Edukhabar
आइतबार, ०८ भदौ २०८२
अन्तैवाट

४०% क्याम्पसमा स्ववियु चुनाव

मंगलबार, १७ फागुन २०७३

काठमाडौं १७ फागुन/त्रिभुवन विश्वविद्यालयले फागुन १८ गते ४० प्रतिशत क्याम्पसमा मात्र स्ववियुको चुनाव गराउने भएको छ । सत्तारूढ कांग्रेसनिकट नेविसंघ र प्रतिपक्षमा रहेका एमालेनिकट अनेरास्ववियु तथा मधेसी विद्यार्थी संगठनहरूलगायतले अवरोध गरेपछि अन्य क्याम्पसमा चुनाव हुन नसकेको हो । ‘विद्यार्थी संगठनहरूको मागलाई ध्यानमा राखेर फागुन १४ बाट चार दिन पछाडि स्ववियु चुनाव मिति सार्‍यौं,’ त्रिवि शिक्षाध्यक्ष सुधा त्रिपाठीले भनिन्, ‘तर निर्धारित समयमा ४० प्रतिशत क्याम्पसमा मात्र उम्मेदवारी मनोनयन हुनसक्यो । अब यो वर्ष त्यत्ति क्याम्पसमा मात्र चुनाव हुनेछ ।’

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले तालिकामा समय बढाएर फागुन १६ गते बिहान साढे १० बजेसम्म विद्यार्थी तथा उम्मेवारको अन्तिम नामावली प्रकाशन र दाबी–विरोधको म्याद राखेको थियो । शिक्षाध्यक्ष त्रिपाठीले स्ववियु चुनावको तयारीमा दुई महिनाभन्दा बढी समय खर्चिसकेको उल्लेख गर्दै अब यसमा नअल्झिने बताइन् । उनले भनिन्, ‘फागुन १८ गतेभन्दा उता स्ववियु चुनाव गराउन सकिन्न, त्रिविले अरू काम पनि गर्नुपर्छ ।’
सत्तारूढ माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)ले आफ्नो संगठनले कुनै क्याम्पसमा अवरोध सिर्जना नगरेको जनाउँदै तोकिएकै मितिमा स्ववियु चुनाव गराउनुपर्ने जनाएको छ । ‘त्रिविले तोकेकै स्ववियु तालिकालाई साँघुरो बनाएर भए पनि निर्धारित मितिमा स्ववियु चुनाव गराउनुपर्छ,’ क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले भने, ‘आवश्यक परे क्याम्पस प्रशासनले ताला फोरेर पनि निर्वाचन गराउनुपर्छ ।’ राजधानीको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पस, रत्नराज्य, त्रिचन्द्र, नेपाल ल, विश्वभाषा, शंकरदेव, नेपाल कमर्स, पाटन संयुक्त, महेन्द्ररत्न ताहाचल, अमृत साइन्स, सरस्वतीलगायत क्याम्पसमा तालाबन्दी गरिएको छ । उपत्यका बाहिर अधिकांश क्याम्पसमा स्ववियु चुनावको माहोल बन्न नसकेको विद्यार्थीले जनाएका छन् । त्रिविअन्तर्गत ६० आंगिक र सम्बन्धनका एक हजार ८४ क्याम्पस छन् । स्ववियु चुनावको किचलो सबैभन्दा बढी आंगिक क्याम्पसमा हुने गरेको छ ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया