पढाउँदा पढाउँदै पनि कमजोरी छ सामुदायिकमा । मैले सिकाइ सुधार्न कोचिंग क्लास पनि चलाएँ, विद्यार्थी पढे पनि तर गतिलो नतिजा आउन सकेन । कारण चाहिँ हाम्रो नीतिले पनि हो कि जस्तो लाग्छ । तल्ला कक्षा स्वत पास भन्ने नीतिले माथिल्लो कक्षामा समस्या आएको हो । सरकारी नीति बारेको अनावश्यक हल्लाले पनि कति समस्या निम्त्याएको छ ।

- कन्टिन्यू एसिस्मेन्ट भन्या त स्वत पास भन्दा पनि नियमित परीक्षण गरेर कक्षाको सिकाइमा दक्ष बनाउ भन्ने हो नि, कहाँ स्वत पास भन्या छ र ?

नियमित परीक्षणणको कुरा अत्यन्त राम्रो हो । त्यो त्यति सजिलो छैन । अधिकांश विद्यालयमा शिक्षक हेडमाष्टरले त्यसलाई राम्ररी बुझेका पनि छैनन् । नियमित परीक्षण चाँहि अलिक झण्झटिलै छ ।
विद्यार्थीको रेकर्ड, उसको परीक्षा छुट्टै फाइल त्यो गारो छ । अहिलेकै अवस्थामा सामुदायिक विद्यालयमा त्यो सबै सम्भव छ जस्तो मलाई लाग्दैन ।

- अब त ग्रेडिंग सिष्टम आयो त्यसले फाइदा गर्छ त सामुदायिक विद्यालयलाई ?

यो झन् कसैले बुझेका छैनन् । यसैपाली सुरु भयो यसै पाली अन्यौल नै भयो । हामीलाई पनि तालिम दिइएको हो ग्रेडिंगबारे । हामीले नबुझेको कुरा सोध्यौ तालिम दिनेले त्यसको आलटाल जवाफ दिए । हामीनै यसबारे क्लियर छैनौं क्लियर भएपछि भनौँला भने । आखिर लागू भइसक्यो तर धेरैले यसबारे बुझेका छैनन् ।

- शैक्षिक मुद्दा विद्यालयमा बुझाउने र विद्यालय सुधार गर्नेमा हेडमाष्टरको भूमिका चाहिँ के हुन्छ ?

हेडमाष्टरले सबै कुरा गर्छु भनेर गर्न सक्दैन । उसका पनि आफ्ना दायराहरु छन् । सधै सँगै काम गर्नु पर्ने शिक्षक र समुदायसितको सबन्ध बिगार्न चाहँदैन । हेमाष्टरले लिएका तालिम र सुधार्नु पर्ने कुराबारे शिक्षक सित सल्लाह सहकार्य गर्न सक्छ । अभिभावकसित कुरा गर्न सक्छ । हेडमाष्टरको भूमिका त हुन्छ त अहिलेको राजनीतिक सामाजिक र विद्यालयको आर्थिक अवस्थामा त्यो त्यति सहज छैन ।

- शिक्षकको जागिर अस्थायी हुने हो भने समस्या हट्थ्यो कि त ?

त्यसो पनि होइन होला, सबै कुरा पद्यती, नीति, राजनीति र अनुशासनको हो । यो कुरा तत् व्यक्तिले जान्नु पर्ने कुरा हो । स्थायी शिक्षकले राम्रो गर्छन् भन्दा पनि राज्यले सेवा सुविधा दिएमा भएकै शिक्षकलाई प्रयोग गरेर पढाइ सुधार्न सक्छ ।

प्रकाशित मिति २०७३ साउन १५ गते

प्रतिक्रिया