Edukhabar
शुक्रबार, ०४ जेठ २०८१
खबर/फिचर

विद्यार्थी कुटिए, प्रअ हाजिर गरेर टाप !

विहीबार, ०१ असार २०७४

भक्तपुर– कक्षा १० मा पढ्ने विद्यार्थी प्रधानाध्यापकद्वारा कुटिएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ८ स्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रमणि गिरीले कक्षा १० मा अध्ययनरत सुन्दर तामाङलाई कुटपिट गरेका हुन् । प्रअ गिरीले जेठ ३० गते विद्यार्थीलाई कुटेको पीडित विद्यार्थी एवं उनका अभिभावकले बताएका छन् ।

पीडित विद्यार्थीले आफूले कक्षामा हल्ला गरेको भन्दै नेपाली शिक्षकले कक्षामै कुटेको र कुटेपछि कक्षाबाहिर निकालेको बताए । कक्षामै कुटाइ खाएँ, त्यसपछि  नेपाली पढाउने शिक्षकले बाहिर निकाल्नुभयो, त्यही ठाउँमा आएर हेडसरले टाउको हान्नुभयो ।’ पीडित विद्यार्थी तामाङले भने । नेपाली विषय शिक्षक मणिराम तिमिल्सिना र प्रअ गिरीको कुटाइपछि विद्यार्थी सुन्दर बेहोस भएको उनका सहपाठी विद्यार्थीहरुले बताए ।
‘हेडसरले टाउकोमा पिट्नुभएपछि सुन्दर बेहोस भए ।’ पीडित सुन्दरका एक सहपाठीले भने, त्यसपछि हेडसरले नै टाउकोमा पानी हालिदिनुभयो, ग्लुकोज पानी खुवाउनुभयो ।’ हेडसरको कुटाइबाट विद्यार्थी केही समय उठन सकेका थिएनन् । 
पीडित विद्यार्थी सुन्दरले विद्यालयमा भएको घटनाबारेमा कोहीलाई ‘कम्प्लेन’ गरेमा स्कुलबाट निकालिदिने धम्की समेत दिएको बताए । 
सो घटनापछि प्रअ गिरीले नै विद्यार्थीलाई घर पुर्याएका थिए ।‘ घटना भएको दिन छोरालाई सन्चो नभएको भनेर सरले नै बाइकमा ल्याइदिनुभयो, हामी त आश्र्यचकित बन्यौ ।’ पीडित सुन्दरका बुबा इन्द्रबहादुर तामाङले भने । राती भने छोराको अवस्था देखेर डरलाग्दो भएपछि राती नै अस्पताल पुर्याएको बुवा इन्द्रबहादुर तामाङले भने ।
बुवा इन्द्रबहादुरले छोरालाई मध्यपुर अस्पतालमा लगेर उपचार गराएको बताए । अस्पतालमा पनि के भएको हो भनेर पुलिसहरुले केरकार गरेपछि मात्र छोराले सरले कुटेको बताएको बताए ।
टाउकोको पछिल्लो भागमा कुटेको कारण टाउकोको केही भाग सुन्निएको थियो । 
स्कुलका प्रधानाध्यापक गिरी भने आफूले नकुटेको दाबी गर्दै राजनीतिकरण गरिएको बताए । ३० गतेको सो घटनापछि प्रअ ३१ गते विद्यालयमा हाजिरी गरेर गएको सोही विद्यालयका शिक्षकले बताए ।
‘विद्यालयमाथिको खेलबाड हो यो, विद्यार्थीमाथि मैले के गरेको छैन । बच्चालाई नाटक गरेर अस्पताल लगिएको हो ।’ उनले भने ।
प्रअले आफू दशजोड दुई अन्तर्गतको ५ दिने शिक्षक तालिमका लागि गएको बताउँदै घटनालाई उछाल्नतिर नलाग्न अनुरोध गरे । 

प्रतिक्रिया