Edukhabar
विहीबार, १३ बैशाख २०८१
विचार / विमर्श

गरिखाने शिक्षा

आइतबार, १० फागुन २०७१

- बाबुकाजी कार्की / नेपालीहरू रोजगारीको खोजीमा भौतारिँदै कस्तूरीले आफूमा भएको बिनाको ज्ञान नभएर कहाँबाट बास्ना आयो भन्दै हिँडेजस्तै मृगतृष्णाका रुपमा आफ्नै देशमा उपलब्ध पेसा अङ्गाल्न हिच्किचाउँदै हजारौ, लाखौ रुपियाँ खर्चेर खाडी मुलुकको प्रचण्ड गर्मीमा जोखिमपूर्ण वातावरणमा तरकारी, फलफुल खेती, भेडा चराउने, गधा जोत्ने जस्ता कृषिजन्य काम गर्न तँछाड मछाडका साथ पुगेका छन् । अर्कोतर्फ छिमेकी देशहरूबाट रोजगारीका लागि नेपाल आएर फलफुल तरकारी र अन्य सामान बेच्न सहर बजारमा मात्र नभएर विकट गाउँमा पनि छ्यापछ्याप्ती पुगेको पाइन्छ ।

तर गर्वका साथ त्यही काम स्वदेशमा नेपालीले किन गर्दैनन् ? त्योभन्दा तल्लो स्तरको काम गर्न मुङ्गलान नै पस्नुपर्ने किन ? अब राज्यको खोजीको विषय बन्नुपर्दछ । यस्तो मनोवैज्ञानिकतालाई कसरी परिवर्तन गर्न सकिएला ? उपायहरुको खोजी गरिनुपर्दछ । आÇनो देशमा रोजगारी नपाएर चारैतिर अभावै अभावले बाध्य भएर विदेशिएका युवाहरू त्यहाँ पनि विचल्लीमा परेको समाचार छापामा बग्रेल्ती पाइन्छ । यसरी तावाबाट उम्केको माछा भुङ्ग्रोमा परेर तड्पिएको चरितार्थ त्यहाँ पाइन्छ । त्यही पेसा स्वदेशमा गर्दा र विदेशमा गर्दा समाज र व्यक्तिको हेराईमा फरक हुनाको कारण के हो ? हाम्रो शिक्षाले विदेशिने जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्न के गर्नुपर्ला ? आदि प्रश्नको उत्तर गम्भीर भएर सोच्न विलम्ब भइसकेको छ ।

शिक्षालाई गुणस्तरीय जनमुखी प्रगतिशील जीवनोपयोगी आदि विशेषणबाट सम्बोधन गरिन्छ । गुणस्तर प्राप्ताङ्कको आधारमा निक्र्यौल गर्ने प्रचलन प्रशस्तै छ । जसको कारणबाट आमा बुबाको अर्थ नबुझ्ने तर ड्याड ममको संस्कारमा हुर्कने , दुध कहाँबाट आउँछ भन्दा डेरीबाट भन्ने गाई भैंसीको जानकारी नराख्ने, कृषिमा हलो, फाली, करुवा, दाँते आदिबारे जानकारी नहुने सैद्धान्तिक ज्ञानमात्र भएको तर अल्प व्यावहारिक ज्ञान भएका नागरिक भन्दा आÇनो परिवेशलाई समेत साक्षात्कार गर्ने÷गराउने गरेर सिक्नेखालको शिक्षा नीति अवलम्बन गरिनुपर्छ । शिक्षाले व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनुपर्छ । माछा मारेर खुवाउने भन्दा पनि माछा मार्न सिकाउने खालको जाँगरिलो पौरखी शिक्षा हुनुपर्छ । कुनै व्यक्तिको प्रमाणपत्रको प्राप्ताङ्क भन्दा पनि उसले देखाउने बानी व्यवहार, चालचलन र चरित्रको आधारमा गुणस्तरीय शिक्षा परिभाषित हुनुपर्छ ।

पेपर पेन्सिल परीक्षाको आधारमा मात्रै विद्यार्थीको उपलब्धि स्तर गणितीय प्रस्तुति गरिने परम्परालाई निरुत्साहित गर्दै शिक्षाको मूल मर्मअनुसार व्यवहारमा सकारात्मक परिवर्तनको आधारमा मूल्याङ्कन गर्ने उपायहरू खोजिनुपर्छ । उच्च अङ्क प्राप्त गर्नेले त्यसको औचित्य पुष्टि गर्न व्यवहारमा उतार्न सक्नुपर्छ । हाम्रो मूल्याङ्कन पद्धति कसरी विश्वसनीय र वस्तुनिष्ठ बनाउन सकिन्छ भन्ने चिन्ता र चिन्तन गर्नुपर्ने देखिन्छ ।

