Edukhabar
मंगलबार, २७ जेठ २०८२
अन्तैवाट

सामुदायिक विद्यालयको पढाइ हुन सक्छ उत्कृष्ट

विहीबार, २३ भदौ २०७३


काठमाडौं २३ भदौ / आज ३७ औं शिक्षा दिवस। यस वर्षको नारा छ– समृद्ध राष्ट्रका लागि जीवन उपयोगी शिक्षामा लगानी। नारा यस्तो भए पनि शिक्षामा राज्यले गर्ने लगानी बर्सेनि घट्दो छ। विगतमा मुलुकको कुल बजेटको १७ प्रतिशतसम्म शिक्षामा छुट्याइने गरेकामा बर्सेनि घट्दै गएर योपल्ट करिब ११ प्रतिशतमा झरेको छ। यो वर्ष शिक्षामा एक खर्ब १६ अर्ब बजेट छ। यसमध्येको झन्डै ८५ प्रतिशत विद्यालय शिक्षामा जान्छ। २९ हजार सामुदायिक विद्यालयका करिब २ लाख शिक्षकको तलबभत्तामा मात्रै ५८ प्रतिशत जान्छ। एसएलसी नतिजामा भने तिनै सामुदायिक विद्यालयको अवस्था नाजुक छ। त्यस्ता विद्यालयमा १ देखि १० सम्ममा गरी ५८ लाख ६२ हजार विद्यार्थी छन्।

पछिल्लो एसएलसीमा एक जना विद्यार्थीको मात्र जीपीए ४ आएको थियो। ती विद्यार्थी निजीकी थिइन् भने जीपीए ३.९५ ल्याउने ३६ विद्यार्थीमध्ये सामुदायिकबाट एक जना मात्रै परे। त्यस्तै जीपीए ३.९० ल्याउने २ सय ६५ मा १८ जना मात्रै सामुदायिकबाट छन्। उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ मा भर्ना हुन न्यूनतम १.६० जीपीए ल्याउनुपर्ने मापदण्ड निर्धारण गरेको थियो। त्यसभन्दा कम ल्याउने निजी विद्यालयका ६४ हजार ७ सय ३३ जनामध्ये ९ सय ९६ मात्रै निजी विद्यालयका थिए। अरू सबै सामुदायिकका।

एसएसलीको यो परिणामले सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास गुम्दै गएको छ। कक्षाकोठा खाली हुने क्रममा छन् भने कतिपय विद्यालयमा विद्यार्थीभन्दा शिक्षक धेरै भइसकेका छन्। शिक्षकको दरबन्दी व्यवस्थापन हुन सकेको छैन। अभिभावकको पहिलो रोजाइ निजी विद्यालय भएपछि सामुदायिक विद्यालयमा विद्यार्थी कम हुँदै गएको हो। निजी विद्यालय छाडेर सामुदायिकतर्फ जाने विद्यालय पनि छन्। यस्ता विद्यालय सीमित छन्।
यति धेरै प्रतिकूल परिस्थितिमा पनि केही यस्ता सामुदायिक विद्यालय छन्, जसले साँच्चै उदाहरणीय काम गरेका छन्। शिक्षा दिवसका अवसरमा सरकारले मुलुकभरका ६ हजार एक सय ४० माध्यमिक विद्यालयमध्येबाट त्यस्ता ७ वटालाई उत्कृष्ट छनोट गरेको छ।

गत वर्षको एसएलसीको नतिजा र कक्षा ९ मा भर्ना भएका विद्यार्थीका आधारमा छानिएका यी विद्यालयको पढाइ सुविधासम्पन्न निजीको भन्दा कमजोर छैन। अंग्रेजी माध्यमबाट पढाइ हुन्छ। विद्यार्थीको सिकाइ उपलब्धि राम्रो छ। व्यवस्थापन चुस्त छ। शिक्षकहरू राजनीति छाडेर नियमित कक्षामा खटिन्छन्, जसले गर्दा त्यहाँ कार्यरत शिक्षक र कर्मचारीका छोराछोरी पनि तिनै स्कुलमा पढ्छन्। यस्तो छ ती विद्यालयका सफलताको कथा–

जसले हिमाल हँसाउँछ
सोलुखुम्बुको खुम्जुङ माविलाई हिलारी स्कुलले चिनिन्छ। एडमन्ड हिलारीले आफूलाई हिमाल चढाउने शेर्पाको गुन तिर्न ३ हजार ७ सय ९० मिटरको उचाइमा ०१८ मा खुम्जुङमा विद्यालय खोलिदिएका थिए। ०२८ मा यो विद्यालय सरकारी बन्यो। ०३९ मा माध्यमिक तहमा स्तरोन्नति भयो। वरिपरि मुस्किलले ६० घर छन्। तर, विद्यालयमा तीन सय ५० विद्यार्थी पढिरहेका छन्। कतिपयका छोराछोरी नभए पनि अन्यत्र रहेका आफन्तका छोराछोरी पनि पढाउन ल्याएका छन्।

प्रधानाध्यापक शम्भुप्रसाद बास्तोलाका जेठा छोरा सौगातले गत वर्ष यही विद्यालयबाट एसएलसी दिए। ३.५५ जीपीए ल्याए। उनले कान्छा छोरालाई संगीत पनि बोर्डिङबाट झिकेर आफ्नै विद्यालयमा भर्ना गरेका छन्। अन्य सात जना शिक्षकका छोराछोरी यही विद्यालयमा पढछन्। टाढा घर भएका विद्यार्थी होस्टेलमा बस्छन्।

विद्यालय सुधार्न समुदायको पनि उत्तिकै मेहनत छ। खुम्जुङ १ को यो विद्यालय यसपालि दुर्गम क्षेत्रबाट उत्कृष्ट ठहरियो। सदरमुकाम सल्लेरीदेखि ५ दिन पैदल हिँडेर पुगिने यो विद्यालय हरेक वर्ष जिल्लाको उत्कृष्टभित्र पर्छ। ०६१ मा पनि क्षेत्रीय पुरस्कार पाएको थियो।

समुदायले विद्यालयका शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुन दिँदैन।  शिक्षकहरू पनि आकस्मिकबाहेक अन्य दिन बिदा लिन पाउँदैनन्। नियमअनुसार पाउने बिदा पनि प्रयोग गर्दैनन्। प्रधानाध्यापक बास्तोलाका अनुसार शिक्षकहरू वर्षमा १२ दिनभन्दा बढी बिदा बस्दैनन्। बिदा नबसेबापत दातृ संस्था र विद्यालयले थप रकम पनि दिने गरेको उनले बताए।  स्थानीयको मागको आधारमा विद्यालयमा पाँच वर्षदेखि अंग्रेजी माध्यमबाट पढाइ हुन्छ। विद्यालयमा कार्यरत पुराना शिक्षकले अंग्रेजी माध्यमबाट पढाउन नसक्ने भएपछि राजधानीका ठूला बोर्डिङ स्कुलमा एक महिनासम्म तालिम गराए। विद्यालयको व्यवस्थापन बोर्डिङकै जस्तो चुस्त बनाउन नाम चलेका बोर्डिङमा प्रधानाध्यापक सहितको टोलीले एक सातासम्म व्यवस्थापनको पाटो सिके। त्यसैले गत वर्षको एसएलसीमा ३७ मध्ये तीन जनाले ३.५५ जीपीए ल्याए। विद्यार्थीको न्यूनतम जीपीए २.२५ थियो। नतिजा राम्रो बनाउन शिक्षकहरूले पढाउने विधि पनि परिवर्तन गरेका छन्।

मकर श्रेष्ठले कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया