Edukhabar
आइतबार, २८ मंसिर २०८२
अन्तैवाट

पाटनले एमबीबीएस नतिजा पुन: प्रकाशन गर्ने

शनिबार, १८ मंसिर २०७३

काठमाडौं १८ मंसिर /पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस सातौं समूहको प्रवेश परीक्षाको गत बुधबार प्रकाशित नतिजामा त्रुटि भएकाले  पुन: अर्को नतिजा प्रकाशन गर्ने जनाएको छ । बुधबार प्रकाशित नतिजामा प्राविधिक त्रुटि भएको प्रतिष्ठानले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको हो ।

प्रतिष्ठानकी डिन डा. सिर्जना श्रेष्ठले त्रुटिबारे जानकारी पाएपछि स्वास्थ्य तथा शिक्षा मन्त्रालय र नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिको सहभागितामा रुजु गरी नतिजा पुन: प्रकाशन गर्न लागिएको बताइन् । ‘विद्यार्थीको आईडी नम्बर कोडिङ र डिकोडिङ गर्ने क्रममा सफ्टवेयरमा प्राविधिक गडबडीका कारण गलत आईडी नम्बर प्रकाशित भएको छ,’ उनले भनिन्, ‘प्रयोगात्मक तथा सीपमूलक परीक्षाको तयारी गर्ने क्रममा त्रुटिबारे थाहा पायौं ।’
उनका अनुसार परीक्षामा अनुपस्थित विद्यार्थीको नामसमेत नतिजामा प्रकाशित भएको थियो । प्रतिष्ठानका अनुसार प्रवेश परीक्षाको प्रश्नपत्र तयारी र उत्तरपुस्तिका परीक्षण अस्ट्रेलियाको न्यु क्यासल युनिभर्सिटीले गर्छ । युनिभर्सिटीमा उत्तरपुस्तिका परीक्षणका लागि प्रतिष्ठानले परीक्षार्थीको नामको सट्टा छुट्टै सफ्टवेयरमा ‘कोडिङ डिकोडिङ’ गरी नयाँ ‘आईडी कोड’ बनाई पठाउने गर्छ । युनिभर्सिटीबाट छनोट हुने विद्यार्थीको ‘आईडी कोड’ पुन प्रतिष्ठानमा आउँछ । प्रतिष्ठानले उक्त आईडी नम्बरलाई पुन: डिकोडिङ गरी नतिजा प्रकाशन गर्छ । यसपटक भने युनिभर्सिटीबाट पठाइसकेपछि नतिजा प्रकाशन गर्न कोडिङ डिकोडिङ गर्ने क्रममा सफ्टवेयरमा गडबडी आएको प्रतिष्ठानले जनाएको छ ।
उक्त विश्वविद्यालयले मंसिर १४ मा प्रतिष्ठानलाई नतिजा पठाएको थियो । प्रतिष्ठानले मंसिर १५ मा नतिजा सार्वजनिक गरेको थियो ।
प्रतिष्ठानमा परीक्षा, विद्यार्थी भर्ना तथा छात्रवृत्ति सम्बन्धमा डिनको अध्यक्षतामा विद्यार्थी भर्ना तथा छात्रवृत्ति समिति गठन गरिएको छ । प्रतिष्ठानका रजिस्ट्रार केबी भण्डारीले प्राविधिक त्रुटिले उब्जिएको समस्या निराकरणबारे सम्पूर्ण सरोकारवाला निकायलाई जानकारी गराइसकेको बताए । ‘त्रुटि लुकाइ अगाडि बढ्नुभन्दा सच्याएर सबल र सक्षम विद्यार्थीलाई न्याय प्रदान गर्नु उचित ठानी अगाडि बढेका हौं,’ उनले भने, ‘त्रुटिबाट सम्बन्धित विद्यार्थी र अभिभावकमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।’
गत कात्तिक २७ मा भएको प्रवेश परीक्षामा १ हजार ७ सय ६९ विद्यार्थी सहभागी भएका थिए भने ९५ जना अनुपस्थित थिए ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया