Edukhabar
शनिबार, ०७ भदौ २०८२
अन्तैवाट

नमूना माध्यमिक विद्यालय बनाउन छनोट प्रक्रिया शुरू

सोमबार, १० माघ २०७३

काठमाडौं १० माघ/शिक्षा विभागले नेपालमा रहेको २ सय ४० ओटा निर्वाचन क्षेत्रमा नमूना माध्यमिक विद्यालय बनाउन छनोट प्रक्रिया शुरू गरेको छ । नेपालमा नमूना विद्यालयको विकास र सञ्चालनको आवश्यकता भएकाले विभागले विद्यालय क्षेत्र विकास कार्यक्रममार्फत नमूना माध्यमिक विद्यालय बनाउन छनोट प्रक्रिया अघि बढाएको हो ।

सन् २०१७ देखि २०२२ सम्ममा विद्यालय क्षेत्र विकास गर्ने उद्देश्यले सञ्चालित उक्त कार्यक्रमअन्तर्गत विभागले देशभर रहेका निर्वाचन क्षेत्रमा १ हजार ओटा नमूना विद्यालय बनाउन छनोट प्रक्रिया शुरू गर्ने अवधारणा बनाएको विभागको कार्यक्रम शाखाका अधिकृत अर्जुन ढकालले जानकारी दिए । उनका अनुसार नमूना माध्यमिक विद्यालय बनाउने निर्देशिका बनाइसकिएको छ भने नमूना विद्यालय बनाउन विद्यालयको अवस्था हेर्नेलगायत छनोट प्रक्रिया थालिसकिएको छ ।

‘पुनर्निर्माणको अभियानसँगै थोरै सङ्ख्यामा भए पनि पुस्तकालय, प्रयोगशाला र आधुनिक सूचना–प्रविधियुक्त नमूना माध्यमिक विद्यालय बनाउन लागेका हौं,’ ढकालले भने, ‘विभागले प्रयोगात्मक कक्षाहरू प्रविधि प्रयोगशाला, विज्ञान प्रयोगशाला र पुस्तकालयको निर्माण गरेपछि नमूना विद्यालयको अवधारणा पूरा हुनेछ ।’

गतवर्षको भूकम्पबाट नेपालमा धेरै विद्यालयको भौतिक पूर्वाधार क्षतिग्रस्त भएकाले विभागले निर्वाचन क्षेत्रमा रहेका विद्यालयको स्थिति हेरेर आवश्यक परेको विद्यालयमा कक्षा कोठा, पुस्तकालयलगायत निर्माणसमेत गरिदिनेछ । देशभर सञ्चालन भएका सामुदायिक विद्यालयप्रति सर्वसाधारणको विश्वास बढाउन र समकालीन समाजमा गुणस्तरीय शिक्षा प्रदान गर्न यस्तो प्रकारको विद्यालय बनाउन लागिएको विभागको भनाइ छ ।

विभागले भूकम्पबाट प्रभावित जिल्लामा नमूना विद्यालय निर्माण गर्नेसम्बन्धी विशेष व्यवस्था गरेको छ । यसअन्तर्गत  भूकम्पबाट अति प्रभावित १४ जिल्लाहरूमा विद्यालय पुनर्निर्माणको अभियानसँगै निश्चित सङ्ख्यामा  नमूना माध्यमिक विद्यालय निर्माण गरिनेछ । विद्यालय पुनर्निर्माण अभियानमा सघाउने राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था तथा दातृनिकायले समेत मन्त्रालयको अवधारणाअनुसार भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माण गर्नुपर्ने विभागले जानकारी दिएको छ ।

विभागले नमूना माध्यमिक विद्यालयको स्थापना, विकास र सञ्चालनका लागि स्पष्ट नीति, विद्यालयका आधार र कार्यक्रम कार्यान्वयन गर्न कार्यविधि बनाएको छ । नमूना विद्यालय छनोट प्रक्रियालाई पारदर्शी बनाउन, निर्माण र विकास प्रक्रियालाई सरलीकृत गर्न बनाएको कार्यविधि तत्काल लागू गर्न शिक्षा मन्त्रालयले अवधारणापत्र पनि तयार गरेको हो ।  

नमूना माध्यमिक विद्यालयको अवधारणाअनुसार यो विद्यालयको भौतिक संरचना र कक्षा कोठा व्यवस्थापन शिक्षण सिकाइका लागि अनुकूल बनाउन ट्रेनिङ हल, अडिटोरियम हल, सङ्गीत प्रशिक्षण कक्ष, प्रयोगशाला, प्राथमिक उपचार कक्ष र छात्रछात्राका लागि पर्याप्त शौचालयको प्रबन्ध गरिने विभागले जानकारी दिएको छ । शैक्षिक गुणस्तरका लागि आवश्यकताअनुसार विषयगत शिक्षक तथा खेलकुद शिक्षकको व्यवस्था गरिनेछ । साथै, विभागले शैक्षिक प्रविधिको प्रयोग, पेशागत सहयोग र गुणस्तर सुनिश्चितता गर्ने विद्यालयलाई प्रोत्साहन गर्ने बताइएको छ ।

आर्थिक अभियानमा ममता थापाले लेखेको खबर ।

प्रतिक्रिया