Edukhabar
शनिबार, २९ बैशाख २०८१
खबर/फिचर

शिक्षक आयोगका कारण अलमल, विद्यार्थीको पठन पाठन अस्तव्यस्त

बुधबार, ३२ साउन २०७४

काठमाडौं - परीक्षा दिन दाङ् झरेका रोल्पाका अस्थायी शिक्षक सोमित वली परीक्षा सरेसँगै अलमलमा परेका छन् ! घर जाउँ भने जान आउन समय बर्वाद नजाउँ भने, साथमा भएको खर्च सकिईसक्यो । ऋणै गरेर बसौं न त भन्दा पनि परीक्षा हुने नहुने टुङ्गो छैन !

भदौ ३ गतेका लागि तय भएको परीक्षा शिक्षक सेवा आयोगको मंगलबारको एकै सूचनाले स्थगित भएपछि परीक्षाको तयारीमा केन्द्र सम्म पुगेका १५ हजार ६ सय ९७ शिक्षक भने थुर्पै हैरानीमा फसेका छन् ।

'होटलमा बसेका छौं, दिनको ५ सात सय रुपैंया खर्च हुन्छ' रोल्पा राज स्थित जायचौर माविका सामाजिक विषयका अस्थायी शिक्षक वली भन्छन्, 'न बसौं न फर्कौं, बसौं न त भन्दा पनि परीक्षा पटक पटक सरेको सरै छ, नबसौं भने परीक्षा भै हाल्यो भने छुटिएला भन्ने पिर ।'

यस अघि असार २४ गतेका लागि तय भएको उक्त परीक्षा आयोगले भदौ ३ गते  सारेको थियो । परीक्षा सारेको सारै गर्ने आयोगको कृयाकलाप अस्थायी शिक्षक समस्या समाधान भन्दा पनि उल्झाउने तर्फ केन्द्रित भएको परीक्षाको तयारीमा रहेका अधिकांश शिक्षकहरुको अड्कल छ ।

एक पटक पो सारिन्छ पटक पटक परीक्षा सार्दा आयोगका पदाधिकारीको देखाउने दाँत एउटा लुकाउने दाँत अर्को भने झैँ लाग्छ, परीक्षाका लागि पोखरा पुगेका लम्जुङ्का एक शिक्षकले भने, अस्थायी शिक्षक समस्या समाधानको मौका हो भन्दै  मिडियामा चर्का कुरा गर्ने आयोगका पदाधिकारी दोहोरो चरित्रका छन् भन्ने पुष्टि भएको छ ।

परीक्षाको तयारीका लागि भन्दै बुधबार पोखरामा अभिमुखिकरण कार्यक्रम तय गरिएको थियो । त्यसका लागि आयोगका उपसचिव विरसिंह धामि सहितको टोली मंगलबारै पोखरा पुगेको थियो ।

पढ्नुहोस् : शिक्षक परीक्षाका लागि आयोगको टोली सम्बन्धित क्षेत्रमा जान शुरु

पोखरामा दिउँसो १ बजेका लागि तय भएको कार्यक्रम स्थगित भए पछि धामि सहितको टोली उत्तर पुस्तिका जिशिकालाई र प्रश्न पत्र प्रहरीको जिम्मा लगाएर फर्केको छ । स्थगित कार्यक्रम कहिले गर्ने भन्ने कुरा टुङ्ग्याउन बाँकी रहेको सहायक जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकालले बताए ।

'त्यही कुरा टुङ्ग्याउन दौड धुप गर्दै छौं, आयोगका पदाधिकारी र सिडियो सापसँग कुरा गरेर मात्रै अर्को मिति तय गर्ने तयारी छ' उनले भने 'अब १० गते परीक्षा हुने हो भने ८ गते तिज महिला कर्मचारीलाई विदा ९ गते गर्दा ढिलो हुने भएकोले ७ गते भित्रै गर्ने हो की भन्ने छलफल छ ।'

देशका अन्य क्षेत्रमा जाने आयोगको टोली बुधबार हिँड्ने तय भएको थियो ।

धामि गाडीबाटै पोखरा गए पनि अन्य टोलीको हवाई टिकट मंगलबार परीक्षा सार्ने सूचना जारी भए लगत्तै स्थगित गरिएको थियो । आआफ्नो तोकिएको क्षेत्रमा जाने तयारीमा रहेका आयोगका कर्मचारी पनि अलमलमै छन् ।

आज विहान १० बजेका लागि हवाई टिकट समेत हातमा थियो, तर परक्षिा स्थगित भएपछि टिकट क्यान्सिल गरियो एक कर्मचारले भने ।

विद्यार्थीको पठन पाठन अस्तव्यस्त

अस्थायी शिक्षकको परीक्षा स्थगित हुँदा लामो समय देखि विद्यालयमा पठन पाठन प्रभावित भएको छ । विद्यालयका शिक्षकहरु परीक्षा तयारी भन्दै विदामा बस्ने क्रम असार दोश्रो साता देखि नै शुरु भएको थियो । त्यतिखेर पनि अन्तिममा आएर परीक्षा स्थगित भएपछि ती शिक्षक जाँचको तयारी भन्दै बसे । यसको असर विद्यार्थीको पठन पाठनमा परेको छ ।

'विद्यालयमा रहेका थोरै संख्याका स्थायी शिक्षकले नाम मात्रैका रुपमा विद्यालय धानीरहेका छन् । यही बिचमा बर्खे विदा परेकोले हाम्रो विद्यालयमा त त्यति समस्या छैन तर कतिपय ठाउँमा त कक्षा नै नचलेको थाह पाएका छौं ।' वलीले भने ।

प्रतिक्रिया