Edukhabar
विहीबार, २७ बैशाख २०८१
खबर/फिचर

पढाइ समूह गठन गर्नेहरु वेपत्ता, सामग्री जति अध्यक्षकै पोल्टामा

आइतबार, ०४ असार २०७४

भक्तपुर - ‘गत वर्षको चैत १५ गते एउटा अभिमुखीकरण गरेपछि एजिआरपीका कोही पनि फर्केर आएका छैनन्, के भइरेको छ ? भनेर फोन पनि गरेका छैनन् ।’ भक्तपुरको फैढोका आधारभूत विद्यालयमा गठन भएको टोल पढाइ समूहका अध्यक्ष उत्तम साखकर्मीले भने ।

उनले राष्ट्रिय पठन सीप कार्यक्रम अन्र्तगत सो विद्यालयमा फागुनको पहिलो हप्तातिर टोल पढाइ समूह गठन गरेको र सोही बेला विभिन्न किताबहरु, स्टेशनरी सामान भएको ट्यांका दिएको बताउदै त्यसपछि एकदिन भने इजिआरपीका व्यक्तिहरु अनि रुपान्तरण नेपाल नामक संस्थाका केही व्यक्तिहरु आएर अभिमुखीकरण दिएको सम्झँदै त्यसयता ती दुबै संस्थाका व्यक्तिहरु बेपत्ता भएको बताए ।

अध्यक्ष साखकर्मीले सो पठन समूहमा ९ जना सदस्य रहेका बताउँदै सदस्यहरुले पनि उक्त ट्यांकामा रहेका कुनै पनि सामग्रीबारेमा वास्ता नगरेको बताउँदै ट्यांकाभित्र रहेका सामानहरु आफ्नै घरमा राखिरहेको बताए ।

‘हुन त ट्यांकाभित्र रहेका कितावहरु टोलका विद्यार्थीलाई पढ्न दिन भनेका थिए तर कसरी दिने भन्ने बारेमा थाहा छैन ।’ उनले भने । कहिलेकाहिँ आफ्नै छोरी र भतिजीलाई भने पढ्न दिएको उनले बताए ।
इजिआरपीअन्तर्गत समुदाय परिचालनका लागि भन्दै भक्तपुरका १२९वटा विद्यालयमध्ये १२५ विद्यालयमा टोल पढाइ समूह गठन गरिएको थियो । उक्त समूह फागुन मसान्तसम्ममा गठन गरिएको थियो । एउटा स्कुलमा दुईवटाको दरले गठन गरिएको सो समूहमा न्यूनतम ९ जनादेखि माथि सदस्य रहने गरी समूह गठन गरिएको थियो ।

विशेषत : आफ्नो टोलमा रहेका बालबालिकाहरुलाई साँझ–बिहान र अन्य फुर्सदको बेला र बिदाको बेलामा पनि पठनमा संलग्न गराउन सहयोग पुर्याउने लक्ष्यसहित इजिआरपीले गैससलाई परिचालन गरी गठन गरिएको सो समूह औपचारिकताका लागि मात्र गठन भएको देखिएको छ ।

जिल्लाभर गठन भएका २५० वटै टोल पढाइ समूहको अवस्था गतिलो छैन । ताथलीकै गणेश, देवी, सुडालको महेन्द्रग्राम, सरस्वती, पञ्चकन्या, नंखेलको पञ्चकन्या, राम, भुवनेश्वरी, गुण्डुको ज्योति, मध्यपुरको बोडे, चाँगुको दोलागिरीलगायत अन्य विद्यालयअन्र्गत गठित समूह सक्रिय छैनन् ।

समूह गठनको जिम्मा पाएको रुपान्तरण नेपालले समूह गठन भैसकेको रिपोर्ट जिल्ला शिक्षा कार्यालयमा बुझाए पनि ती समूहमा पुगेको विभिन्न शैक्षिक सामग्रीको अवस्थाबारे भने अनविज्ञ नै छन्, शिक्षा कार्यालयका इजिआरपी फोकल पर्सन सविता दंगाल, रुपान्तरण नेपाल भक्तपुरका कार्यक्रम संयोजक मिलनकुमार इश्माली ।

ताथलीको गणेश माविका शिक्षक अप्सरा श्रेष्ठले औपचारिकताका लागि मात्र गठन भएको समूह भएकाले समूहलाई परिचालन गर्न नसकेको बताउँदै फलानोलाई अध्यक्ष बनाइदिउँ न भनेर टोल समूह गठन गरिएको बताईन् । उनले त्यस्ता समूहका अध्यक्ष र सदस्यका सन्तानहरु सामुदायिकमा नभएर निजी स्कुलमा पढ्ने बताउँदै रुपान्तरण नेपालले देखाउन मात्रै समूह गठन गरेको आरोप लगाए ।

जिल्लाका फोकल पर्सन दंगाल भने शिक्षक र पदाधिकारीले भनेजस्तो नभएको बताउँदै केही समूह भने सक्रिय भएको दावी गर्छन् । तर उनको दावि पुष्टि हुने कुनै तथ्य भेटिदैंन ।

प्रतिक्रिया