Edukhabar
आइतबार, ०८ भदौ २०८२
अन्तैवाट

मनिपालका चिकित्सक फेरि आन्दोलित,एमबीबीएसको पढाइमा अवरोध

बुधबार, ११ फागुन २०७३

काठमाडौं ११ फागुन/विभिन्न माग राखेर मनिपाल शिक्षण अस्पतालका चिकित्सक पुन: आन्दोलित भएका छन् । यसै सातादेखि उनीहरू एमबीबीएसका कक्षामा पढाउन गएका छैनन् । साथै इमर्जेन्सी र ओपीडी सेवासमेत सञ्चालनमा असहयोग गरेका छन् ।

श्रम ऐनअनुसार करारका चिकित्सकलाई स्थायी गर्नुपर्ने, समयसापेक्ष तलब वृद्धि र शनिबार तथा सार्वजनिक बिदाका दिनको सट्टा बिदाको व्यवस्था गर्नुपर्ने माग दोहोर्‍याउँदै प्राध्यापक–शिक्षक आन्दोलित भएका हुन् । यसअघि भदौ ६ देखि यिनै मागसहित आन्दोलित चिकित्सक र कलेज प्रशासनबीच जिल्ला प्रशासन कार्यालय कास्कीमा वार्ता भएको थियो । ४ बुँदे सहमति भएपछि मंसिर २ देखि आन्दोलनरत पक्ष काममा फर्किएको थियो । उक्त सहमतिअनुसार कलेज प्रशासनले तलबमा वृद्धि गरेको भए पनि १२ करारका चिकित्सकको स्थायी गर्नुपर्ने मुख्य मागसहित फेरि गत आइतबारदेखि चिकित्सक आन्दोलित भएका हुन् ।
कलेज प्रशासनले भने तलब वृद्धि भएको र अन्य मागका विषयलाई सम्बोधन प्रक्रियामा भएका बेला चिकित्सक आन्दोलित हुनु दु:खद भएको जनाएको छ । मनिपाल शिक्षण अस्पताल भारतीय व्यवस्थापनद्वारा सञ्चालित प्रतिष्ठान हो । कलेजका प्रमुख कार्यकारी अधिकृत तथा डिन बीएम नागपालले भने, ‘कमसेकम इमर्जेन्सी सेवा त सञ्चालन गर्नुपथ्र्यो ।’ समस्याबारे शिक्षा, स्वास्थ्य, उद्योग मन्त्रालय, श्रम कार्यालय र प्रशासनलगायत निकायमा जानकारी गराइए पनि समाधानमा चासो नदेखाइएको उनको गुनासो छ ।
अस्पताल स्रोतका अनुसार अन्यत्र काम नगर्ने सर्तमा चिकित्सकलाई ३० प्रतिशत नन–प्राक्टिस भत्ता उपलब्ध गराए पनि सबैले बाहिर निजी क्लिनिकमा काम गर्दै आएका छन् । यतिबेला पनि मनिपाल बन्द छ भन्दै केही चिकित्सकले बिरामीलाई आफ्नामा लगेको पाइएको स्रोतले जनाएको छ । ‘मनिपालमा ४० रुपैयाँमा उपलब्ध हुने स्वास्थ्य सेवा बाहिर निजीमा ५ सय रुपैयाँ तिर्न बिरामी बाध्य भएका छन्,’ स्रोतले भन्यो । आन्दोलनको नेतृत्व गरेका प्राडा. दीपक कोइरालाले मागप्रति बेवास्ता गरेकाले आन्दोलन गर्नुपरेको बताए । ‘कलेज प्रशासनले आफूहरूलाई झुलाउने मात्र काम गर्‍यो,’ उनले भने, ‘करारका चिकित्सकको स्थायी नभएसम्म आन्दोलन रोकिँदैन ।’ चिकित्सकको आन्दोलनका कारण नवौं, सातांै र पाँचांै सेमेस्टरका ४ सयभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् । कलेजमा नेपालीसँगै भारत, श्रीलंका र मालदिभ्सका विद्यार्थी पनि पढ्छन् ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया