Edukhabar
आइतबार, ०८ भदौ २०८२
अन्तैवाट

सेफ्टी ट्यांकी सफा गरेर छोराछोरीलाई स्कुल

शुक्रबार, २१ माघ २०७३

काठमाडौं २१ माघ/तराईमा अझै पनि दलित समुदायमाथि गरिने सामाजिक भेदभाव हट्न नसकिरहेका बेला महोत्तरीको बर्दिबासस्थित एउटा विद्यालयमा अध्ययनरत दलित समुदायका तीन जना बालबालिका भने निकै रमाएर पढ्छन्।

बर्दिबासको गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयका शिक्षकशिक्षिकाले दलित डोम समुदायका रोशन, तारा र सुरजलाई सबैसरह समान व्यवहार गर्दा उनीहरू विद्यालयमा औधी रत्तिएका छन्। केही दिनअघि जनकपुरको एउटा विद्यालयमा सामाजिक भेदभाव गरिँदा दलित समुदायका विद्यार्थी स्कुल जानै नमानेको सार्वजनिक भएको थियो।

आफ्ना सन्तान जनता माविमा रमाइरमाइ पढ्न पाउँदा बर्दिबास-४ गौरीडाँडाकी ३७ वर्षीया शैल डोम प्रसन्नमात्र छैनन्, उनीहरूलाई शिक्षित बनाएर ठूलो मान्छे बनाउने सपना बुनिरहेकी छन्। तर मुटु कमाउने जाडो होस् वा खल्खली हुने भदौरे गर्मी उनले बर्दिबास तथा गाउँघरका शौचालय र सेफ्टीट्यांकी सफा नगरी घरमा चूलो बल्दैन। त्यसमाथि दमका रोगी पति इन्दल काम गर्न सक्दैनन्। विपन्न भए पनि उनको आँट भने अदम्य छ र नै भन्छिन्, ‘सेफ्टीट्यांकी सफा गरेरै भए पनि छोराछोरी पढाउँछु र ठूलो मान्छे बनाउँछु।'

१२ वर्षका जेठा छोरा रोशन कक्षा ३ मा पढ्दैछन्। अध्ययनपछि निजामति सेवामा जाने चाहना राखेका उनी दलितविरुद्ध हुने भेदभाव हटाउन प्रयास गर्छु। ९ वर्षे उनका भाइ सुरज भन्छन्, ‘म पढेर पुलिसको जागिर खान्छु। चोर, डाका र फटाहालाई समातेर जेल हाल्छु।' कक्षा ३ मै अध्ययनरत १३ वर्षकी दिदी तारा भने पढेर समाजको सेवा गर्छु भन्छिन्।
उनीहरूसँग आवश्यक पोसाक, जुत्ता, ब्याग छैन। थोत्रा फाटेका पोसाक, जुत्ता र ब्याग हुँदा पनि रमाएर स्कुल जाने उनीहरू जेहेन्दार छन्, ध्यान दिएर पढ्छन्। शैल भन्छिन्, ‘पढाउन समस्या छ। अलिकति सहयोग पाए सजिलो हुन्थ्यो।' शैलले दुई छोरीलाई पढाउन नसकेको बताइन्।

‘मैले त नपढेर दुःख पाएँ। सेफ्टीट्यांकी सफा गरेर जीवन बिताइरहेकी छु। तर छोराछोरीलाई धेरै पढाउँछु र ठूलो मान्छे बनाउँछु', बर्दिबास बजारमा शौचालय सफा गरिरहेकी शैलले भनिन्, ‘छोराछोरी स्कूलमा पढेर घर आउँदा मलाई लाग्छ यिनीहरूमै मेरो परिवार, समाज र देशको भविष्य छ।'

तराईका विद्यालयमा आफूजस्ता पिछडिएका, दलित र विपन्न समुदायलाई तल्लो जातको भन्दै दुव्र्यवहार गर्ने शिक्षक र तथाकथित उपल्लो जातका विद्यार्थीसँग शैलको गुनासो छ। ‘मेरा छोराछोरीलाई हाम्रो गाउँको स्कुलका मास्टरसाहेबले माया गरेर पढाएजस्तै अरु गाउँका स्कुलमा डोमका सन्तानलाई पढाई दिए सबै बालबालिकाहरू पढ्थे, शिक्षित बन्थे। तर धेरै स्कुलमा तल्लो जातको भन्दै छुवाछुत गरिन्छ, अनि बच्चाहरू पढ्न जानै मान्दैनन्।'

गौरीडाँडास्थित जनता मावि महोत्तरीको नमुना विद्यालयमध्येमा पर्छ। ‘हामी सबै समुदायका विद्यार्थीलाई समान व्यवहार गर्छौं। पिछडिएका डोम समुदायका बालबालिकालाई विशेष प्राथमिकता र माया दिएर अध्यापन गराउछौं', जनता माविका प्रधानअध्यापक नेत्र रम्तेलले भने, ‘त्यसैले विद्यालयमा उनीहरू पढ्न रुचाउँछन्।'

१० धुर ओइलानी जग्गामा तीन कोठाको एउटा सानो घर छ। रातु खोलाको किनारमा बसोबास गर्ने शैलको दिनचर्या सरसफाईको काम गरेरै वित्छ। दिनहुँ गाउँघरमा ट्वाइलेटको हद सफा गर्दै र त्यसबाट आएको रकमले परिवारको पालपोषण गर्ने काम शैलले गर्छिन।

एक तरहले भन्ने हो भने शैल बर्दिबास क्षेत्रको सरसफाईको अभियन्ता हो। तर उनले यो पहिचान पाउन सकेकी छैन। यसको बदलामा उनलाई समाजमा डोक भनेर हेला गर्ने गरेको उनले तीतो अनुभव सुनाइन्।यी तीनै जना शन्तानलाई सबै मिली सहयोग गरे यिनी बच्चाहरुको सपना सकार हुने विद्यालयका प्रअ रम्तेलले बताए।
राजकरण महतोले अन्नपूर्ण पोष्टमा लेखेको खबर ।

प्रतिक्रिया