Edukhabar
शुक्रबार, ०४ जेठ २०८१
खबर/फिचर

शिक्षाको ‘रोग’ पत्ता लगाउन शैक्षिक शिविर

विहीबार, १८ जेठ २०७४

काठमाडौं– हामीले आँखा शिविर, महिलाको पाठेघर परीक्षण शिविर, मृगौला जाँच शिविर, योग शिविरजस्ता स्वास्थ्यसँग सम्बन्धित विभिन्न शिविर सञ्चालन हुने गरेको थाहा पाएका छौं । यतिमात्र नभएर कृषि क्षेत्रमा पनि कृषि बाली शिविर हुने गरेको पनि हामीलाई थाहा छ । 
स्वास्थ्यसँग सम्बन्धित समस्या समाधान गर्न स्वास्थ्य शिविर र कृषिसँग सम्बन्धित समस्या समाधान गर्न बाली शिविर गर्ने गरिएजस्तै शिक्षाका समस्यासँग सम्बन्धित रहेर शैक्षिक शिविर गरिएको भने पाइएको छैन तर जाजरकोटमा भने शिक्षा क्षेत्रमा देखिएका समस्या पहिचान गर्न जिल्ला शिक्षा कार्यालयले शैक्षिक शिविरको आयोजना गरेको छ ।
जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिँहले जिल्लाका ७ वटै स्थानीय तहमा शैक्षिक शिविर सञ्चालन गरिने जानकारी दिँदै स्थानीय तहअन्तर्गत कोशे गाउँपालिकामा सो शिविर सम्पन्न भएको बताए । ‘जसरी स्वास्थ्य शिविरमा स्वास्थ्यसम्बन्धी सबै जानकारीका साथ रोग पहिचानको बाटो खुल्छ, त्यसरी नै शैक्षिक शिविरले शिक्षाका कमीकमजोरी र रोग पत्ता लाग्छ, रोग पत्ता लागेपछि समस्या समाधान गर्न सहज हुन्छ ।’ उनले भने ।
जिशिकाका अनुसार जाजरकोटका शिवालय गाउँपालिका, सेडागाढ नपा, जुनीचाडे गाउँपालिका, त्रिवेणी नलगाड नपा, भेरी नपा र बारेकोट विशेष गाउँपालिका तथा कोशे गाउँपालिकामा हुने शिविरमा विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, जिशिकाका सम्बन्धित अधिकारीहरु मत्र नभएर शिक्षाविद् र नवनिर्वाचित जनप्रतिनीधिकहरुको पनि उपस्थिति रहने भएको छ ।
नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आफ्नो ठाउँका शैक्षिक समस्याबारेमा जानकारी गराएर कस्तो खाले नीति बनाएको खण्डमा शैक्षिक समस्या समाधान हुन्छ भन्ने बारे राय लिन पनि सो शिविरको अवधारणा अघि बढाएको जिशिअ सिँहको भनाइ छ । शिविर यही जेठ महिनामा सकिनेछ ।
शिविरमा विद्यार्थी समयमै नआउने, नियमित रुपमा नआउने, पढ्नमा ध्यान नगर्ने, शिक्षक पढाउनमा भन्दा अन्यत्र समय दिने, समयमा नआउने, शैक्षिक उपलब्धि बढाउन नसक्ने मात्र नभएर विद्यालय निरीक्षकले अनुगमन गर्ने गरेको वा नगरेको विषयमा छलफल गरिने भएको छ । यसका साथै अभिभावकीय भूमिका र दायित्वबारेमा पनि शिविरमा अन्तरक्रिया हुनेछ । शिक्षाका समग्र समस्या समाधानका लागि ठोस पहल हुने उद्देश्यले अघि ल्याइएको शिविरको अवधारणाले नमूना शिक्षक, नमूना विद्यालय, नमूना कक्षा, नमूना विद्यार्थी, नमूना अविभावक बन्न उत्साहित गर्ने जिल्ला शिक्षा अधिकारी सिँहलको ठम्याइ छ । 

 

प्रतिक्रिया