Edukhabar
शुक्रबार, ०४ जेठ २०८१
खबर/फिचर

उम्मेदवारका मुद्धा : निजी व्यवस्थापनको स्कुलदेखि विश्वविद्यालय थापनासम्म

आइतबार, २४ बैशाख २०७४

भक्तपुर– स्थानीय तहको चुनाव अन्तर्गत चाँगुनारायण नपाको मेयरमा आफ्नो १४ वर्षका छोरा पढाउने स्कुलका प्रअ न्हुच्छेभक्त फोँजूले पनि उम्मेदवारी दिएको खबर हत्तपत्त पत्याएनन् छालिङका रत्न थापाले ।
‘कहाँ स्कुल पढाइरहेका माष्टर, मेयर बन्न जाला त ?’ आफूलाई छिमेकीले फलानो माष्टर पनि मेयर बन्न गएको  गएको बताएपछि आफू अचम्म भएको बताए रत्नले । लामो समयदेखि नेपाल मजदुर किसान पार्टीसँग निकट रहेर राजनीतिमा लागेको झीनो जानकारी राख्नेहरुका लागि फोँजूले मेयरमा उम्मेदवारी दिनुलाई अचम्म नमाने पनि आफूले भने अचम्म तरिकाले बुझेको उनको भनाइ छ । उनले आफ्नो बच्चा पढाएको स्कुलका प्रअलाई माष्टरकै रुपमा बुझेको र राजनीतिक रुपमा नहेरेको कारण आफू अचम्म भएको बताए ।
‘हुन त माष्टरहरुले बढी राजनीति गर्छन् भन्ने सुनेको थिएँ, अहिलेको चुनावले पनि त्यही देखियो ।’स्थायी जागिर छोडेर मेयरका उम्मेदवार बनेका फोँजूको सो कदमबाट आफूले विश्वास गरेको बताउँदै उनले फाँेजूका चुनावी अजेण्डाअन्तर्गत शैक्षिक अजेण्डाले मन छोएको बताए ।
वि.सं.२०३७ सालदेखि अध्यापनमा लागेर २०४८सालमा स्थायी भएका निमावि तहका गणित विषय शिक्षक फोँजूले चाँगुनारायण नपामा प्राविधिक महाविद्यालय स्थापना गर्ने, विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउने, नागरिक शिक्षालाई प्राथमिकताका साथ अघि बढाउने र विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र स्थापना गर्ने, ठाउँठाउँमा शिशुशाला तथा बालउद्यान सञ्चालन गर्ने योजना रहेको सुनाए ।
मेयरमा उनीमात्र नभएर अर्का शिक्षक सोम मिश्रले चाँगुनारायणबाटै उम्मेदवारी दिएका छन् । नेकपा एमालेका कन्द्रीय सदस्यको जिम्मेवारी बहनसँगै विसं.२०४३ सालदेखि शिक्षण गरिरहेका उनी २०६० सालमा सरकारी स्कुलमा औपचारिक रुपमा प्रवेश गरेका थिए । थिमीको आदर्श लायकू र सुडालको महेन्द्रग्राम माविमा शिक्षण गर्दागर्दै राजिनामा गरेर राजनीतिक रुपमा पूर्णकालिन कार्यकर्ता बनेका मिश्रले आफूसँग विद्यार्थी संख्या कम भएर मर्ज भएका विद्यालयको भौतिक सम्पत्तीको उपयोग गर्नेदेखि लिएर सो विद्यालयलाई पुनः सञ्चालन गर्ने योजना रहेको सुनाए ।
‘सरकारी लगानी निजी व्यवस्थापनको अवधारणाअनुसार ती विद्यालय सञ्चालन गर्न सकिन्छ ।’ उनले भने । उनीहरुसँगै भक्तपुर नगरपालिकाका उपमेयरका उम्मेदवार रजनी जोशीले पनि आफूसँग शिक्षाका योजनाहरु रहेको बताइन् । ख्वप इन्जिनियरिंग कलेजको उपप्राचार्य पदबाट राजिनामा दिएर राजनीतिमा होमिएका उनीसँग इञ्जिनियरिंङ अध्यापनको लामो अनुभव छ । उनले नेपाल मजदुर किसान पार्टीले संसदमा दर्ता गराएको ख्वप विश्वविद्यालयको मुद्धालाई पूर्ण रुपमा लागू गर्न आफू प्रतिवद्द भएर लाग्ने बताउँदै भूकम्पपछिको पूर्नर्निर्माणको कामलाई दीगो बनाउनका लागि आवश्यक परामर्श शिक्षा दिने योजना बनाएको जनाइन् ।
पूर्व शिक्षकहरु फोँजू, मिश्र र जोशीजस्तै एमालेबाटै मध्यपुर ठिमीको मेयरमा उम्मेदवारी दिएका मदनसुन्दर पनि शिक्षक नै हुन् । इञ्जिनियर र प्रअको छवि बनाएका श्रेष्ठ शंखधर मेमोरियल स्कुलमा अध्यपान गर्दथे ।
मेयर, उपमेयरमा मात्र नभएर वडा अध्यक्षमा पनि उम्मेदवारी दिनेमा शिक्षक नै देखिएका छन् । त्यसरी उम्मेदवारी दिनेमा भक्तपुर नगरपालिका ९ को वडा अध्यक्षमा रवीन्द्र ज्याख्व, भक्तपुर नगरपालिका– २ मा हरिप्रसाद बासुकला पनि छन् । ज्याख्व ख्वप कलेजका विज्ञान संकायमा स्नातकोत्तर तहका इन्चार्ज हुन् भने बासुकला बासु माध्यमिक विद्यालयका शिक्षक ।
भक्तपुरको वागीश्वरी माविको व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका ज्याख्वले पार्टीले बोकको मुद्धालाई आत्मसात गर्दै अघि बढ्ने बताउँदै प्रिस्कुलको सबै जिम्मेवारी नपाले लिने, नगरमा अत्याधुनिक सुविधासहितको पुस्तकालय बनाउने, कला संस्कृतिको अध्ययन र अनुसन्धान केन्द्र स्थापना गर्ने र भक्तपुरलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने योजना रहेको बताए । उनीहरुले पनि वडाको शैक्षिक स्तर उकास्न तथा पार्टीको घोषणापत्रअनुसार काम गर्न आफूहरु प्रतिवद्द रहेको बताएका छन् ।

 

प्रतिक्रिया