Edukhabar
बुधबार, २६ बैशाख २०८१
खबर/फिचर

इजीआरपीको लापरबाही : तालिमको तालिका बल्ल, पुस्तक चाँही कहिले ?

बुधबार, ३१ जेठ २०७४

भक्तपुर - सुडालस्थित पञ्चकन्या माविमा कक्षा ३ मा अध्ययनरत रश्मी दुलालले शैक्षिक सत्रको दुई महिना बित्न लाग्दा समेत नेपाली विषय पढ्न पाएकी छैनन् ।

‘हामीलाई सरकारले दिनुपर्ने नेपाली किताब नै दिएको छैन ।’ नेपाली विषय पढ्न नपाउनुको कारणबारे उनलाई पढाउने शिक्षक केदार काफ्ले भन्छन्, ‘सोही कारण अन्य विषयहरुको पाठ अघि बढिसक्दा नेपाली विषयको भने के पढाउने, कसरी पढाउने भन्ने अलमलै ६० दिन बित्यो ।’

यस्तो हुनुमा जनक शिक्षा सामग्री केन्द्रले प्रकाशित गरेको ‘मेरो नेपाली’ को अभाव भएर होइन । यसको मुख्य कारण सरकारले गत वर्षबाट ‘पूर्ण रुपमा लागू गरिएको’ भनिएको प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (अर्ली ग्रेड रिडिङ प्रोग्राम – इजीआरपी) को लापरबाही हो ।

विद्यार्थीको पठन सीप कमजोर भएको ठहरका साथ कक्षा, १, २ र ३ मा अध्ययन गरिरहेका विद्यार्थीलाई नेपाली विषयको पठन क्षमता वृद्धि गर्न भन्दै लागू गरिएको कार्यक्रम अन्तर्गत नेपाली विषयको पाठ्यपुस्तक समयमै पुर्याएर पठनपाठनले गति लिइसक्नुपर्ने बेलासम्म पनि किताब पुग्न सकेको छैन ।

यो समस्या भक्तपुरको मात्र नभएर सो कार्यक्रम लागू भएका अन्य जिल्लाहरुको पनि हो । ईजिआरपी लागू भएका अन्य जिल्लाहरुमा पनि अहिलेसम्म सो किसिमको पाठ्यपुस्तक पुगेको छैन ।

‘बैशाखमै दिनुपर्ने पुस्तक असार लाग्न लाग्दा समेत दिन सकेको छैन, गत वर्ष विभिन्न शैक्षिक सामग्री, शिक्षक निर्देशिका र अभ्यास पुस्तिकाको माध्यमबाट पढाइ गरेका थियौं, यो वर्ष कसरी जाने हो थाहा छैन ।’ महेन्द्रग्राम माविका शिक्षक कृष्ण अधिकारीले भने ।

उनले कक्षा तीनमा पढाइने पुस्तकबारेमा अभिमुखीकरणसँगै शिक्षकलाई दिनुपर्ने तालिम समेत दिन ईजिआरपीले ढिलाइ गर्दा त्यसको मारमा विद्यार्थी परेको बताए ।
‘बैशाखमै दिनुपर्ने तालिम अहिलेसम्म दिएको छैन ।’ उनले भने ।

यसो हुँदा दैनिक पठनपाठनमा समस्या भएको छ । उनले गत वर्ष पनि पाठ्यपुस्तकसँगै तालिम पनि साउनमा दिएको बताउँदै यो वर्ष पनि सोही समस्या दोहोरिएको बताए ।

जिल्ला शिक्षा कार्यालय भक्तपुरका फोकल पर्सन सविता दंगालले पाठ्यपुस्तक पुर्याउनमा ढिला भइरहेको बताउँदै बैशाखमै आउनुपर्ने पाठ्यपुस्तक अहिलेसम्म नआएको बताईन् ।
‘तालिमको तालिका चाहिँ आएको छ अब, असारको पहिलो हप्तामा मात्र पुस्तक आउने कुरा भैरहेको छ ।’ उनले भनिन् ।

उनले सो कार्यक्रमअन्तर्गत एक सय ९२ दिनको पाठ योजनासहितको निर्देशिका, नमूना पाठ, पाठ्यक्रमको क्षेत्र, सिकाइ सक्षमता उल्लेख भएको शिक्षक सामग्री र विद्यार्थीका लागि अभ्यास पुस्तिकासँगै लर्निङ मटेरियल्सहरु, कथा, कविताका किताबहरु आउनुपर्ने भए पनि नआएको बताईन् ।

‘नेपाल सरकार र युएसआइडीबीच सम्झौता भएको छ । त्यसमा सामग्री उत्पादनको काम पाठ्यक्रम विकास केन्द्रले गर्ने, त्यसको छपाइ र वितरणको काम आरटीआई भन्ने संस्थाले गर्छ । त्यो भएकोले उनीहरुको आन्तरिक कारण ढिला भयो होला ।’

युएसएआइडीले सो सामग्री पुर्याउने जिम्मा इजिआरपी सञ्चालन गर्ने आरटीआइलाई दिइएको भन्दै शिक्षा विभागबाट सो कार्यक्रम हेर्ने फोकल पर्सन विष्णु अधिकारी पन्छिए । आरटीआइका सञ्चार संयोजक अजित पोखरेलले आफूसँग सबै जानकारी नभएको बताए ।

सो कार्यक्रम नमूनाको रुपमा काठमाडौं उपत्यकाको भक्तपुर सहित कास्की, कञ्चनपुर, बाँके, मनाङ र सप्तरी गरी ६ जिल्लामा सञ्चालित छ । पुस्तक तथा आवश्यक सामग्री नपुग्दा ६ जिल्लाका ७ लाख विद्यार्थी, १५ हजार प्रावि शिक्षक र ५ हजार प्रअ प्रभावित भइरहेका छन् ।

प्रतिक्रिया