Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विचार / विमर्श

शिक्षक

शनिबार, २३ साउन २०७२

- एकु घिमिरे झण्डै २ दशकदेखि कविता लेखनमा   कृयाशिल छन् । श्रीअन्तु–२, इलामका स्थायी बासी घिमिरे करिब एक दशक सप्तकोशी एफएमको साहित्यिक कार्यक्रमका उत्पादक समेत थिए । उनका केही गीत रेकर्ड भएका छन् । 'एउटा बाटो गाउँसम्म' उनको हालै प्रकाशित कविता संग्रह हो ।  विभिन्न पत्र पत्रिकाहरुमा उनका गजल, कविता, गीत र लघुकथाहरु प्रकाशित छन् । यसपटक कवि घिमिरेको कविता 'शिक्षक' : ...

आफ्नो छाती खोपेर अर्काको ठेगाना बताउँछ खाम
घाम, पानी र धूलो सहेर आफू
जतन साथ बोक्छ पत्र ।
गन्तव्यमा पुग्ना साथ चिठी हाई–हाई हुन्छ
तिरस्कृत बन्छ खाम बाई–बाई हुन्छ
हो, चिठी झिकिसकेको खाम जस्तै हुन्छ शिक्षक ।
तर, उनकै मार्गदर्शनले हामी यहाँ आइपुग्यौं ।

हरेक वर्ष दिलको एक टुक्रो बोकेर तन्नेरी जमात बाहिरिन्छ
मायाको एक पोको बोकेर तोते समूह भित्रिन्छ
बरु टायर खिए पनि नयाँ बाटो र माटो देख्छ
फेरिन्छन् यात्री र फेरिन्छन् हरेक चीज
तर पकेटभित्र बसेको चेनको एउटै नियमितता
एउटै बाटो र उही दाँतहरू
कम घुमे तलबी तेल हालिन्छ
तन्कियो भने काटिन्छ र छोट्याइन्छ
हो, साइकलको चेनजस्तै हुन्छ शिक्षक ।
तर ब्रम्हाण्डका हरेक आयुवान् पिण्डहरू जस्तो
आफ्नै गतिमा नियमित हिंड्न सक्नेलाई
म उल्काजस्तो कविको नमन छ ।

गोजीको पैसालाई सबैले माया गर्छन्
लुकाएर राख्छन् साथमा होउन्जेल
जब तिर्छन् र फिर्छन्, बिर्सन्छन् सबैले
अब त्यही पैसा, त्यही नम्बरको नोट, कहाँ पुग्छ कहाँ !
लाज ढाक्न लुगा किनिदिने
भोक लाग्दा खान किन्न प्रयुक्त
औषधी किनेर जीवन दिने नोट अपरिचित बन्छ सहजै !
हो पैसाजस्तै, नोटजस्तै हुन्छ शिक्षक ।
तर भुल्दैनन् गुरुले चेलाहरू
जसरी चिन्छ माहुरीले घारको साथी ।

रित्तिएको सिलिन्डर
खिएको जुत्ता
फाटेको कोट
कविता रफ गर्दाको पाना
भत्किएको चौतारो
नदीले रेतेको ढुङ्गो
सुकेको पीपल
छोडिएका गाउँ अनि झारले ढाकेका छानाहरू
सबै सबैमा देख्छु शिक्षकको प्रतिबिम्ब ।
ऊ मात्र होला संसारको असली दानी ।

प्रतिक्रिया