Edukhabar
विहीबार, १५ चैत्र २०८०
जिव्रो

निजी स्कूलको बेथितीबारे एक कविता : स्कूल खोलौँ

शनिबार, २९ असोज २०७३

Khemraj Sharma Adhikari's Profile Photo

हिजोको सेरे आज सर भएछ
पढाउन स्कूल गयो
हिजोकी मुसी आज मिस भइछ
किताब च्यापी पढाउन थाली
हामीले पनि ABCD र कखग जानेकैछौँ
सुरूमा म नेपाली पढाउँछु
तिमी अङ्ग्रेजी पढाऊ
म संस्थापक अध्यक्ष बन्छु
तिमी प्रबन्धक
अन्य पदमा टेण्डर हालौँ
गतिला गतिला पद आफै सम्हालौँ
मेरीलाई एकाउन्टेन बनाउँला
तिम्रालाई पीन्सिपल दिऊँला
बुबा बरिष्ठ सल्लाकार
दाइ सल्लाकार
जे पर्ला पर्ला एकफेरि जोखिम मोलौँ
ए सबिना जी एउटा स्कूल खोलौँ !

सुसे,मुसे र टुसेलाई नि केही शेयर दिऊँला
बाँकी शेयर हामी आफैँ लिऊँला
आखिर कुरा नमिल्ने के नै छ र ?
एकदिन एउटा कार्यक्रम राखौँ
चिन्जान्का सबैलाई डाकौँ
मेरा बाआमा भाइबुहारी आउँछन्
तिम्रा नि बाजेबज्यै होलान्
अन्तकालाई नि भनौँला
कार्यक्रमको दिन कोठा भए हुन्छ चकमन्न
भोलिपल्ट भैँसे अक्षरमा छापौँला
"स्कूलको उद्घाटन भव्यताकासाथ सम्पन्न"
आखिर संसार गफैमा अडेको त छ
स्वागत मन्तब्य लुरेले दिन्छ
सञ्चालन तिमी गर
समापन मन्तब्य म दिन्छु
केटाकेटीलाई नि पालो दिई सबै बोलौँ
ए सबिना जी एउटा स्कूल खोलौँ !

सबै शैक्षिक बेरोजगार नै त छन्
शिक्षकको समस्या छैन
बच्चा खोजेर ल्याऊ जागिर दिऊँला भनौँ
सस्ता सस्ता शिक्षक राखौँ
तलबको लागि केही महिना पर्खाऔँ
साह्रै गरे जागिरबाट निकालिदिऊँला
किन निकालेको भनि कसैले सोधे
यता पढाउनै नजान्ने उता चरित्र हीन भएर भनौँ
पढाउनै पर्दैन क्यारे
दुइ चार थप्पड लगाइदिए पुग्छ
बच्चा आफैँ पढ्छन्
यसै गरीगरी सबैलाई टोलौँ
ए सबिना जी एउटा स्कूल खोलौँ!

स्कूलको भवन त कालेको घर भैहाल्यो
भाडैमा भए नि रामेको बस लिऊँ
देखाउनै त हो
एकदुइवटा थोत्रा कम्प्यूटर नि जोडौँ
विज्ञापन गरौँ
सुविधा सम्पन्न स्कूल भनौँ
पढाइ कमजोर भएर के भयो र?
हाम्रा बच्चा राम्रै स्कूलमा पढिहाले क्यारे
कसैले पढाइ भएन भनि भन्न आए
घरमा नि अलि हेर्न पर्यो भनौँला
कोही निरीक्षण गर्न आए
भट्टितिर पसाऔँला
सोफासेटमा बसाऔँला
दुइचार हजार थमाऔँला
हामी पनि रमाऔँला
पढाइ कस्तो छ भनि सोधिहाल्लान्
साह्रै राम्रो छ भनि एकै स्वरमा बोलौँ
ए सबिना जी एउटा स्कूल खोलौँ !

दुइचारवटा नेता र पत्रकार चिनेकै छन्
सबै कुरा मिलाऔँ
स्कूल दर्ता गर्नै पर्दैन
अरूको स्कूलबाट परीक्षा दिलाऔँ
देशविदेश जाऊँला
मीठोमीठो खाऊँला
म हातभरि सुनका औँठी लगाई
चिल्लो कारमा सरर हिँड्छु
तिमी पनि सुनका गहना छपक्कै लगाई
टाउकोमाथि चश्मा राखी हिँड्नु
कसरी हुन्छ
जसरी तसरी पैसा मात्र सोरौँ
ए सबिना जी एउटा स्कूल खोलौँ !

तिमी प्रबन्धक,म संस्थापक
नाम रहिहाल्छ
तिम्रो अन्तर्वार्ता म लिन्छु
मेरो तिमी लेल
त्यति साह्रै त म पनि लेख्दिनँ
तैपनि एउटा पाठ्यपुस्तक निकालौँ
मेरो पुस्तक राष्ट्रपतिलाई विमोचन गर्न दिऊँ
तिम्रो प्रधानमन्त्रीलाई दिऊँला
हामी पनि वरिष्ठ विद्वान तथा लेखक
आसन ग्रहण र ब्याच लगाउन नि पाइने
जे होस् खरानी समेल्नैका लागि भएपनि
एक फेरा घर पोलौँ
ए सबिना जी एउटा स्कूल खोलौँ !
लौ न सबिना जी एउटा बोर्डिङ्ग स्कूल खोलौँ !!
(आधार- हिमशिखर 15, -K.R.D.)

- फेसबुकबाट

प्रतिक्रिया