किनकि एक सय पूर्णाङ्कमा सरदर ३२ प्रतिशत मात्रै विषयवस्तु जानेमा उत्तीर्ण हुने पद्धतिलाई पुनरावलोकन गरिनुपर्छ । त्यसप्रकारको परीक्षाबाट पनि सरदर ५२ प्रतिशत अङ्क मात्रै विद्यार्थीले प्राप्त गरेको अध्ययन अनुसन्धानले पुष्टि गरेको छ । कतिपय विषयमा पूर्णाङ्क प्राप्त गर्नु आठौँ आश्चर्य भएको छ । अर्कोतर्फ कतिपय विशिष्ट श्रेणीमा उत्तीर्ण भएकाहरू जसलाई उच्च गुणस्तर भनिन्छ, उनीहरूको व्यवहार अपेक्षाकृत सकारात्मक भएको पनि देखिन्न । त्यसकारण सिर्जनशील, लगनशील, प्रतिस्पर्धी, उत्साही, ऊर्जाशील, सफल, पौरखी नागरिक बनाउनेखालको व्यवहारिक शिक्षा आजको आवश्यकता हो । पौरखी नागरिक बनाउन वर्तमान शैक्षिक पद्धतिलाई विद्यार्थीकेन्द्रित तथा विद्यालयको वातावरण विद्यार्थीको जीवनपद्धति र अनुभवलाई सम्बोधन गर्नेखालको हुनुपर्छ । पौरखी नागरिक बन्ने अभ्यास विद्यालयमा आयोजना गरिने क्रियाकलापमा विद्यार्थीको अधिकतम संलग्नतामा सम्पन्न गर्ने नीतिलाई प्राथमिकता दिनुपर्दछ ।

साथै उनीहरूको पारीवारिक, आर्थिक, सामाजि, सांस्कृतिक मूल्य÷मान्यता, संस्कार एवं भावना आदिलाई मध्यनजर राखेर शैक्षिक नीति तर्जुमा गरिनुपर्छ । राज्यले तोकेका पाठ्यक्रमको अतिरिक्त तीब्र गतिमा परिवर्तन आएको विज्ञान र प्रविधिलाई विद्यालयमा प्रवेश गराउनुपर्छ ।

विद्यालयको वातावरण विद्यार्थीको वैयक्तिक विभिन्नतालाई उच्च मूल्याङ्कन गरेर सोही अनुसार अधिकतम सम्बोधन गर्नेखालको बालमैत्री हुनुपर्छ । कक्षाकोठा तथा विद्यालय परिसर स्वस्थ, स्वच्छ एवं चित्ताकर्षक हुनुपर्छ । शिक्षकले सर्वप्रथम बालबालिकाको पृष्ठभूमिलाई पढ्नुपर्छ अनिमात्र त्यसलाई सम्बोधन गर्नेगरी विषयवस्तु र विधिको छनौट गनुर्प र्छ । अभिभावकले अङ्गालेको पेसालाई सम्मानपूर्वक कक्षा शिक्षणमा प्रवेश गराई छलफल गराउनुपर्छ । विद्यार्थीलाई सामाजिक, सांस्कृतिक कार्यक्रमको तर्जुमा र सम्पन्न गर्न सक्रिय सहभागी गराउने परिस्थिति बनाउनुपर्छ । विद्यार्थीले सामान्यतया ६ घण्टामात्रै विद्यलाय र बाँकी अठार घण्टा घरपरिवार र समुदायमा बिताउँछन् । तसर्थ घरपरिवार र समुदायप्रति जिम्मेवार र जवाफदेहीपूर्वक व्यवहार गर्ने ल्याकतको विकास उनीहरूमा गरिनुपर्छ ।

घरपरिवारमा पनि सहज शैक्षिक वातावरण बनाउन विद्यालयले विद्यार्थीको पठनपाठन बारे अभिभावकसँग निरन्तर सम्पर्क राख्ने नीति लिनुपर्छ । त्यसकारण त्यहाँको वातावरण पनि बालबालिकाको रुचि क्षमताअनुसार दिनानुदिन विज्ञान र प्राविधिमा भइराखेको प्रगतिको उच्चतम प्रयोगको अभ्यास गर्ने÷गराउने सहज अवसर पाउनेखालको हुनुपर्छ । उनीहरूको जीवनशैलीलाई सुविधा सम्पन्न, प्रभावकारी र प्रभावशाली बनाउँदै निरन्तर समाज र देशलाई प्रगतिन्मुख बनाउन प्रयत्नशील जिम्मेवार नागरिक बनाउनेखालको प्रगतिशील शिक्षा आजको खाँचो हो ।

बालबालिका भन्दा हामी जान्ने छौँ, हामीले भनेको मात्र उनीहरूले मान्नुपर्छ भन्ने पुरातनवादी सोचका आधारमा उनीहरूलाई जबरजस्ती लाद्नेखालको विषयवस्तु र विधि भन्दा पनि उनीहरूको क्षमता मागअनुसारको शैक्षिक वातावरण बनाउने पौरखी नागरिक उत्पादन गर्ने पहिलो सर्तका रुपमा लिन सकिन्छ । कार्यकुशलतालाई निखार दिन स्थानीय आवश्यकता अनुसारको खपत हुने जनशक्ति उत्पादन गर्नेखालका पाठ्यक्रम निर्माण र कार्यान्वयन गरिनुपर्छ ।

व्यवसायिक शिक्षाको प्रयोगात्मक कक्षामा उत्पादित सामान बजारसम्म लाने र ग्राहकलाई बेच्ने अभ्यास गराएर उनीहरूमा आत्मबल र आत्मविश्वास जगाउनुपर्छ । अतः बालबालिकालाई सभ्य, सुशिल, स्वाभिमानी, देशभक्त, विश्व श्रम बजारमा खरो प्रतिष्पर्धा गर्न सक्ने ठूलो मानिस भन्दा पनि सकारात्मक सोच भएको नागरिक बनाउने खालको असल शिक्षा आजको खाँचो हो ।

पूर्व जिशिअ कार्कीको शिक्षाका सूत्रहरु पुस्तकबाट

प्रतिक्रिया