Edukhabar
मंगलबार, २७ जेठ २०८२
अन्तैवाट

वरिष्ठता मिचेर वनविज्ञान डिन सिफारिस

शुक्रबार, २४ भदौ २०७३

काठमाडौं २४ भदौ / नेपाली कांग्रेसनिकट प्रजातन्त्रवादी प्राध्यापक संघ पोखरा क्याम्पस एकाइले प्राज्ञिक मर्यादा र प्रशासनिक कौशलभन्दा राजनीतिक पहुँचका आधारमा वनविज्ञान अध्ययन संस्थानको डिन सिफारिस गरेको भन्दै प्राध्यापकले विरोध जनाएका छन् ।

संघले एकाइ सभापति प्राडा कृष्णराज तिवारीलाई अनुकूल हुने छनोट आधार तयार गरी एकलौटी रूपमा डिन सिफारिस गरेको प्राध्यापकको आरोप छ । तिवारी त्रिवि उपकुलपति तीर्थराज खनियाँनिकट हुन् ।

आउँदो असोज २ गते डिन चिरञ्जीवीप्रसाद उपाध्यायको कार्यावधि सकिँदै छ । विगतदेखि नै संस्थानको डिनमा कांग्रेसकै दबदबा रहँदै आएको छ । यसपालि संघले अवधेश सिंहको संयोजकत्वमा पाँचसदस्यीय समिति गठन गरी मापदण्ड तोकेरै चार प्राध्यापकको नाम सिफारिस गरेको थियो ।

समितिले प्राडा कृष्णराज तिवारी, प्राडा सन्तोष रायमाझी, प्रा.अच्युतराज ज्ञवाली र सहप्राध्यापक डा.राजुराज रेग्मीलाई छनोट गरेकामा संघका सचिव राजन सुवेदीले एकलौटी रूपमा तिवारीको नाम सिफारिस गरेपछि विवाद चुलिएको हो । छनोट मापदण्डमा सबै प्राध्यापकको सहमति नभए पनि उम्मेदवार बनेका सबैका नाम पठाउने सर्त राखिएको थियो । सचिव सुवेदीले कार्यसमितिका अन्य सदस्यको बैठकसमेत नबोलाई आफूखुसी सिफारिस गरेको आरोप छ ।

मापदण्डमा पार्टीलाई सहयोग गरेकोमा ७.५ र पार्टीको विचार अँगालेकोमा ७.५ प्रतिशत अंक राखिएको छ । यसै गरी प्रशासनिक दखलको १० नम्बर, कार्यअवधिको १० नम्बर, प्रोजेक्ट व्यवस्थापनमा १० नम्बर, कार्यरत पदका लागि १० नम्बर, अनुसन्धानका लागि १० नम्बर, कांग्रेस पार्टीमा योगदान गरेबापत ५ नम्बर, संस्थालाई सहयोग गरेकोमा १० नम्बर राखिएको छ ।

‘तर, अन्तिममा संघकै सभापति तिवारीको नाम सिफारिस गरियो,’ एक प्राध्यापकले नागरिकसँग भने, ‘मापदण्ड पनि उनकै अनुकूल बनाएर वरिष्ठहरूलाई लत्याइयो ।’ उनका अनुसार वरिष्ठताका आधारमा तिवारी तेस्रो नम्बरमा पर्छन् । प्राध्यापक ज्ञवाली पहिलो र सन्तोष रायमाझी दोस्रो प्राथमिकताका हुन् ।

उपकुलपति खनियाँनिकट भएकै आधारमा तिवारीलाई डिन बनाउन लागिएको असन्तुष्टको आरोप छ । उनीहरूका अनुसार तिवारीले प्रोजेक्ट ल्याएर उपकुलपतिलाई नर्वे भ्रमणसमेत गराएका थिए । कलेजमा प्रोजेक्ट ल्याएको र सभापति भएकै नाताले उनलाई एकलौटी रुपमा डिन सिफारिस गरिनु उचित नभएको अन्य प्राध्यापकसमेत बताउँछन् । एक प्राध्यापकले भने, ‘डिन भनेको व्यवस्थापकीय पद हो । संस्था हाँक्न सक्ने क्षमता मुख्य हुन्छ तर मापदण्डमा यी विषय पछि पारिएको छ ।’
संघ सचिव सुवेदी भने त्रिविमा भागबन्डाको राजनीतिले शैक्षिक स्तर खस्किँदै गएको बताउँछन् । डिन सिफारिसमा संघले मापदण्ड बनाए पनि राजनीतिक हिसाबले पक्षपाती रहेको उनी स्विकार्छन् । ‘यस वर्ष भने संघले सिफारिस समिति बनाएर मापदण्डका आधारमा नाम सिफारिस गरेको छ,’ उनले भने । तर, उनको दाबीप्रति प्राध्यापकहरू सन्तुष्ट हुन सकेका छैनन् ।

विश्वविद्यालयका विभिन्न संस्थान र संकायमा डिन नियुक्ति गर्दा प्राज्ञिक मर्यादा, प्रशासनिक क्षमता र कार्यकौशल छाडेर राजनीतिक भनसुनका आधारमा कनिष्ठ व्यक्तिको नियुक्तिले शैक्षिक क्षेत्र धूमिल हुने प्राध्यापक बताउँछन् ।
‘पूर्वप्रधानमन्त्री ओलीको पालामा पनि त्रिवि सेवा आयोगमा सहप्राध्यापक चैतन्य शर्मालाई अध्यक्ष नियुक्ति गरियो,’ एक प्राध्यापकले भने, ‘प्राध्यापक नियुक्ति गर्नुपर्ने ठाउँमा सहप्राध्यापकले कसरी जज गर्न सक्छ ?’

रुबी रौनियारले नागरिकम लेखेको खबर ।

प्रतिक्रिया