Edukhabar
शनिबार, २७ मंसिर २०८२
अन्तैवाट

डा. केसीको जीवन रक्षा गर्न सरकारलाई २४ घण्टे अल्टिमेटम

विहीबार, १६ मंसिर २०७३

काठमाडौं १६ मंसिर / सरकारी चिकित्सक संघ (गोदान) ले डा. गोविन्द केसीको जीवन रक्षा गर्ने गरी सहमति गर्न सरकारलाई बुधबार २४ घण्टे अल्टिमेटम दिएको छ । केसी अनशनको १८ औं दिन गोदानले उनको बिग्रँदो स्वास्थ्य स्थितिलाई ध्यान दिँदै माग पूरा गर्न सरकारलाई आग्रह गरेको हो । केसीको मुटुको चालमा गडबडीलगायत समस्या देखिएको भन्दै उनको ज्यानै जोखिममा पर्न सक्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

अनशनको निकासका लागि विधिसम्मत रूपमा सहमति नगरिए बिहीबार दिउँसोदेखि सरकारी स्वास्थ्य संस्थामा सेवा प्रवाह हुन नसक्ने पनि गोदानले जनाएको छ । ‘सरकारलाई दिएको २४ घण्टे अल्टिमेटम पूरा नभए मुलुकभरका सरकारी स्वास्थ्य निकायहरूको बहिरंग सेवा अवरुद्घ हुन सक्छ,’ गोदानका महासचिव डा. विष्णुरथ गिरीले कान्तिपुरलाई भने, ‘हामी डा. केसीको जीवन रक्षाका लागि जस्तोसुकै पाइला चाल्न पनि तयार छौं ।’
बिहीबार दिउँसो १२ बजेसम्म माग पूरा नगरिए गोदानले आन्दोलनका कार्यक्रम घोषणा गर्ने पनि बताएको छ । डा. गिरीका अनुसार मुलुकमा करिब एक हजार तीन सय सरकारी चिकित्सक छन् । उनीहरू केन्द्रीय अस्पतालदेखि अञ्चल, क्षेत्रीय, उपक्षेत्रीय, जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा कार्यरत छन् ।
सरकार र डा. गोविन्द केसी प्रतिनिधिबीच बुधबार साँझ भएको चौथो दिनको वार्ता पनि कुनै निष्कर्षमा पुग्न सकेन । डा. केसीका प्रतिनिधि डा. लिजन महर्जनका अनुसार चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्राध्यापक बनेको वरिष्ठताका आधारमा हुनुपर्ने र त्रिवि उपकुलपति तीर्थ खनियाँलाई बर्खास्त गर्नुपर्ने मागमा कुरा नमिलेको हो । वार्ता बिहीबार पनि हुने उनले जनाए । डा. केसीका माग तत्काल पूरा गर्नका लागि दबाब दिन राजधानीको त्रिवि शिक्षण अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत अध्यापन गराइने सबै शिक्षण संस्थाहरूमा रेजिडेन्ट चिकित्सकहरू आकस्मिक बाहेकको सेवामा सरिक भएनन् ।
रेजिडेन्ट एसोसिएसन अफ न्याम्सले विज्ञप्ति जारी गर्दै वीर अस्पताल ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, परोपकार प्रसूति अस्पताल, तिलगंगा आँखा अस्पताल, पाटन अस्पताललगायत रेजिडेन्ट चिकित्सकहरू आकस्मिकबाहेकको सेवामा सरिक नभएको जनाएको छ । ‘डा. केसीको माग सम्बोधन नभएसम्म हामी आकस्मिकबाहेकका सेवामा सरिक हुनेछैनौं,’ रेजिडेन्ट एसोसिएसन अफ न्याम्सका अध्यक्ष डा. विष्णु भण्डारीले भने, ‘सम्बद्ध निकायले अझै ठोस कदम नचालेकोमा हामी खेद प्रकट गर्छौं ।’ न्याम्सअन्तर्गत करिब तीन सय २० र चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत करिब साढे तीन सय रेजिडेन्ट चिकित्सक छन् ।
आज १ घन्टा सेवा बन्द
यसैबीच, नेपाल चिकित्सक संघले विज्ञप्ति जारी गर्दै डा. केसीको अवस्था गम्भीर मोडमा पुगेकाले राज्य लगायत सम्बद्ध सबै पक्षलाई संवेदनशील हुन आग्रह गरेको छ । संघका अध्यक्ष मुक्तिराम श्रेष्ठद्वारा जारी विज्ञप्तिमा बिहीबार बिहान १० देखि ११ बजेसम्म निजी तथा सरकारी अस्पताल र स्वास्थ्य संस्थाहरूमा सेवा बन्द गर्न आहवान गरिएको छ । डा. केसीको जीवन रक्षार्थ आवश्यक कदम नचालिए कडा कदम चाल्ने चेतावनी पनि संघले दिएको छ ।

अतुल मिश्रले कान्तिपुरमा लेखेको खबर ।

 

प्रतिक्रिया