Edukhabar
आइतबार, ०१ भदौ २०८२
अन्तैवाट

अंग्रेजीले तानिए विद्यार्थी

शुक्रबार, २६ कार्तिक २०७३

काठमाडौं २६ कात्तिक / छ वर्षअघिसम्म गाउँ आसपास निजी स्कुल खुलेपछि यहाँको लिमी खनारस्थित भूमे आधारभूत विद्यालयमा दुई–चार जना मात्रै विद्यार्थी थिए ।

घट्दो विद्यार्थी संख्याका कारण २०१६ सालमा स्थापित विद्यालयको अस्तित्व जोगाउन चुनौती थपियो । अन्त्यमा प्रधानाध्यापक चन्द्रबहादुर थापासहित शिक्षक र अभिभावकले जुक्ति निकाले, निजी स्कुलको पाठ्यक्रम लागू गरेर नि:शुल्क पढाउने ।
२०६७ मा नर्सरी कक्षा स्थापना गरेर बोर्डिङकै पाठ्यक्रममा पढाइ सुरु गरेपछि विद्यालयमा विद्यार्थी ओइरिन थाले । निजी विद्यालय छाडेर त्यहाँ भर्ना हुने विद्यार्थी वर्षेनी बढ्दै छन् । अहिले १ सय २० जनाजति विद्यार्थी छन् । ६७ मा नर्सरीदेखि अंग्रेजी माध्यममा पढाउन सुरु गरेको विद्यालयले अहिले ५ सम्म पुर्‍याएको छ । नर्सरी, एल केजी र केजी गरी १ भन्दा तलका कक्षा पनि पढाइ हुन्छ । निरन्तर खटेका अभिभावक र शिक्षकले सात वर्षमा नर्सरीदेखि ५ सम्म क्रमश: अंग्रेजी माध्यममा पढाइ सञ्चालन गरेका छन् । ‘एकैपटक सबै कक्षामा लागू गर्दा पुरानो कोर्स पढेकाहरूलाई बुझ्न समस्या हुन्छ,’ प्रधानाध्यापक थापाले भने, ‘त्यही भएर वर्षेनी कक्षा बढाउँदै लगेका छौं । अबको तीन वर्षमा सबै कक्षामा सोही पाठ्यक्रम लागू गर्छौं ।’ अंग्रेजी माध्यमबाट पढाउन सुरु गरेपछि शैक्षिक गुणस्तरकै लागि गाउँ छाड्ने पनि रोकिएको अभिभावक एवं चन्दा संकलन अभियानका संयोजक पूर्णबहादुर भण्डारीले बताए । ‘पहिले पति विदेशिएपछि बच्चा च्यापेर सदरमुकाम जानेहरूको लहर नै चलेको थियो । अंग्रेजी पढाउन थालेयता त्यो क्रम रोकिएको छ,’ उनले भने ।
निजी स्कुलको पाठ्यक्रमसँगै कक्षा बढाउँदा जनशक्ति थप्नुको विकल्प नभएपछि विद्यालयले तीन वर्षअघि देखि बृहत् चन्दा संकलन अभियान सुरु गर्‍यो । यसअन्तर्गत हालसम्म करिब ३७ लाख रुपैयाँ संकलन भएको अभियानका अगुवा एवं पूर्वविद्यार्थी कोसिस भण्डारीले बताए । ‘चार जना शिक्षक पाल्न मासिक कम्तीमा ६० हजार रुपैयाँ खर्च हुन्छ । विद्यार्थीलाई पाठ्यपुस्तक किन्न छुट्टै पैसा चाहिन्छ । त्यसकै लागि खटिएका हौं । राम्रै साथ पाएका छौं,’ उनले भने । अभियानमा पूर्वविद्यार्थी रामदल भण्डारीले सात लाख र डा. श्यामराज रेग्मीले पाँच लाख सहयोग गरेका छन् । यसै वर्षभित्र ५० लाख पुर्‍याएर त्यसकै ब्याजबाट शैक्षिक गुणस्तर सुधार्ने योजना रहेको व्यवस्थापन समिति अध्यक्ष भीमबहादुर भण्डारीले बताए । ‘पहिले स्कुल टिकाउनै समस्या थियो । ६७ सालयता वर्षेनी २०–२५ जना विद्यार्थी थपिएका छन्,’ उनले भने ।
गाविसका ७, ८ र ९ वडाका करिब डेढ सय घरधुरीका बालबालिका पढ्ने विद्यालयको सेवाक्षेत्रका अधिकांश अभिभावक गाउँबाहिर छन् । पुरानो विद्यालय भएकाले इतिहास जोगाइराख्न पनि चन्दा संकलन गर्नुपरेको अभिभावकले बताएका छन् ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया