Edukhabar
आइतबार, ०६ जेठ २०८१
खबर/फिचर

त्रिविको अरू पदाधिकारी पनि खुला प्रतिस्पर्धाबाट

विश्वविद्यालयको जनशक्ति तथा दरबन्दी, पदाधिकारी नियुक्तिको मापदण्ड, उपकुलपतिको सोचपत्र कार्यान्वयन, समकक्षता सम्बन्धी सुझाव लिन छुट्टा छुट्टै समिति गठन

मंगलबार, २५ बैशाख २०८१

काठमाडौं-त्रिभुवन विश्वविद्यालयले डीन, निर्देशक, क्याम्पस प्रमुख लगायतको  पदाधिकारी योग्यताको आधारमा नियुक्ति गर्न छनोट मापदण्ड बनाउने भएको छ । त्रिवि अन्तर्गतका निकायमा नियुक्त गर्दा अपनाउनुपर्ने आधार तथा मापदण्ड तयार गरी सुझाव सहितको प्रतिवेदन पेस गर्न प्रा. डा. पुष्कर बज्राचार्यको संयोजकत्वमा समिति बनाएर काम सुरु गरिसकेको उपकुलपति केशरजंग बरालले बताए ।

योजना आयोगका सदस्य समेत रहेको कार्यदलले डीन, निर्देशक, सहायक डीन, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख छनोट गर्ने आधार र मापदण्ड बनाइरहेको उनले बताए । ‘मापदण्ड बनाइरहेको छौ,’पत्रकार सम्मेलनमा उनले भने,‘मापदण्ड बन्नुअघि नै रिक्त भएको ठाउँमा काम चलाउन निमित्तको व्यवस्था छौ । नयाँ मापदण्ड बनाएर योग्य व्यक्तिलाई नियुक्ति गर्नेछौ ।’ 

आफूले प्रतिस्पर्धाको क्रममा पेस गरेको ‘बिजनेस प्लान’ र सोचपत्रमा खुला प्रतिस्पर्धाबाट नै योग्य व्यक्ति छनोट गर्ने प्रस्ताव गरेर नियुक्ति भएको उनले बताए । 

खुल्ला प्रतियोगिताबाट  फागुन १० मा प्रा.डा. केशरजंग बराल नियुक्त भएका थिए  । उनकै सिफारिसमा चैत ३० मा शिक्षाध्यक्षमा प्रा. डा. खड्ग के.सी. र रजिस्ट्रारमा केदारप्रसाद रिजाल नियुक्त भएका छन् । 

त्रिविको रोकिएको नतिजा साउनसम्म सबै सार्वजनिक गर्ने गरी काम भइरहेको रजिस्ट्रार केदारप्रसाद रिजालले बताए ।  विश्वविद्यालयको दृष्टिकोण २०३० र उपकुलपतिको सोचपत्र बिच तादात्म्य मिलाई विश्वविद्यालयमा नीतिगत एकरूपता कायम गर्न सेवा आयोगका पूर्व अध्यक्ष प्रा. डा. लालुप्रसाद पौडेलको संयोजकत्वमा सुझाव समिति गठन गरेको उनले बताए । 

हराएका उत्तर पुस्तिका सम्बन्धमा छानबिन गर्न पूर्व रजिस्ट्रार प्रा.डा.चन्द्रमणि पौडेलको संयोजकत्वमा गठन भएको तीन सदस्यीय उच्चस्तरीय समितिले छानबिन प्रतिवेदन बुझाइसकेकोले प्रतिवेदनको सुझाव कार्यान्वयन हुने उनले बताए । त्रिविमा जनशक्ति व्यवस्थापन र दरबन्दीहरूको अवस्था अध्ययन गरी सेवा आयोग मार्फत तत्काल विज्ञापन गराई शिक्षक–कर्मचारीको पदपूर्ति गर्न प्रा.डा. नवराज कँडेलको संयोजकत्वमा जनशक्ति तथा दरबन्दी पुनरावलोकन एवं व्यवस्थापन समिति गठन भएको रजिस्ट्रार रिजालले बताए । त्रिविको समकक्षताका सम्बन्धमा समस्या निराकरण गर्न प्रा.डा. भीमसेन देवकोटाको संयोजकत्वमा समकक्षता सम्बन्धी कार्यविधि संशोधन समिति गठन गरिएको छ ।

प्रतिक्रिया